सन् १९१९ देखि १९२२ सम्म ग्रीस र टर्कीबीच युद्ध चलेको थियो, जसलाई ग्रीक–टर्की युद्ध, टर्की स्वतन्त्रता संग्राम अथवा एशिया माइनर अभियान पनि भनिने गर्छ।
उक्त युद्ध मुख्य रूपमा ओटोमन साम्राज्यको पतनपश्चात् बाल्कन क्षेत्रमा उब्जिएका समस्याका कारण भएको थियो। ग्रीसले पश्चिम टर्कीमा आफ्नो नियन्त्रण स्थापित गर्ने प्रयास गरेको कारण युद्ध छेडिएको थियो।
प्रथम विश्वयुद्धपछि भएको सेभ्रेस सन्धिले ग्रीसलाई टर्कीको केही भूभागमा अधिकार दिएको थियो, जहाँ धेरैजसो ग्रीकहरू बसोबास गर्थे। तर, टर्कीका राष्ट्रियतावादीहरूले त्यसको कडा विरोध गरे। त्यस सन्धिलाई मान्न अस्वीकार गर्दै उनीहरू आफ्नो स्वाधीनता सुनिश्चित गर्नका लागि मैदानमा उत्रिए।
ठ्याक्कै त्यो समयमा २३ वर्षीय अर्नेस्ट हेमिङ्वे आफ्नी श्रीमती ह्याडलीसँग पेरिसमा बस्थे। उनीहरूको विवाह भएको लगभग एक वर्षभन्दा बढी भइसकेको थियो। त्यस बखत हेमिङ्वे पत्रिका ‘टोरन्टो स्टार’मा संवाददाताका रूपमा आबद्ध थिए।
उनलाई त्यहाँबाट ग्रीस र टर्कीबीचको युद्धबारे लेख्नका लागि कन्स्टान्टिनोपल जान निर्देशन दिइयो। ह्याडलीले उनलाई त्यहाँ नजाने सल्लाह दिइन्, तर हेमिङ्वे मानेनन्।
अन्तत: श्रीमतीलाई पेरिसमा छाडेर हेमिङ्वे कन्स्टान्टिनोपल गए, एक्लै। उनीहरू एकअर्कासँग लगभग एक महिनाजति टाढा रहे, त्यस अवधिमा उनीहरूबीच कुनै प्रकारको संचार भएन। उक्त घटनाले उनीहरूको वैवाहिक जीवनमा तिक्तता ल्याएको भनेर धेरैले अहिले पनि भन्ने गर्छन्।
जब अर्नेस्ट पेरिस फर्किए, उनी मलेरियाबाट थलिएका थिए। उनको शरीरभरि जताततै कीराहरूले टोकेका दागहरू थिए।
त्यसको एक महिना पनि नबित्दै उनलाई पुन: जेनेभामा हुन गइरहेको शान्ति सम्मेलनबारे लेख्नका लागि स्विट्जरल्याण्डको लाउसाने जाने निर्देशन दिइयो।
ह्याडली रुघाखोकीबाट ग्रस्त थिइन्, त्यसैले उनी आफ्नो श्रीमान्सँग साथमा स्विट्जरल्याण्ड जान पाइनन्। तर, अर्नेस्टले उनलाई आफू भएको ठाउँमा आउने आग्रह गरिरहे, पत्रहरू लेख्दै। उनले सम्मेलनपछि उनीहरू कतै घुम्न जाने योजना बनाएका थिए।
अर्नेस्टका थप अन्य कामहरूलाई उनको सम्पादकले हेर्न चाहेका थिए। उनले त्यसलाई एउटा ठूलो अवसर सोचेर श्रीमतीलाई आफूले लेखेका सबै कामहरू साथमा ल्याउन पनि भने। त्यस समयसम्म, हेमिङ्वे त्यस्तो नाम कहलिएका लेखक भइसकेका थिएनन्। उनका कुनै पनि फिक्सन प्रकाशित भएका थिएनन्। उनी भर्खर पत्रकारको रूपमा आफ्नो निमित्त बाटो खन्दै थिए।
ह्याडलीलाई आफ्नो श्रीमान्को लेखन क्षमतामाथि निकै नै विश्वास थियो। उनी उत्साहित हुँदै श्रीमान्का सबै पाण्डुलिपि तथा त्यसका कार्बन प्रतिहरूलाई ध्यानपूर्वक सुटकेसमा राखेर रेल स्टेशनतिर लागिन्।
यात्रा लामो थियो, त्यही सोचेर आफ्नो सबै सामान सिटमा राखेर रेल छुट्नुअघि पानी किन्न भनेर बाहिर निस्किइन्। जब फर्केर रेलभित्र आइन्, उनको सुटकेस त्यहाँ थिएन। त्यो हराइसकेको थियो। उनले रेलका कर्मचारीहरूको सहयोगमा आफ्नो सुटकेस खोजिन् तर कतै केही फेला पारिनन्। उनी मर्माहत हुँदै आठ घण्टाको यात्रा अवधिभर रोइरहिन्।
हेमिङ्वे भने अर्को स्टेशनमा आफ्नी श्रीमतीलाई पर्खिरहेका थिए। जब ह्याडली आँसु झार्दै रेलबाट ओर्लिइन्, उनी पनि आत्तिए। जब घटनाको बारेमा उनले थाहा पाए, उनी एकदमै निराश भए। आफ्नो श्रीमतीलाई पूरै विश्वास नगरेर उनी तुरून्तै पेरिस फर्किए, आफ्ना कामहरूको कार्बन प्रतिहरू ल्याउन।
ह्याडलीले भने झैं उनका सबै कार्बन प्रतिहरू पनि हराएका थिए। त्यसपछि उनी झनै क्षुब्ध भए। उनले आफ्नो फ्ल्याटमा केवल दुई छोटा कथाहरू भेटे ‘अप इन मिचिगन’ र ‘माइ ओल्ड म्यान’। त्यो बाहेक उनको सम्पूर्ण मिहिनेत हराइसकेका थिए।
सुटकेसमा कथाका पाण्डुलिपिहरूसँगै पहिलो विश्वयुद्धमा आधार भएर लेखेको उपन्यास पनि थियो, जसलाई उनले पछि पुन: लेख्न साहस जुटाउन सकेनन्। यसरी उनका अक्षरहरू सधैंका निमित्त हराए। भनिन्छ, उक्त घटना नै मुख्य कारक तत्व हो, उनको र ह्याडलीबीच सम्बन्धविच्छेद हुनुको।
परिस्थितिको वास्तविकतालाई स्वीकार्दै हेमिङ्वेले आफ्नो लेखन यात्रा भने जारी नै राखे। त्यसको चार वर्षपछि उनले आफ्नो पहिलो उपन्यास ‘द सन अल्सो राइजेज’ प्रकाशित गरे, जुन पछि गएर बेस्टसेलर बन्न पुग्यो।
जसरी हामीले हेमिङ्वेको पहिलो उपन्यास पढ्न पाएनौं, त्यसरी नै आफ्नो जीवनकालमा एउटा मात्र ‘द बेल जार’ उपन्यास लेखेकी सिल्भिया प्लाथको लगभग तयार भइसकेको दोस्रो उपन्यास ‘डबल एक्सपोजर’ हामीले पढ्न पाएनौं।
सन् १९६२ को अगस्टबाट प्लाथले ‘द इन्टरमिनेबल लोफ’ शीर्षक राखेर नयाँ उपन्यास लेख्न थालेकी थिइन्, जसलाई उनले त्यहीँ वर्ष सक्ने योजना बनाएकी थिइन्। उनी उक्त उपन्यास कुनै फिल्म निर्मातालाई बेचेर घर किन्न चाहन्थिन्।
त्यो समयसम्म उनी आफ्नो श्रीमान् ह्युजसँग छुट्टिएर बस्न थालिसकेकी थिइन्, जो अर्की महिला एसिया वेभिलसँग बस्न थालेका थिए। प्लाथले त्यस उपन्यासलाई पछि फरक नामकरण ‘डबलटेक’ राखेर सुचारू गरिन्, जुन उनैको आत्मकथा थियो भन्दा फरक पर्थेन; जसमा उनले एउटा महिलाको बारेमा लेखेकी थिइन्, जसको श्रीमान् उसको विचारमा राम्रो छ तर ऊ वास्तवमा धोकेबाज भएर निस्किन्छ।
उपन्यासमा प्लाथले आफ्नो श्रीमान् र एसिया वेभिललाई आलोचना गर्ने प्रयास गरेकी थिइन्। उनले उपन्यासमा आफूलाई ह्युजलाई घृणा गर्न अनुमति दिएकी थिइन्। सायद त्यही घृणाले उनको फिक्शनलाई ऊर्जा प्रदान गरेको थियो।
प्लाथले उक्त उपन्यासलाई ‘द बेल जार’ भन्दा पनि उच्च दर्जा दिएकी थिइन्। उनी आफूले सहेको दु:ख तथा दुखाइलाई उपन्यासमा उतारेर स्मरण गर्न चाहन्थिन्। त्यो समयसम्म उपन्यासको टाइटल ‘डबलटेक’बाट ‘डबल एक्सपोजर’मा परिवर्तन भइसकेको थियो।
ह्युजको अनुपस्थिति, त्यसमाथि दुई बच्चाहरूको जिम्मेवारी र सीमित आर्थिक स्रोतहरूको कारण प्लाथलाई ‘डबल एक्सपोजर’को लागि समय निकाल्न निकै कठिन भइरहेको थियो।
आफ्नो किताब समयमै सक्न उनले बच्चाहरूको हेरचाह गर्न नानी खोज्न थालिन्। तर पैसाको अभावको कारण उनलाई नानी पाउन पनि कठिन भइरहेको थियो। यसरी वर्षको अन्तिमतिरसम्म पनि ‘डबल एक्सपोजर’ समाप्त भएको थिएन।
उनी झन् झन् धेरै घरायसी काम तथा जिम्मेवारीहरूबाट भरिंदै गइरहेकी थिइन्। विस्तारै उनी गम्भीर डिप्रेसन र अनिद्राबाट ग्रस्त हुँदै गइन्। अन्ततः उनले हप्ताको ६ बिहान र एक साँझ बच्चाहरूको हेरचाह गर्न एउटा व्यक्ति पाएकी थिइन्। तर पनि उनको उपन्यास अल्झिरहेको थियो।
उपन्यास सुरु गरेको अर्को वर्ष फेब्रुअरी ११ मा सिल्भिया प्लाथले तीस वर्षको उमेरमा आत्महत्या गरिन्। मृत्युपछि प्लाथको नाममा रहेको सम्पूर्ण सम्पत्तिको उत्तराधिकारी उनको श्रीमान् ह्युज बन्न पुगे, जसमा उनका पाण्डुलिपिहरू पनि समावेश थिए।
त्यसपछि ह्युजले प्लाथको कविता संग्रह ‘एरियल’ प्रकाशित गरे। छोटो कथा तथा जर्नलहरूको संग्रह ‘जोनी प्यानिक एन्ड द बाइबल अफ ड्रिम्स’ शीर्षक दिएर प्रकाशित गरे। तर, प्लाथको उपन्यास ‘डबल एक्सपोजर’को के भयो ?
ह्युजले प्लाथको डबल एक्स्पोजर पनि फेला पारेका थिए, जुन लगभग १३० पृष्ठ रहेको थियो। तर पछि उक्त उपन्यासको पाण्डुलिपि हरायो भनियो। ह्युजका अनुसार उक्त पाण्डुलिपि हराउनुभन्दा अघिसम्म सिल्भियाकी आमा अरेलिया प्लाथको नियन्त्रणमा थियो।
धेरैले मान्ने गर्छन्, आफ्ना बच्चाहरूको सुरक्षाका लागि तथा पारिवारिक सम्बन्धलाई गोप्य राख्न ह्युज आफैंले त्यो पाण्डुलिपि नष्ट गरेका हुन्। तर, अफवाह यस्तो पनि छ, त्यस पाण्डुलिपिको प्रतिलिपि अझै पनि कतै सुरक्षित छ, जुन भविष्यमा जतिबेला पनि आउन सक्छ।
हेमिङ्वेको जस्तै लेखक टी.ई. लरेन्सको उपन्यास ‘द सेभेन पिल्लर्स अफ विसडम’को पाण्डुलिपि पनि रेल यात्राको क्रममा हराएको थियो। तर, दुःखको कुरा त्यो पाण्डुलिपि पनि पछि कतै भेटिएन। त्यस घटनाले लरेन्सलाई ठूलो धक्का दिएको थियो।
उनले उक्त पाण्डुलिपिलाई पछि आफ्नै स्मृतिमा खोजेर पुन: लेखेका थिए। त्यस्तै जब लेखक ‘जे. एम. फल्कनर’को चौथो उपन्यासको पाण्डुलिपि हराएको थियो, सो घटनाले साहित्यिक दुनियाँलाई नै चकित बनाएको थियो। उनका पहिलेका तीन उपन्यास निकै सफल रहेका थिए। तिनै सफलताबाट हौसिएका उनको आफ्नो चौथो उपन्यास ‘मोर्निङ्ग लाइट’ चाँडै नै प्रकाशित हुन गइरहेको थियो।
भनिन्छ, उनले सो उपन्यासको पाण्डुलिपि एक प्रकाशन गृहमा समीक्षा तथा सम्पादनको लागि पठाएका थिए। त्यही समयमा पाण्डुलिपि हराएको थियो।
फल्कनर एक हतियार उत्पादन कम्पनीका निर्देशक पनि थिए, त्यसैले दुश्मनका कुनै गुप्तचरले त्यसलाई हतियार निर्माण सम्बन्धी कागजात ठानेर लिएर गएको हुनसक्ने अनुमान पनि लगाइएको थियो। लेखकले उक्त पाण्डुलिपि खोज्ने व्यापक प्रयास गरे, तर उनका सबै प्रयास विफल भए। पाण्डुलिपि हराउँदा पुनः लेख्नुपर्ने झन्झट र भावनात्मक कठिनाइ उनले पनि भोग्नु पर्यो, जसले गर्दा उनको साहित्यिक यात्रा र सृजनशीलतामा त्यसले गहिरोसँग असर पार्यो।
सन् १९०० मा लेखक जेम्स जोयसले नाटक ‘अ ब्रिलियन्ट करिअर’ लेखेका थिए, जसलाई उनले आफ्नो सबैभन्दा सुन्दर रचना भनेर भनेका थिए। तर, नाटक लेखेको दुई वर्षपछि उनी आफैंले त्यस नाटकलाई नष्ट गरे। उनले त्यसो किन गरे, जवाफ कसैसँग छैन।
धेरैले अनुमान गर्छन्, नाटकका पात्रहरू जोयसका साथीहरूसँग मेल खाने हुँदा पछि कुनै प्रकारको विवाद नहोस् भनेर उनले त्यसो गरेका हुन्। त्यो सामाजिक रूपमा संवेदनशील विषय थियो, जसले लेखकलाई व्यक्तिगत तथा सामाजिक चुनौतीहरू निम्त्याउन सक्थ्यो। यसरी उनी समस्या तथा विवादहरूबाट बच्न आफैंले आफ्ना अक्षरहरूलाई तिलाञ्जली दिए।
सन् १९४२ मा नाजीहरूबाट मारिएका यहुदी लेखक ब्रुनो शुल्जले आफ्नो जीवनको अन्तिम केही वर्षहरूमा ‘द मेसाया’ नामक उपन्यासमा काम गरिरहेका थिए। उनको लेखन शैली तथा कल्पनाशीलता अद्वितीय थियो। उक्त उपन्यासलाई शुल्जको सबैभन्दा महत्वाकांक्षी रचना मानिएको थियो।
उपन्यासमा उनको विचार र जीवन-दर्शनको गहिराइलाई प्रस्तुत गरिएको छ भनेर भनिएको थियो। मृत्यु हुनुअघि शुल्जले उपन्यासका पाण्डुलिपिहरू केही मित्रहरूलाई सुम्पेका थिए, हेरचाहको निमित्त। तर, उनका ती साथीहरू को थिए, उनीहरूको पहिचान कहिल्यै हुन सकेन, जसको कारण लेखकका पाण्डुलिपिहरू फेला परेनन्।
त्यो समय युरोपभर भइरहेको नाजी कब्जा र युद्धले सांस्कृतिक सम्पत्ति तथा कृतिहरू भटाभट नष्ट भइरहेका थिए, त्यही क्रममा शुल्जको ‘द मेसाया’का अक्षरहरू पनि हराउन पुगे।
अर्का पोलिस लेखक जेर्ज़ी फिकोव्स्कीले शुल्जको जीवनी लेख्न उनको लेखन तथा जीवनका बारेमा विस्तृत अनुसन्धान गर्न थालेका थिए। उनले ‘द मेसाया’को पाण्डुलिपि पत्ता लगाउन पनि आफ्नो धेरै आयु खर्चिए, तर त्यो कहिल्यै भेटिएन।
उनलाई दुईपटकसम्म केही अन्जान व्यक्तिहरूले सम्पर्क पनि गरेका थिए, आफूसँग पाण्डुलिपि भएको दाबी गर्दै। तर, फिकोव्स्कीले पाण्डुलिपि पाउनुअघि नै ती व्यक्तिहरू मरे। यस्तो पनि भन्ने गरिन्छ, शुल्जले आफ्ना कृतिका केही प्रतिहरू पुस्तकालय तथा अरूलाई पनि सुम्पेका छन्, जुन बाहिर जहिल्यै पनि आउन सक्छन्।
ऐतिहासिक घटनाहरू, विशेषगरी युद्ध र प्राकृतिक विपत्तिका कारण थुप्रै लेखक, कलाकार तथा वैज्ञानिकहरूका कृतिहरू हराए कि त नष्ट हुनपुगे। ब्रुनो शुल्जको झैं दोस्रो विश्वयुद्धको क्रममा नाजीहरूबाट थुप्रै यहुदी लेखकहरूका कृतिहरू नष्ट भएका थिए। यसरी युद्धले गर्दा आफ्ना महत्वपूर्ण दस्तावेज एवं रचनाहरू सुरक्षित राख्न नपाउँदा लेखकका कृति तथा पाण्डुलिपिहरू सधैंका लागि हराउन पुगे।
केही अवस्थामा भने राजनीतिक अथवा धार्मिक विचारधाराले लेखकका कृतिहरूलाई धम्कीको रूपमा देख्ने गर्छन्। अधिनायकवादी शासन व्यवस्थाहरूमा स्वतन्त्र र नवीन विचारधाराले खतरा निम्त्याउने हुँदा लेखकका कृति तथा लेखहरूलाई विगतमा नष्ट गरिएका इतिहास छन्।
लेखक जर्ज ओरवेलका केही लेख र कृतिहरूलाई पनि त्यस्तै राजनीतिक कारणले दबाबमा पारिएका थिए, नष्ट गर्न। त्यो समयमा
पुस्तकमाथिको प्रतिबन्ध र पाण्डुलिपिहरू जलाउने काम धर्म या राजनीतिक स्थायित्वका लागि गरिन्थ्यो, जसले गर्दा थुप्रै कृतिहरू हराएको प्रमाण पाइन्छ।
रूसी लेखक मिकाइल बुल्गाकोभले मलाई खुबै मन परेको उपन्यास ‘द मास्टर एन्ड मार्गरिटा’लाई सन् १९३० को दशकमा स्टालिन शासनका क्रममा लेखेका थिए, तर राजनीतिक प्रतिशोधको डरले त्यसलाई नष्ट गर्न बाध्य भएका थिए। पछि उनले पुनः लेख्न प्रयास गरे तर उपन्यासको वास्तविक आत्मा गुमिसकेको थियो। अहिले उपलब्ध उनले पुन: लेखिएको संस्करण हो।
जसरी भविष्यमा विवाद हुने डरले जेम्स जोयसले आफ्नो नाटक ‘अ ब्रिलियन्ट करिअर’ नष्ट गरेका थिए, त्यसरी नै केही लेखकहरूले आफ्नो लेखनप्रति असन्तोष जनाउँदै आफ्ना कृतिहरू नष्ट गरेका छन्।
लेखक फ्रान्ज काफ्काले मर्नुअघि आफ्नो कृति ‘द ट्रायल’का केही भाग नष्ट गरिदिन आफ्ना साथीलाई अनुरोध गरेका थिए। काफ्का आफ्नो लेखनप्रति सधैं असन्तुष्ट थिए, जसले गर्दा उनले त्यो निर्णय लिन पुगेका थिए। तर, साथीले उनको अनुरोध अस्वीकार गर्दै कृतिलाई प्रकाशित गरे र आज ‘द ट्रायल’ काफ्काको सर्वश्रेष्ठ कृतिहरूमा मानिन्छ।
रूसी लेखक लियो टोल्सटोयले आफ्ना थुप्रै लेखहरू व्यक्तिगत असन्तुष्टिले निम्त्याएको मानसिक समस्याहरूका कारण नष्ट गरेका थिए। उनको सबैभन्दा प्रसिद्ध कृति ‘डेथ अफ इभान इलिच’का केही भागहरू असन्तोषकै कारण उनी आफैंले जलाएर नष्ट गरेका थिए।
त्यस्तै लेखक वर्जिनिया वुल्फ पनि आफ्नो लेखनप्रति सधैं असन्तुष्ट थिइन्। भनिन्छ, उनले ‘मिसेस ड्यालोवे’का केही भागहरू व्यक्तिगत असन्तुष्टिका कारण नष्ट गरेकी थिइन्।
कृतिहरू हराउनुको अर्को कारण भौतिक संरक्षणको अभावले पनि हो। पहिले पाण्डुलिपिहरू प्राय: कागजमा लेखिने गर्थ्यो, जसलाई जोगाउन धेरै नै मुस्किल हुन्थ्यो। आजभोलि डिजिटल प्रविधिले पाण्डुलिपिहरूलाई सुरक्षित राख्न सजिलो बनाएको छ। त्यस्तै पुस्तकालय तथा संग्रहालयहरूमा हुने आगलागी या अन्य दुर्घटनाबाट धेरै पाण्डुलिपिहरू नष्ट भएका उदाहरण छन्।
कतिपय लेखकहरूको व्यक्तिगत संग्रह वा पाण्डुलिपि चोरिएका घटनाहरू पनि छन्। लेखक माल्कम लोरीको ‘अन्डर द भल्कानो’को पाण्डुलिपि एकपटक चोरी भएको थियो। पछि त्यो पाण्डुलिपि पुनः फेला पारियो। तर, हराएको समयमा पुनः लेख्नुपर्ने अवस्थाले लेखकले मानसिक तथा शारीरिक रूपमा निकै कठिनाइ भोग्नु परेको थियो।
लेखक स्टुअर्ट केलीद्वारा लिखित किताब, ‘द बुक अफ लस्ट बुक्स: एन इन्कम्प्लिट हिस्ट्री अफ अल द ग्रेट बुक्स यु विल नेभर रिड’ र अर्का लेखक जर्जिओ वान स्ट्राटनको किताब ‘इन सर्च अफ लस्ट बुक्स: द फर्गटन स्टोरिज् अफ ऐट मिथिकल भोलिम्स्’ले यस्ता संसारभरका विभिन्न चर्चित लेखकका (होमरदेखि शेक्सपियरसम्म, जर्ज गोर्डन बायरनदेखि निकोलाई गोगोलसम्मका) विभिन्न कारणले गर्दा हराएका, नष्ट भएका या अस्तित्वमा नभएका साहित्यिक कृति तथा पाण्डुलिपिहरूको इतिहास र विवरण प्रस्तुत गरेका छन्।
लेखकहरूको पाण्डुलिपि हराउनु साहित्यिक इतिहासको एउटा दु:खद पाटो हो। युद्ध, व्यक्तिगत दुर्घटना, प्रतिबन्ध वा अन्य कारणहरूले गर्दा कैयौं महत्वपूर्ण कृतिहरू कहिल्यै सार्वजनिक तथा प्रकाशित हुन पाएनन्। हामीले पढ्न पाएनौं। यसरी अक्षरहरू हराउनु भनेको साहित्यिक सम्पत्तिको ठूलो क्षति हुनु हो। इतिहासमा हराएका पाण्डुलिपिहरू कहिलेकाहीं पुनः भेटिएका उदाहरण पनि छन्। तर, अधिकांश भेटिएका छैनन्।
लेखक ‘बुद्धिसागर’को चर्चित उपन्यास ‘कर्नाली ब्लुज’को पाण्डुलिपि पनि हराएको थियो, कुनै समय। हराएको अवधिभर उनी मानसिक तनावसँग जुध्नु परेको थियो। तर, भाग्यवश उनको पाण्डुलिपि भेटियो। यदि उनले त्यो कहिल्यै फेला नपारेका भए ? उनले पुन: लेख्नु परेको भए ? सायद उनीबाट त्यो हुने थिएन, जुन अहिले छन्।
प्रतिक्रिया 4