News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाको समानुपातिक मतगणनामा रास्वपाले ८ लाख ५३ हजार १ सय ८४ मत ल्याएर पहिलो दल बनेको छ।
- श्रम संस्कृति पार्टीले पहिलो प्रयासमै राष्ट्रिय पार्टीको रूपमा उदाउँदै ३ प्रत्यक्ष सिट र करिब ४ समानुपातिक सिट जित्ने स्थिति बनाएको छ।
- कोशी प्रदेशमा श्रम संस्कृतिले कांग्रेस र एमालेभन्दा बढी मत पाउँदै दोस्रो दल बनेको छ र त्यहाँको मतको दुई तिहाइभन्दा बढी भाग ल्याएको छ।
२७ फागुन, काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना सकिइसक्दा यो चुनावका केही रोचक तथ्यहरू पनि बाहिर आएका छन् ।
यो चुनावबाट रास्वपाले देशव्यापी रूपमा लहर ल्याएको त देखिएकै छ । तर तथ्यहरूलाई प्रदेशगत रूपमा विभाजन गरेर हेर्दा कहाँ कस्तो पकड बलियो र कहाँ को कसरी कमजोर बनेको छ भन्ने तस्वीर पनि देखिन्छ ।
चार महिना अघि गठन भएको श्रम संस्कृति पार्टी पहिलो प्रयासमै राष्ट्रिय पार्टीको रूपमा उदाएको छ । प्रत्यक्षमा ३ तीन सिट जितेको श्रम संस्कृतिले समानुपातिकमा पनि अब करिब ४ सिट जित्ने गरी मत ल्याएको छ । उसले पाएको समानुपातिक मतलाई हेर्ने हो भने सबै भन्दा बढी कोशीमा पाएको छ । जहाँ श्रम संस्कृति पार्टीले कांग्रेस-एमालेको भन्दा बढी मत ल्याएको छ । कोशी प्रदेशको समानुपातिक मतमा रास्वपा पहिलो, श्रम संस्कृति दोस्रो दल बनेको छ। कांग्रेस तेस्रो र एमाले चौथो स्थानमा पुगेका छन् ।
रास्वपा ८ लाख ५३ हजार १ सय ८४ मत ल्याएर पहिलो दल बनेको छ । दोस्रो दल श्रम संस्कृति बनेको छ । यो दलले २ लाख ९२ हजार ४९ मत पाएको छ । श्रम संस्कृतिले देशैभरबाट कुल ३ लाख ८५ हजार ६ सय ७९ मत पाएकोमा त्यसको दुई तिहाइ भन्दा बढी मत कोशीबाट ल्याएको छ ।
यो तथ्यले श्रम संस्कृति पार्टीले कोशीमा विगतदेखि नै जरा गाढेर बसेका कांग्रेस, एमाले र नेकपालाई निकै चुनौती दिएको देखिन्छ । अन्य प्रदेशमा कांग्रेस, एमाले, नेकपा लगायतका दलबाट भोट रास्वपातिर स्विङ धेरै भएको छ । तर यो प्रदेशमा रास्वपातिर स्विङ हुने मत श्रम संस्कृतिले उल्लेख्य रूपमा रोकेको देखिन्छ ।
यो प्रदेशमा श्रम संस्कृतिभन्दा पछि तेस्रो स्थानमा रहेको कांग्रेसले २ लाख ९० हजार ५६२ मत पाएको छ । त्यस्तै एमालेले दुई लाख ८८ हजार १ सय ८६ मत ल्याएको छ । नेकपा जम्मा ९७ हजार ६ सय ७९ मत ल्याएको छ । यो प्रदेशको प्रत्यक्षमा श्रम संस्कृतिले ३ तीन सिट जित्दा एमालेले चार सिट जितेको छ । कांग्रेसले तीन सिट जितेको छ ।
श्रम संस्कृतिले खोटाङ, धरान र भोजपुरमा तीन सिट जितेको हो । ती मध्ये खोटाङ र भोजपुरमा समानुपातिकमा सर्वाधिक मत पाउने दल बनेको छ । पाँचथरमा कांग्रेसले प्रत्यक्ष सिट जिते पनि समानुपातिक मतमा श्रम संस्कृति पहिलो दल बनेको छ ।
प्रतिक्रिया 4