+
+
समाजका कुरा :

‘पूर्णबहादुरको सारङ्गी’ : जातीय दलन र प्रतिरोधको सशक्त प्रस्तुति

किन मानिसले आफू विभेदमा रहने कामलाई पनि धर्मको रूपमा स्वीकारिरहेको छ र त्यसैमा खुशी छ भनेर जान्न तीन हजार वर्षभन्दा बढी लामो जात व्यवस्थाको बारेका पुनःस्मरण गर्न आवश्यक छ ।

नारायणी देवकोटा नारायणी देवकोटा
२०८१ कात्तिक २४ गते १३:२५

‘इस्टकोट आफ्नै काटी छोरालाई भोटो, गरिबको घरमा जन्म लिनु कर्मै खोटो’ गीतलाई बेला–बेला आफ्ना कैयौं आवश्यकता नदेखे, नभोगे झैं गरेर सन्तानका जरूरी आवश्यकता पुरा गरिरहेका मध्यम, निम्न मध्यम वा निम्न वर्गका मानिसले आफ्नै अवस्थासँग जोडेर व्याख्या गर्न सकिन्छ ।

गीतमा जात व्यवस्था नजोडिए पनि फिल्मको नाम ‘पूर्णबहादुरको सारंगी’ भन्ने थाहा पाएपछि, अलिअलि जात व्यवस्थामा चासो राख्ने, पढाउने, अनुसन्धान र पैरवी गर्ने भएर गाइने समुदायको कथामाथि बनेको होला भन्ने सोचेर ‘यो फिल्म चाहिं हेर्ने है’ भनेर हामी केही साथीहरूले सल्लाह गरेका थियौं । फिल्म हलमा चल्न थाल्ने बेलामा लागेको थियो जात व्यवस्था, एउटा विशेष जातको गरिखाने भाँडो अर्थात् सारंगी माथि बनेको फिल्म हेर्न धेरै मानिस नजालान् । हलबाट चाँडै पो उत्रिहाल्छ कि !

तर, हाम्रो सोच विपरीत सोमबार नै आफूले चाहेको समयमा अनलाइनबाट टिकट बुक गर्न गाह्रो भयो । मंगलबार बिहानै अनलाइनबाट टिकट काट्न बसेको सकिएन । अनलाइनबाट नभएपछि हलमा फोन गरेको प्याक हुनसक्ने भन्ने जानकारी पाइयो । बिहान नौ बजे हलमा नै गएर अगाडिका सिटमा टिकट काटेपछि टिकट काट्ने मानिसले सुनाए, ‘नेपाली फिल्मको टिकट पाउन यस्तो गाह्रो भएको फिल्म त यै होला ।’ नेपाली फिल्म यसरी चल्नुको कारण फिल्म राम्रो हुनु नै होला । मलाई पनि समग्रमा फिल्म राम्रो लाग्यो । साथसाथै फिल्ममा देखाइएका केही सामाजिक सवालले मनमा यसरी घर गरे कि ती सवालमा यो लेख केन्द्रित छ ।

तल्लो जातसँग छोरीले विवाह गरेको थाहा पाएपछि बाटुलीका बा–आमाले उनको मृत्युसंस्कार गरिदिन्छन् । के पूर्णबहादुर गन्धर्व नभएर पूर्णबहादुर गुरुङ, मगर वा बाहुन, क्षेत्रीसँग बाटुली भागेको भए उनका बाले मृत्युसंस्कार गर्थे होलान् र ?

जात व्यवस्था र गरिबीको दलदल

जात व्यवस्थाको एउटा बलियो विशेषता भनेको परम्परागत पेशालाई निरन्तरता दिनु र त्यसलाई नै धर्मको रूपमा धारण गर्नु हो । पूर्णबहादुरका बाले पनि उनलाई गन्धर्वको छोरो भएपछि पुर्खाको पेशालाई निरन्तरता दिने कर्मलाई धर्मको रूपमा सिकाउँछन् । अर्थात् गन्धर्व भएपछि गाउने र सारंगी बजाउने काम उसको धर्म हो । त्यसैले त केटो क्षमतावान् छ कि छैन भनेर विवाहको लागि कुरा गर्न जाँदा पनि सारंगी बजाउने र गाउने क्षमताको जाँच गरिन्छ ।

तर, किन मानिसले आफू विभेदमा रहने कामलाई पनि धर्मको रूपमा स्वीकारिरहेको छ र त्यसैमा खुशी छ भनेर जान्न तीन हजार वर्षभन्दा बढी लामो जात व्यवस्थाको बारेका पुनः स्मरण गर्न आवश्यक छ । तीन हजार वर्षभन्दा अगाडिदेखि समाजमा कहिले बलियो त कहिले कमजोर हुँदै आएको जात व्यवस्था नेपाली समाजमा पछिल्लो पटक सन् १८५४ मा पहिलो कानुन मुलुकी ऐन बनेर हरेक जातकोे लागि कुन पेशा गर्ने कुन नगर्ने, कोसँग विवाह गर्ने कोसँग नगर्ने भनेर स्पष्ट रूपमा तोकेपछि आफ्नो पितापुर्खाले गर्ने कर्मलाई धर्मको रूपमा मान्न हरेक जाति बाध्य थिए ।

त्यसैले त बाहुनले हलो जोतेको कारण सामाजिक बहिष्कार र भातपानी काढिएको थियो । सप्तरीमा सिनो बहिष्कार गर्दा चमार जातिले सामाजिक बहिष्करण भोग्नु परेको थियो । वादी महिलाहरूले हामी यौन व्यवसाय गर्दैनौं भनेर भन्न सिंहदरबार अगाडि अर्धनग्न जुलुस निकाल्नु परेको थियो । राज्यले लादेको प्रभुत्वले कसरी सीमान्तकृत समुदायमा प्रभाव पार्छ भन्ने कुरालाई फिल्ममा गन्धर्व समुदायलाई केन्द्रमा राखेर हेर्न सकिन्छ ।

फिल्म हेरेपछि धेरैले दिएको प्रतिक्रिया ‘निम्न मध्यम वर्गीय परिवारका आफ्ना अभिभावकले सन्तानलाई पढाउन गरेको संघर्ष देखाएको’ भन्ने छ । कोही किन निम्न वर्गको मानिस हुन्छ ? विशेषगरी नेपाल र भारतका ग्रामीण भेगमा दलित किन निम्न वर्गका हुन्छन् ? दलितमा पनि अझै गाइने, वादी, पातर किन झन् गरिब हुन्छन् ?

गाउँका मास्टरले पूर्णबहादुरलाई गाली गर्दै भन्छन्, ‘मागेर पाइन्छ ? यत्तिको शरीर छ गरेर खाए हुन्छ नि !’ धेरै मानिसलाई गाउँका मास्टरलाई जस्तै लाग्छ र तत्काल सोच्दा लाग्नु स्वाभाविक पनि हो । तर, के गर्ने ? ग्रामीण समाजमा आफ्नो जमिन नभएको मानिसलाई कृषि कर्म गर्न पनि सहज छैन । त्यसमाथि आफ्ना पितापुर्खाले गर्दै आएको काम नै सन्तानले सिक्ने समयमा अर्को काम गर्न, सिक्न सम्भव पनि थिएन । यो फिल्म जुन समयमा बनाइएको थियो, उक्त समयमा पिता पुर्खाले गर्ने काम गर्दिनँ भन्नको लागि ठूलो हिम्मत चाहिन्थ्यो । त्यो ठूलो हिम्मतको लागि पूर्णबहादुरले सकेको आफ्नो जीवनको कथा ती तमाम अघिल्लो पुस्ताका दलित बाआमाको साझा कथा हो भन्दा फरक नपर्ला ।

दलितभित्रैको दलन

मास्टरको भूमिकाबाट नेपालमा परिवर्तनको राजनीति गर्नेहरूले कसरी निम्न वर्गका नाममा राजनीति गर्दै निम्न वर्गलाई सीमान्तीकरणबाट झन् सीमान्तीकरणमा धकेलिरहेका छन् भन्ने देखाइएको छ । समाजमा भइरहेको बीभत्स राजनीतिको चित्रण यसलाई मान्न सकिन्छ ।

फिल्ममा प्रेम, अन्तरजातीय प्रेमविवाह तथा विवाहपछिको असमझदारी र वैवाहिक विग्रहलाई राम्ररी देखाइएको छ । जंगबहादुरको पालामा सन् १८५४ मा बनेको नेपालको पहिलो कानुन मुलुकी ऐन अनुसार पानी नचल्ने छोइछिटो हाल्नुपर्ने समूहमा राखिएका दलित समुदायका विश्वकर्मा र गन्धर्व समुदाय बीचमा पनि तल्लो जात र माथिल्लो जातको रूपमा विभाजन छ । जुन विभाजनमा विश्वकर्मा माथि र गन्धर्व तल्लो जातमा गनिन्छन् । तल्लो जातसँग छोरीले विवाह गरेको थाहा पाएपछि बाटुलीका बाआमाले उनको मृत्युसंस्कार गरिदिन्छन् । के पूर्णबहादुर गन्धर्व नभएर पूर्णबहादुर गुरुङ, मगर वा बाहुन, क्षेत्रीसँग बाटुली भागेको भए उनका बाले मृत्युसंस्कार गर्थे होलान् र ? फिल्मले केही नभनेर हामीलाई नै छलफल गर्न ठाउँ छोडिदिएको छ ।

विवाहपछि पूर्णबहादुरले माग्दै हिंडेको, मागेर खाएको, लगाएको श्रीमतीले मन नपराएको कुरा देखाइएको छ । मन पर्नु नपर्नु आफ्नो–आफ्नो कुरा हो । किन पूर्णबहादुरलाई सारंगी बजाउँदै माग्दै हिंड्दा अप्ठेरो लाग्दैन तर किन बाटुलीलाई मागेर खाने भाँडोेको रूपमा रहेको ‘सारंगीको तार छिनेकै राम्रो’ लाग्छ भन्ने कुरालाई जात व्यवस्थाको आँखाबाट हेर्दा अझ बढी स्पष्ट देखिन्छ । दैनिक रूपमा माग्दै हिंड्न नपर्ने, विष्टहरू आफ्नै घरमा काम लिएर आउने र वर्षमा बाली पाकेको बेलामा हकले बाली उठाउन जाने विश्वकर्मा परिवारमा जन्मिएकी बाटुलीलाई माग्ने कुरा नराम्रो लाग्छ । तर, गीत गाउने, सारंगी बजाउने र विष्टले दिएको सानोतिनो दान लिने कर्मलाई धर्म मान्ने समाजमा हुर्केको पूर्णबहादुरलाई उक्त कुरा सामान्य लाग्छ ।

हामी समाजमा जे देख्दै–भोग्दै हुर्कन्छौं त्यही हामीलाई प्राकृतिक लाग्छ । यही सामाजिक सम्बन्धलाई हेर्ने नजर फरक परेपछि बाटुलीले छोराको भविष्यको लागि भए पनि घर छोड्ने निर्णय गर्छिन् ।

परिवर्तनको राजनीति तर परिवर्तन विरोधी सोच

फिल्ममा मास्टरको भूमिकामा एक जना ‘योद्धा’ छन् । जो रूपमा हेर्दा नेपालको हरेक राजनीतिक परिवर्तनका लागि संगठित रूपमा लडिरहेको देखिन्छन् तर सारमा हेर्दा बुर्जुवा वर्गको प्रतिनिधित्व गर्छन् । राजनीतिमा रुचि भएका व्यक्तिका लागि मास्टर साहेवले गाउँमा गरिरहेको राजनीतिलाई सशक्त ढंगले प्रस्तुत गरिएको छ ।

बहुदल र सुधारिएको पञ्चायतको लागि भएको जनमत संग्रहमा पञ्चायत फाल्नको लागि लडिरहेका मास्टरले घरमा सारंगी बजाउँदै आएको गन्धर्वलाई ‘मागेर पाइन्छ ? यत्तिको शरीर छ, गरेर खाए हुन्छ नि’ भन्दै गाली गर्छन् । ‘पढ्ने लेख्ने भनेको हामी जस्ताका छोराछोरीले हो, गाइनेका छोराछोरीले गाउने हो’, भन्छन् । विद्यालयको ड्रेस थोत्रो भएर फालेको लगाएर हिंड्दा, ‘हाम्रा छोराछोरीले लगाउने ड्रेस तिमीहरूका छोराछोरीले लगाएपछि के मान भयो ?’ भन्दै खोल्न लगाउँछन् । एउटा लुगा चोरेकोमा बच्चालाई यस्तरी सिम्किनोले हान्छन् कि कमललाई ज्वरो आउँछ । पछि एसएलसीमा जिल्ला टप गरेपछि उनले कमललाई युद्धमा सहभागी गराउन चाहन्छन् । पूर्णबहादुरले छोरोलाई युद्धमा पठाउन मान्दैनन् । पछि जब पूर्णबहादुरलाई पैसाको अत्तो पर्छ उनले पूर्णबहादुरको भएको एउटा घर पनि बन्धकी लिएर मात्रै उसलाई पैसा दिन्छन् ।

मास्टरको भूमिकाबाट नेपालमा परिवर्तनको राजनीति गर्नेहरूले कसरी निम्न वर्गका नाममा राजनीति गर्दै निम्न वर्गलाई सीमान्तीकरणबाट झन् सीमान्तीकरणमा धकेलिरहेका छन् भन्ने देखाइएको छ । समाजमा भइरहेको बीभत्स राजनीतिको चित्रण यसलाई मान्न सकिन्छ ।

अनि कमलकी आमा कता होलिन् ?

फिल्मको अन्त्यसम्म पनि प्रतीक्षा थियो छोरा कमललाई पनि मागेर खानुपर्ने वातावरणबाट जोगाउन शहर हिंडेकी आमा बाटुलीको । जसले छोरो जन्मनुभन्दा अगाडिदेखि आफ्नो छोरालाई घरघर गएर मागेर खान नपरोस् भन्ने कामना गरिरहेकी हुन्थिन् । ती गाउँकी नपढेकी सोझी महिलाको शहर पसेपछि के भयो होला ? उनले छोरो विद्यालयमा भर्ना भएको, एमबीबीएसमा नाम निकालेको र डाक्टर बनेको कुरा थाहा पाउन सकिन् कि सकिनन् होला ? त्यति धेरै छोराको विषयमा चिन्ता लिने उनले किन छोरालाई पढाउनका लागि सहयोग गरिनन् ? भन्ने लागिरह्यो । फिल्म सकिएपछि पनि बाटुलीको के भयो होला भन्ने लागिरह्यो । हुनत फिल्मको अर्को भाग आउला, त्यसमा उनको संघर्षको कथा पक्कै आउला ।

अन्त्यमा फिल्ममा जात व्यवस्था, गरिबी, समाजमा परिवर्तन गर्ने भनेर हिंडेका मानिसले गर्ने व्यवहार, दलितभित्रैको दलन र अन्तरजातीय विवाह पछिको अवस्था, अशिक्षा, साथीभाइ बीचको सहयोग र ईष्र्यालाई यसरी घोलिएको छ कि ती सवालहरूलाई छुट्याउन गाह्रो पर्छ । फिल्ममा कतै पनि जात व्यवस्थाको विरोध गरिएको छैन । न त यो जात व्यवस्था भन्ने चिज समाजमा किन छ र योबाट कसरी मुक्ति पाउने भन्नेबारे नै कुरा गरिएको छ । तर, जात व्यवस्थाका आधारमा हुने थिचोमिचो, जातको आधारमा भएको गरिबी र गरिब भएकै कारण पाइला–पाइलामा खानु परेको ठक्कर र जात व्यवस्थाको परम्परागत दलदलबाट एउटा व्यक्ति बाहिर निस्कन उसले र उसको परिवारले गर्नुपर्ने संघर्षलाई देखाइएको छ ।

फिल्ममा नेपाली समाजको यस्तो अवस्थाको चित्रण छ, जहाँ समाज न पूरै परम्परागत छ, न पूरै आधुनिक । पुरानो समाजको जग भत्कँदै गएको र नयाँ समाज नबनिसकेको गञ्जागोलको अवस्थामा सकसपूर्ण रूपमा बाँचिरहेका पूर्णबहादुरहरूको कथा फिल्मले देखाउँछ । समाजशास्त्रको स्नातक र स्नातकोत्तर तहमा जात व्यवस्थाको विषयमा पढाउन परिरहन्छ र हरेक कक्षामा कोही न कोही यस्तो विद्यार्थी आउँछन् जसलाई लाग्छ ‘हामी सबै एकै हैसियतका भइसक्यौं, अब किन दलितलाई आरक्षण चाहिन्छ र ?’

विश्वविद्यालयका विद्यार्थीलाई मात्रै त्यस्तो लाग्दैन, समाजका समाज–विज्ञान नपढेका धेरै बौद्धिक भनिने मानिसलाई पनि त्यस्तो लाग्छ । कसैले सोधिहाल्छन् कसैले सोध्दैनन्, त्यो फरक कुरा हो । यस्तो सोच र प्रश्नलाई चिर्न पनि समाजमा ‘पूर्णबहादुरको सारंगी’ जस्ता धेरै फिल्म बनिरहुन् । जसले फिल्ममा जस्तै वास्तविक जीवनमा पनि निम्न वर्गका मानिसहरूप्रति संवेदनशील बन्न प्रेरित गरिरहोस् ।

लेखकको बारेमा
नारायणी देवकोटा

देवकोटा समाजशास्त्री हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?