२४ कात्तिक, काठमाडौं । ‘जब मैले आफ्ना प्रतिस्पर्धीलाई ३५५ मतको अन्तरले जितेको थाह पाएँ, आफ्नो विगतलाई मसिनोसँग सम्झिएँ,’ ४४ वर्षे सुरज बुढाथोकीले भने ।
ठीक १५ वर्षअघि पूर्वी झापाको टिमाईस्थित भुटानी शरणार्थी शिविरबाट पुनर्वासको क्रममा अमेरिका आएका बुढाथोकी अमेरिकाको न्यू हेम्सायर राज्यको तल्लो सभा सदस्य निर्वाचित भएका हुन् ।
डेमोक्रेट पार्टीका उम्मेदवार बुढाथोकीले ८ हजार ८१५ मत ल्याई विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी रिपब्लिकन पार्टीका कार्लाेस गोञ्जालेजले ८ हजार ४६० मत ल्याए ।
शासकीय अत्याचारले बिथोलेको बाल्यकाल
सन् १९८० मा दक्षिण भुटानको साम्ड्रुपजोंखर जिल्लाको साम्राङमा जन्मिएका सुरज ९ वर्षको उमेरमा शासकीय अनाचारको सिकार भएका थिए । एकएक गर्दै गाउँका घरहरू रित्तिन थाले । खेल्ने साथीहरू घट्दै गए । सेनाका डफ्फाहरू गाउँ पस्ने क्रम बढिरह्यो । त्रासले आफ्नै गाउँ बिरानो बन्न थाल्यो । बुढाथोकी भन्छन्, ‘त्यस्तो उज्यालो ठाउँ एकाएक अँध्यारो झैं भयो ।’
घर छोडेर हिंडेको दिन उनलाई कहाँ पुगिन्छ, के खाइन्छ केही थाहा थिएन । अँधेरीरात नखस्दै झिसमिसेमा आमाबाबुको पछि लागेर घरबाट मुलबाटोमा निस्किएका थिए । त्यसपछि सुरु भयो एउटा अनिश्चयको यात्रा ।
दुईदिन पछि भोक र अनिद्राले गाँजेको अवस्थामा उनी पूर्वी झापाको टिमाई शरणार्थी शिविर पुगेका थिए । बाल्यकालमा गाउँबाट लखेटिएका उनी अन्नतः बिरानो भूमिमा शरणार्थी बनेका थिए ।
उनलाई अहिले पनि गोठका दुहुना गाई, मिलेको सिमखेत, बाहैंमास केही न केही फलफूल भइरहने कोठेबारी, बस्तु चराउन गइरहने खर्क आदिले निद्रा बिथोलिरहन्छन् । बढ्ता सम्झना त हरेक बिहान दुई घण्टा हिंडेर पुगिने स्कुल जाँदाको रमाइलोको आउँछ ।
बुढाथोकी दौंतरहरूसँग खेल्दै—उफ्रिंदै पुग्थे स्कुल । फर्किंदा भने पौडिन नजान्ने साथीहरूलाई किताबको झोला बोकाएर उनी भने भिरालो कुलोमा पौडिँदै आउँथे । ‘त्यो रमाइलो आज सम्झिंदा मात्र पनि मन रोमाञ्चित हुन्छ,’ उनी भन्छन् ।
शरणार्थी जीवनमा उनले अभावमा बाँच्न सिके । सहायता संस्थाले नापजोख गरेर करिब करिब प्राण धान्नमात्र पुग्नेगरी दिएको अन्नको भरमा झुप्रोमा बसेर १९ वर्ष बिताउनुपरेको थियो ।
टिमाई शिविरमै रहँदा सन् २००० मा आयासिस एकेडेमीबाट एसएलसी परीक्षा उत्तीर्ण गरेका गरेका बुढाथोकीले आधापेट खाएर भएपनि स्नातकसम्मको अध्ययन सके ।
सन् २००९ मा अमेरिकामा पुनर्वास भएपछि भने उनलाई आफ्नो भविष्यको भाष्य आफैं बनाउन सकिन्छ भन्ने लाग्यो । उनले पढाइ नियमित गरे । आउँदो एक वर्षभित्र क्यालिफोर्नियाको सेब्रोक विश्वविद्यालयबाट उनले द्वन्द्व निवारणमा विद्यावारिधी सक्दैछन् ।
अमेरिकाको भरमाउण्टस्थित नर्विच विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर सकेका उनले आफ्नै देशबाट लखेटिने, छिमेकीले बास नदिने, तेस्रोले नस्वीकार्ने र अर्कै गोलाद्र्धमा पुग्नुपर्ने आफ्नै नियतिमाथि सोध गरे । यसका लागि शोधको सिलसिलामा उनी अमेरिकाबाट २०७४ असोजमा भुटानी शरणार्थी शिविर पनि आएका थिए ।
मतदाताबाटै चुनाव खर्च
भुटानी शरणार्थीका समस्याबारे अमेरिकी संसद र सरकारसँग पैरवी गर्दै आएका बुढाथोकी आफैं राज्यसभा पुग्ने योजना बुन्न थाले । अन्ततः उनी राज्यसभा सदस्यमा निर्वाचित पनि भइछाडे ।
करिब तीन महिनासम्म अन्य उम्मेदवारसँगै हरेकसाता नयाँ नयाँ योजना बनाएर मतदातासँगको अन्तरक्रियामा निस्किए बुढाथोकी । मतदाताहरूबाटै संकलित करिब ५ हजार डलर उनले चुनाव प्रचारप्रसारमै खर्च गरे । ‘यहाँ उम्मेदवारले गर्ने चुनाव खर्च समुदायबाट संकलित रकमबाट हुने गर्दछ,’ उनले भने ।
दुईवर्षे कार्यकालमा बुढाथोकीको जिम्मेवारी आफ्नो क्षेत्र हिल्सबोरो काउण्टीको विकास र त्यहाँका जनताको हित हुनेगरी राज्यसभाबाट कानुन बनाउनु हुनेछ ।
यसबीचमा उनी समेतको सक्रियतामा ‘पिस इनिसिएटिभ भुटान’ नामको संस्था स्थापना भयो ।संस्थाको उद्देश्य भुटानसँग पूर्व भुटानीहरूको दूरी कम गर्दै शान्ति र मेलमिलाप कायम गर्नु रहेको छ ।
४ वर्षअघि स्थापित यस संस्थाले भुटानी र अमेरिकी अधिकारीहरूलाई पत्र मार्फत अनुरोध गरिरहेको छ । बुढाथोकी भन्छन्, ‘न्यू हेम्सायर राज्यसभाको सदस्यको रूपमा पनि म कहीँ न कहीँ यस संस्थाको उद्देश्य पूरा गर्ने प्रयासमा हुनेछु ।’
१, न्युहेम्सायरमा चुनाव अभियान सुरज बुढाथोकी ।
२, शरणार्थीको रूपमा झापामा रहँदा साथीहरूसँग सुरज ।
प्रतिक्रिया 4