+
+

मानव तस्करीमा यसरी जोडिए कोशीका मन्त्री

टोकियोबाट दुई डिआइजीलाई म्यासेज पठाएका थिए : ‘विश्वास गर्नु खतरापूर्ण भयो, म माथि पनि छानबिन होस्’

हरि अधिकारी हरि अधिकारी
२०८१ कात्तिक २२ गते २२:४९

२२ कात्तिक, विराटनगर । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीको गम्भीर प्रकरणमा तानिएको प्रसंग यति बेला चर्चामा छ । कानुन अध्ययन गरेका मन्त्री अधिकारी एमालेबाट निर्वाचित सांसद हुन् ।

सामान्य विधि प्रक्रिया पनि पूरा नगरी सांस्कृतिक कार्यक्रममा जापान जान भन्दै काठमाडौंबाट उडेका अधिकारी मानव तस्करीको प्रकरणमा जोडिन पुगेका हुन् । आफूसँगै जापानको टोकियो विमानस्थलबाट चार जना डिपोर्ट भएर फर्किएपछि गम्भीर विवादमा परेका अधिकारीले बुधबार मन्त्री पदबाट राजीनामा दिएका थिए ।

अधिकारीको व्यक्तिगत भनिएको जापान यात्रा मन्त्रिपरिषद्बाट स्वीकृत भएको थिएन । निम्तो आएका कारण व्यक्तिगत रुपमा जाने भन्दै उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई सामान्य सूचना दिएका थिए । तर उनको भ्रमण नियमानुसार स्वीकृतिका लागि अघि बढेको भने थिएन ।

त्रिभुवन विमानस्थलबाट एक्लै हिँडेका अधिकारीसँग हङकङको ट्रान्जिटका बेला भ्रमण दलका सदस्य भन्दै खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३६ वर्षीय दावा शेर्पा, खोटाङकै कोपिलासगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई र रसुवाको कालिका गाउँपालिका– ५ का २२ वर्षीय कञ्चन देवकोटा आएका थिए ।

टाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३६ वर्षीय दावा शेर्पा, खोटाङकै कोपिलासगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई र रसुवाको कालिका गाउँपालिका– ५ का २२ वर्षीय कञ्चन देवकोटा

‘त्रिभुवन विमानस्थलमा उनीहरुलाई देखेको मात्र भए म कुनै हालतमा जाने नै थिइनँ । हङकङ एयरपोर्टमा भेट्न आएपछि मेरो जिउ भारी भयो, छटपटी भयो, फर्कने चेस्टा गरेँ, पार लागेन,’ अधिकारीले दाबी गरे, ‘अनि मलाई गलत रोक्नुपर्छ भन्ने लाग्यो, इमिग्रेसनमा जे सत्य थियो त्यही भनेँ, मैले कार्यक्रममा जान्न भनेँ, त्यसपछि उनीहरु रोकिए, गिरोहले मलाई प्रयोग गरेका रहेछन्, झट्टै विश्वास गर्दा फसेँ ।’

‘इन्टरनेसनल कन्फ्रेन्स अन ओपन एक्सेस टु कल्चर इन जापान’ कार्यक्रममा जानुपर्छ भन्दै मोरङको रतुवामाई नगरपालिका घर भइ काठमाडौं बस्दै आएका गोपाल गौतमले चाँजोपाजो मिलाएका थिए । एमालेका कार्यकर्ता गौतम एमाले संसदीय दलको कार्यालय वरपर भेटिन्छन् । उनी ठेकेदार हुन् ।

गौतमले अधिकारीलाई भन्दा अगाडि संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेललाई कार्यक्रममा जान प्रस्ताव गरेका थिए । सहकारी ठगी विवादमा मुछिएका कारण पोखरेल जान मानेनन् । त्यसपछि अधिकारीलाई जाने प्रस्ताव गरे । ‘पोखरेलले नमानेपछि अधिकारीलाई प्रस्ताव गरेका रहेछन्,’ नेकपा एमाले कोशी प्रदेशका एक सांसदले भने, ‘बिदा छ घुमेर आउँछु भन्दै अधिकारी पनि तयार भएछन्, जाने बेलामा सल्लाह पनि गरेनन् ।’

गौतमले भ्रमणको चाँजापाँजो मिलाउने बताएपछि आफू जान राजी भएको अधिकारी जिकिर गर्छन् । तिहारको छुट्टीमा घुमेर पनि आउने भन्दै अधिकारीले आफ्नो राहदानी गौतमलाई बुझाए ।

२६ अक्टोबरमा गौतमले नै भिसा लाग्यो भन्दै अधिकारीलाई खबर गरेका थिए । भोलिपल्टको टिकट छ भन्दै गौतमले बोलाएपछि अधिकारी काठमाडौं पुगे । २७ अक्टोबर दिउँसो विमानस्थल अगाडिको क्याफेमा गौतमसँगै आएका महेशविक्रम पाण्डेले जापानको कार्यक्रमको भन्दै डकुमेन्ट बुझाएका थिए ।

पाण्डेले आफू जापानमा हुने कार्यक्रमको नेपाल प्रतिनिधि भन्दै चिनजान गरेको अधिकारी बताए । ‘एयरपोर्ट अगाडिको क्याफेमा तपाईं एक्लै जाने हो, कार्यक्रम राम्रो छ मन्त्रीज्यू भनेपछि म त मख्खै परेँ,’ अधिकारीले भने, ‘मलाई प्रयोग गरेर मान्छे पठाएछ भन्ने थाहा पाएपछि प्रहरीलाई सम्पर्क गरेर जानकारी गराएँ ।’

नेपाल प्रहरी कोशी प्रदेशका डिआइजी चन्द्रकुबेर खापुङ र विशेष ब्युरोका डिआइजी राजन अधिकारीलाई मन्त्री अधिकारीले पठाएको म्यासेज

नेपाल प्रहरी कोशी प्रदेशका डिआइजी चन्द्रकुबेर खापुङ मन्त्री अधिकारीले आफूलाई फसाएको भन्दै ह्वाटसपमा म्यासेज गरेको बताउँछन् । ‘मलाई प्रयोग गरेर मान्छे लान खोजेका रहेछन, म फसाइएछु, नक्कली कागजात पनि भेटिएको छ यिनीहरुलाई कारवाही गर्नुपर्छ भनेर म्यासेज गर्नुभएको थियो,’ डिआइजी खापुङले भने, ‘यो घटनामा सबै विषय अनुसन्धानपछि खुल्ला, उहाँले मलाई म्यासेज गर्नुभएको हो, आउनुहोस् सल्लाह गरौंला भनेको थिएँ ।’

विवादमा मुछिएपछि राजीनामा दिएका अधिकारी नजिकका कार्यकर्ता गाेपाल गौतमलाई विश्वास गर्दा आफू फसेको दाबी गर्छन् ।

जापानबाट फर्काइएकाहरुको साथबाट नक्कली कागजात भेटिएको छ । नक्कली परिचय पत्र र जापान गएका तीन जना व्यक्तिको फोटो मन्त्री अधिकारीले जापान विमानस्थलबाटै नेपाल प्रहरी विशेष ब्यूरोका डिआइजी राजन अधिकारीलाई पठाएका थिए । जापानबाट फर्कंदै गरेको विमानको विवरण पनि पठाएका थिए । टोकियोबाट फर्किएकाहरुलाई विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको डिआइजी अधिकारी बताउँछन् ।

जापान विमानस्थलबाट मन्त्री अधिकारीले ३० अक्टोबर बिहान डीआईजी अधिकारीलाई सम्पर्क गरेर घटना विवरण जानकारी गराएका थिए ।

जापान विमानस्थलबाट नेपाल फर्काइएकाहरुसँग नक्कली परिचय पत्र भेटिएको थियो । खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३६ वर्षीय दावा शेर्पासँग सोही वडाको वडा सदस्यको परिचय पत्र थियो । उनको परिचयपत्र नक्कली हो । ऐसेलुखर्कका प्रमुख कार्यकारी अधिकृत रेखबहादुर थापाका अनुसार पालिकामा दावा शेर्पा नाम गरेका जनप्रतिनिधि छैनन् ।

खोटाङकै कोपिलासगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई र रसुवाको कालिका गाउँपालिका– ५ का २२ वर्षीय कञ्चन देवकोटासँग कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहायकस्तरका कर्मचारीको परिचय पत्र थियो ।

निमित्त कार्यालय प्रमुखले हस्ताक्षर गरेको परिचय पत्रमा निमित्त कार्यालय प्रमुख भनेर लिलाबल्लभ अधिकारीकै नाम लेखिएको छ, अधिकारीकै हस्ताक्षर पनि देखिन्छ ।

जनक राईको साथबाट बरामद नक्कली परिचयपत्र

प्रहरी स्रोतका अनुसार टोकियो विमानस्थलमा कागजात शंकास्पद भेटिएपछि जापानको अध्यागमनले केरकार गरेको थियो । त्यसपछि मन्त्रीसहित अन्यलाई नेपाल डिपोर्ट गरेको थियो ।

अनुसन्धान जारी

प्रहरीले यो घटनाको छानबिन गरिरहेको छ । यो घटनाको अनुसन्धानका लागि प्रहरीले मन्त्रीसँगै जापानको विमानस्थलबाट फर्किएका तीन जनालाई विमानस्थलबाट पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा दोलखा जिरी नगरपालिका–९ का बीरबहादुर सुनुवार, नुवाकोट बिदुर नगरपालिका– ७ का २२ वर्षीय जुगल रिजाल र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ का ३४ वर्षीय महेशविक्रम पाण्डे पक्राउ परेका छन् ।

पक्राउ परेकामध्ये पाण्डेले मन्त्रीको डकुमेन्टको चाँजोपाँजो मिलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तर प्रहरीले यसबारे औपचारिक रुपमा बताउन मानेको छैन ।

मन्त्रीको जापान यात्राको चाँजोपाजो मिलाएका उनले तीन जनाबाट १० देखि १३ लाख रुपैयाँ पैसा उठाएको स्रोतको भनाइ छ ।

यो गिरोहमा अन्य व्यक्ति पनि जोडिएको प्रहरीको भनाइ छ । प्रहरीले उनीहरुको पनि खोजी गरिरहेको जनाएको छ । मन्त्रीको जापान यात्रा मिलाएका गोपाल गौतम भने फरार छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?