२३ कात्तिक, काठमाडौं । सल्यानमा गत १४ कात्तिकमा गुडिरहेको गाडीमा आफैं आगो लाग्यो । गाडी जलेर पूर्णरूपमा नष्ट भयो ।
थारमारे दार्मा जोड्ने सडक खण्ड अन्तर्गत बागचौर नगरपालिका–१ चारखोला नजिकै गुडिरहेको गाडीमा आगो लागेको हो । २९ यात्रु सवार भे. १ ख ३७५० नम्बरको उक्त गाडी बाँके नेपालगञ्जबाट रुकुम पश्चिम चौफातर्फ जाँदै गर्दा आगलागी भएको थियो । आगलागीबाट सबै यात्रुले ज्यान जोगाउन सफल भए ।
त्यसको केही दिनअघि ३ कात्तिकमा ललितपुर सातदोबाटोमा गुडिरहेको बसमा आगलागी भयो । चक्रपथमा चल्ने बा. ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको थियो ।
चालकका अनुसार इन्जिनमा एक्कासि आगलागी भएको थियो । बसमा धुवाँ देखिने बित्तिकै यात्रुहरू झरेका थिए ।
त्यस्तै १३ साउनमा दाङमा गुडिरहेको ट्रकमा आफैं आगो सल्किएपछि जलेर नष्ट भयो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महेन्द्रनगरबाट दाङ लमही आउँदै गरेको सुपप्र ०१–००१ ख ३३३७ नम्बरको गुडिरहेको ट्रकमा आफैं आगलागी भएको थियो ।
लमही नगरपालिका चाउखोला नजिक जंगल क्षेत्रमा गुडिरहेका बेला ट्रकमा एक्कासि आगलागी भएको थियो । आगलागीबाट ट्रकको इन्जिनको भाग, बम्पडको भाग र ६ वटा टायर पूर्णरूपमा जलेर नष्ट भएको थियो ।
त्यस्तै २० भदौ २०८१ मा मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा गुडिरहेको नेपाली सेनाको बा १ ग ३४३६ नम्बरको ट्रकमा आगलागी भयो । ट्रक ७ नम्बर बाहिनी चनवनबाट तालिमका लागि रेकी गर्न सिमभञ्ज्याङतर्फ जाँदै थियो । सापट भाँचिएपछि सडक किनारा लगाउने क्रममा ट्रकमा अचानक आगो लागेको थियो ।
त्यसैगरी २६ फागुन २०८१ मा कैलाली चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको थियो । पश्चिमतर्फ आइरहेको एक ट्रकमा आगलागी भएको थियो । ट्रकबाट आगो पुलमा समेत सल्किएको थियो ।
यी त पछिल्ला समय भइरहेका केही घटनाका उदाहरण हुन् । अघिल्ला वर्ष पनि यस्तै घटना भएका थिए ।
२३ वैशाख २०७९ मा काठमाडौं अनामनगरमा गुडिरहेको बसमा एक्कासि आगलागी भएको थियो । बा. ५ ख ११७५ नम्बरको बसको एक भागमा एक्कासि आगो लागेपछि गाडीभित्रका यात्रु बाहिर भागेका थिए ।
त्यस्तै ११ चैत २०७८ मा कालीकोटबाट काठमाडौंका लागि छुटेको ना. ८ख २३५६ नम्बरको यात्रुवाहक बसमा आगलागी हुँदा पूर्णरूपले नष्ट भएको थियो । ३० भन्दा बढी यात्रु बोकेको उक्त बस गुड्दागुड्दै आगलागी भएको थियो ।
नेपालमा गुडिरहेको गाडीमा आगलागी हुने क्रम बढिरहँदा सरकारी निकाय, यातायात व्यवसायी, अटो मोबाइल एसोसिएसन लगायत सरोकारवाला मौन देखिन्छन् ।
उत्पादनमा समस्या होइन, मानवीय त्रुटि : नाडा
गाडी व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले भने पछिल्लो समय तीव्र गतिमा सवारीसाधनमा एक्कासि आगालागी हुनुमा मानवीय त्रुटि धेरै भएको जनाउँछ ।
नेपालमा भएका घटनामा गाडी उत्पादक कम्पनीहरूको दोष नरहेको नाडाका कोषाध्यक्ष तथा हेभी इक्विपमेन्ट र कन्स्ट्रक्सन समिति संयोजक मिलनबाबु मल्लले बताए ।
‘अहिले आइरहेको अधिकांश केशमा गाडी चालकहरू, ग्यारेजहरूमा जनचेतनाको अभाव देखिन्छ । गुडिरहेको बसदेखि रोकिराखेका ईभीमा भइरहेको पनि यही हो,’ उनले भने ।
मल्लका अनुसार ग्यारेजहरूले गाडी मर्मत गर्दा जथाभावी कच्चा तार राखिदिने, डिजेल, मोबिल राम्ररी सफा नगरिदिने, गाडी धेरै हिट भइन्जेल चलाउने जस्ता कारण देखिएका छन् ।
‘आधिकारिक शोरुमबाट मर्मत नगर्ने, विज्ञता हासिल नगरेका जनशक्तिबाट सर्भिसिङ गर्ने गरेको पाइएको छ । यसले पनि धेरै समस्या आएको छ,’ मल्लले भने ।
कम्पनीको शोरुम, बिक्री केन्द्रमा रहेका जनशक्तिलाई तालिम दिए पनि खुलमखुला चलेका मर्मत केन्द्रले कच्चा सामग्री राखिदिने, राम्ररी प्लग नजोडिदिने कारण पनि समस्या भइरहेको उनले बताए । विक्रेता र गाडीका ग्राहकले यसमा ध्यान दिनुपर्ने भन्दै यात्रुवाहक चालकलाई पनि जनचेतना दिनुपर्ने बताए ।
सञ्चालक र नियामकको लापरबाही : मेकानिकल इन्जिनियर
यातायात व्यवस्था विभाग अन्तर्गत सवारी परीक्षणमा काम गरेका एक मेकानिकल इन्जिनियरका अनुसार सरकारले नियमित चेकिङ नहुँदा र सवारी सञ्चालकको लापरबाहीले आगलागीका घटना बढिरहेको बताए ।
‘गाडीहरू हजारौं पार्टपुर्जा जोडेर बनेको हुन्छ । यो नियमित जाँच नगर्दा समस्या भइरहन्छ । पेट्रोलियम गाडीमा सबैभन्दा धेरै एक्कासि आगलागी हुनुमा समयमा मर्मत सम्भार नहुनु र कुलिङ सिस्टम राम्रोसँग मेन्टेन नभएर हो,’ ती इन्जिनियरले भने ।
आगलागीको मुख्य कारण भनेको दैनिकजसो जाँच गर्नुपर्ने इन्जिन, मेसिन चलिरहेकै छ भनेर छाड्दा पनि आगलागी भइरहेको उनको तर्क छ ।
‘हामीले पनि जाँच गर्नुपर्ने हो, तर सकेको छैन । सरकारलाई पनि खासै वास्ता छैन, आगलागी भयो, नियन्त्रण गर्यो, बीमा आयो सकियो । अहिले त्यही नै भइरहेको छ,’ उनले भने ।
‘यात्रुवाहक बस, सहरको बीचमा एक्कासि आगलगी हुँदा हुन सक्ने भवितव्यका लागि न यातायात व्यवसायी, न सवारी चालक, न सरकार गम्भीर छ,’ उनले भने ।
उनका अनुसार विद्युतीय गाडी (ईभी) को मुख्य समस्या नै चार्ज जहाँ पायो त्यहीँ गर्दा समस्या भइरहेको देखिन्छ । अर्थिङ नभएको ठाउँमा, पानी परेको बेलामा चार्ज गर्दा आगलागीका घटना भइरहेका छन् ।
प्रतिक्रिया 4