+
+

“पाताल” उपन्यास केही कैफियत

गोविन्द गिरी प्रेरणा गोविन्द गिरी प्रेरणा
२०८१ कात्तिक २४ गते १४:२५

“पाताल” (विसं २०८०) पदम विश्वकर्माको दोश्रो उपन्यास हो । यसअघि कोरोना महामारीको विषयमा आधारित उपन्यास “क्वारेन्टाइन” प्रकाशित भएको थियो । पहिलो कृति कवितासङ्ग्रह मार्फत साहित्यिक क्षेत्रमा पदार्पण गरेका उनको दोश्रो कृति कथा सङ्ग्रह थियो । तेस्रो कृतिमा आउँदा उनी उपन्यास विधा लिएर आए । शुरुका तीन कृति फरक फरक विधामा आएका उनी चौथो कृतिमा आउँदा उपन्यास विधामा दोहोरिएर आएका छन् । यस हिसाबले हेर्दा उनी उपन्यास विधामा अन्य विधाको तुलनामा बढी आकर्षित भएका हुन् कि भन्ने देखिन्छ ।

कतिपय लेखकहरु आफ्नो पहिलो कृति नै बेजोडको लिएर आउँछन् । चर्चाले साहित्यको बजार तरङ्गित हुन्छ । कृतिगत पुरस्कारहरुको लस्कर लाग्छ । तर धेरै लेखकहरु यस मामलामा भाग्यमानी हुँदैनन् । थोरै मात्रले यस्तो सौभाग्य सुखभोग गर्न पाउँछन् । अधिकाँश लेखकहरुका शुरुवातका कृति अभ्यासकालीन हुन्छन् र क्रमसः अनुभव, अध्ययन र चिन्तनले आफ्नो लेखनलाई धारिलो, चोटिलो, विशिष्ट बनाउँदै लैजान्छन् ।

यो नियमित प्रकृया हो, लेखनको दुनियाँमा । कतिपय लेखकहरु एक कृतिमै थान्को लाग्छन् । कतिपय दुईचारवटा अभ्यासकालीन लेखनपश्चात् थकित हुन्छन् पाखा लाग्छन् । कतिपय लेखक लेखनमा थाक्दैनन् । कृतिहरु जन्माइरहन्छन् । तर खासै स्तरवृद्धि गर्न सक्दैनन् र एकप्रकारको अभ्यासकालीन लेखनमै सदा अल्झिरहन्छन् ।

यो हिसाबले हेर्दा पदम विश्वकर्मा पहिलो कृतिमै बहुचर्चित र पुरस्कृत भएर व्यापक हुन नसके पनि लेखनमा उनको निष्ठा रहेकाले निरन्तर लेखिरहेका लेखकका रुपमा देखिन्छन् । तर पछि कुन खालका लेखक हुने हुन् त्यो चाहिँ समयले विस्तारै बताउनेछ । उनको विषयमा खुलेर ढुक्कैसँग भन्न सकिने एउटा कुरा छ, उनको लेखनमा निष्ठा छ र उनी निरन्तर लेखिरहेका छन् ।

आख्यानका विभिन्न स्वरुपहरुमा उपन्यास एक स्वरुप हो । यो विधा सहज होइन । एक वा दुई बसाईमा लेखिसकिन्न । अपवादलाई छाडेर एक वा दुई पात्रमा सीमित हुँदैन । सानो कालखण्डमा सीमित हुँदैन । सानो भूगोलमा सीमित हुँदैन । अतः उपन्यासको संरचना (Construction) यसको प्रमुख पक्ष हो । उपन्यास बन्नका लागि र उपन्यासको सफलताका लागि यसको संरचना बलियो हुनै पर्दछ ।

उपन्यासको कथ्यमा विश्वसनीयता र ऐतिहासिक कालक्रम अर्को प्रमुख कुरा हो । त्यस सँगसँगै कथाको विकासक्रम, घटनाक्रम, कौतुहलता, नाटकियता, सम्वाद, उत्कर्ष लगायत अरु यस्ता पक्ष हुन् जसले उपन्यासलाई पठनीय र प्रभाविलो बनाउँछ । पात्रको चरित्र निर्माण उपन्यासको मेरुदण्ड नै हो ।

हुन त कतिपय पात्रहरु दैनन्दिन जीवनबाट, ईतिहासबाट र पौराणिक ग्रन्थबाट लिइन्छन् । तथापि उपन्यासकारले यथारुपमा प्रस्तुत नगरी तिनलाई उपन्यासको आवश्यकतानुसार पुनर्निर्माण गर्दछन् । यो नै चरित्र निर्माण हो । भएकै यथार्थलाई यथारुप प्रस्तुत गर्नु चरित्र निर्माण होइन । ऽ”पाताल” उपन्यासलाई पनि यिनै परिप्रेक्षमा पाठकीय पर्गेल्याईं हो यो ।

उपन्यासको शुरुवात यसरी हुन्छ- अनाम पात्र (म) लाई अमेरिकाको अध्यागमन डिटेन्सन सेण्टरबाट दाई सम्बोधन गर्दै कर्म पात्रको फोन आउँछ । म पात्र कर्मलाई लिन डिटेन्सन सेण्टर जान्छ र लिएर आउँछ । खासमा कर्म र म पात्रको कुनै पूर्व परिचय होइन । डिटेन्सन सेण्टरको भित्तामा नाम र नम्बर भेटेर फोन गरेका हुन् -“तपाईंको नाम र फोन नम्बर सिसाकलमले डिटेन्सन सेन्टरको भित्तामा नेपालीमा लेखिएको थियो । कुनै नेपालीले लेख्यो होला भन्ने ठानें र तपाईंलाई फोन गरें ।” (पेज १३) ।

यो दशैंको बेला थियो र म पात्रले फोन गर्ने पात्र कर्म र उसका साथी कर्णलाई डिटेन्सन सेण्टरबाट आफ्नो घर लैजान्छ र दशैं त्यहीं मनाउँछन् । अनि केही दिनसम्म दुबैले आफ्नो राम कहानी भन्छन् र त्यही राम कहानी हो यो उपन्यास “पाताल” ।

कर्मे अर्थात् कर्मको जन्मथलो हो रुकुम । स्कूलमा पढ्दापढ्दै माओवादी आन्दोलनमा सामेल भएर पढाई छुट्यो । द्वन्द्वकालको दुःख पीडा भोगे र त्यसबाट मुक्ति पाउन खाडीमा काम गर्न गए । त्यहाँबाट फर्केपछि अमेरिका हानिए तल्लो बाटो । अर्थात् दलाल मार्फत् । झण्डै ८-१० महिनामा अमेरिका प्रवेश गरे । अनि अमेरिकामा काम थाले । कागज बनेपछि पिता, श्रीमती र छोरालाई पनि अमेरिका झिकाए । पछि अमेरिकाबाट विरक्त भएर देश प्रेमले तानिएर नेपाल फर्किए र अमेरिका नजाऊ, नेपालमै बस्नु पर्छ भन्ने अभियानका अभियन्ता बने ।

उपन्यासको मूल कथ्य यही हो, यसैको सेरोफेरोमा उपन्यास बुनिएको छ र अनेकन पात्रहरुसँग पाठकको साक्षात्कार हुन्छ ।

यसरी कर्मको जीवन कथाका विभिन्न चरणमा उपन्यास अघि बढेको छ । कर्मको नेपालको किशोरदेखि युवाबेलामा माओवादी आन्दोलनमा सामेल भएकोसम्मको समय, खाडीमा काम गर्दाको समय, अमेरिका आउन बाटोमा बिताएको समय, अमेरिका आएर सङ्घर्ष गर्दै स्थायित्वका लागि कष्टदायी अवस्था भोगेको समय र नेपाल फिर्ता भएको समय ।

यसरी सर्सर्ती हेर्दा उपन्यासमा नेपालमा द्वन्दको बेला आम मानिस र खासगरी रुकुम रोल्पा दाङका मानिसले भोग्नु परेको पीडा छ । अवैधानिक रुपले विभिन्न देश हुँदै अमेरिका प्रवेश गर्नका लागि भोगेका दुःख कष्टका कुरा छन् । ज्यान जोखिममा राखेर रात विरात अनकण्टार जङ्गल खोला समुद्र तर्दै जानु परेको अनन्त पीडाको वर्णन छ । अमेरिका पुगेपछि पनि सजिलो छैन, अमेरिकामा पनि अनेक दुःख र समस्याहरु छन्, तिनको नाली बेली छ ।

उपन्यासको नेपथ्यमा देखिएका पात्र कर्मेका दाजु युद्धमा गएका छन् र फर्केका छैनन् । तिनको फर्काइको आशामा बसेकी भाउजुको पीडा भने निकै हृदयस्पर्शी छ । यद्यपि ती भाउजुको चरित्रको विकास राम्रोसँग भएको छैन । पछि यी दुई पात्रको सन्दर्भ हराउँछ । ती भाउजुको चरित्र विकास गर्न सकिएको भए उपन्यास बढी मार्मिक र गहकिलो बन्न सक्दथ्यो ।

द्वन्द्वको विषयमा अनेक उपन्यास आइसकेका छन् नेपाली साहित्यमा । अवैधानिक बाटोबाट अमेरिका प्रवेश गर्नेहरुको विषयमा पनि यसअघि नै उपन्यास आइसकेको छ । तर यो उपन्यासमा अमेरिका आइसकेपछिको दुःख र सङ्घर्षका कथाहरु समेत समेटिएको छ । फेरि एकै विषयमा फरक फरक लेखकले आआफ्नो ढङ्गले कृति रचना गर्न नमिल्ने वा नसकिने होइन । लेखकको खुबी र लेखनले दिने आकर्षणले त्यसको मूल्य निर्धारण हुन्छ ।

यो उपन्यास संरचनाको हिसाबले एकदमै कमजोर देखिन्छ । एउटा अनाम पात्रलाई कर्मले केही दिन भनेको कथा कहाँसम्म हो, त्यसको भेउ पाठकले कतै पाउँदैनन् । यसरी कथाको मूलभूत संरचना नै खजमजिएको छ । उपन्यासका अध्यायहरुको नामाकरण गरिएको छ । कथा अघि बढिरहन्छ । तर कतिपय अध्यायका कथाक्रम मिल्दैनन् ।

उपन्यासमा कतिपय अन्तरविरोधि अभिव्यक्तिहरु छन् । जस्तोः

१. “बोलिभिया एयरपोर्टमा निकै कडा रहे’च । हाम्रो भिसा नभएकोले बोलिभिया सरकारले निकै बेर केरकार गरेपछि पुनः स्पेन फर्काइदियो । फेरि स्पेन, मस्को, दिल्ली हुँदै नेपाल फर्कनुपर्‍यो । धन्न बोलिभिया सरकारले जेल चलान गरेन र पो ! नत्र हामी आजसम्म बोलिभियाको जेलमा सडिरहेका हुन्थ्यौं, सायद । एउटा त्रासदीपूर्ण समयले साथ दियो हामीलाई ।” (पेज-१०४)

२. “बोलिभिया पुग्न भिसाको खाँचो रहेनछ । पेरुबाट बिना भिसा हामी बोलिभिया उड्यौं ।”(पेज १०९)

३. “विभिन्न एयरपोर्टबाट बाहिर ननिस्किएरै हामी बोलिभिया पुगेका थियौं । नेपाल छोडेपछि एयरपोर्टबाट बाहिर निस्केको भूमि नै बोलिभिया थियो ।” (पेज-११३)

४. “बोलिभियाबाट तीन दिनसम्म बस र त्यसपछि हिँडेर हामी पेरु पुग्यौं ।” (पेज- ११४)

५. “कर्मले आफ्नो बाल्यकालका हरेक पल सम्झन थाले ।” (पेज-१७)

यी उद्धरणले देखाउने अन्तरविरोध आश्चर्य लाग्दो छ । पहिलो उद्धरणमा भिसा नभएकोले बोलिभिया सरकारले स्पेन फर्काइदिएको छ । दोस्रो उद्धरणले भन्छ, भोलिभिया पुग्न भिसाको खाँचो रहेनछ । हो के त ? पाठकलाई हुनसम्मको अन्यौल हुन्छ ।

त्यस्तै दोश्रो उद्धरणमा पेरुबाट बोलिभिया उडेको भनिएको छ । चौथो उद्धरणमा बोलिभियाबाट तीन दिनसम्म बस र त्यसपछि हिँडेर पेरु पुगेको उल्लेख छ । हैन कुरा के हो ? यथार्थ के हो, पाठकको मन मस्तिष्क खल्बलिन्छ । पाँचौं उद्धरणमा कर्मले सम्झन थाले भनिएको छ, जब कि कर्म आफैं कथा भनिरहेका छन् । प्रथम पुरुषबाट कसरी तृतीय पुरुषमा रुपान्तर भयो कर्म कसैगरी बुझ्न सकिंदैन ।

रुकुमको एक सुदूर गाउँको स्कूलमा १० कक्षासम्म पढेको मूल पात्र कर्मको बौद्धिक क्षमता अपत्यारिलो, अविश्वसनीय र नमिल्दो छ । कर्मले बोल्ने भाषा पनि कतै ग्रामिण रैथानेको रुपमा छ त कतै सारसौंदो नेपालीले बोल्ने जस्तो छ, त्यसमा एकरुपता नभएकाले त्यही पात्रको बोली हो कि कुनै अर्कोको हो पाठक रनभुल्ल हुन्छन् । भर्खर अमेरिका पुगेर वकिलकहाँ पुगेको कर्मले भनेका कुराहरु पनि उसको बौद्धिक हैसियत र ज्ञानभन्दा निकै टाढाको कुरा हो ।

त्यस्तै कथा भन्ने क्रममा म पात्र भएको कर्मले आफ्नो कथा बताएको हो कि अरु कसैले कसैको त्यो भेउ नपाइने प्रसङ्गहरु पनि प्रसस्त छन् । जस्तो,

१. “कति सुन्दर थियो मेरो गाउँ ! मिथकहरुमा उल्लिखित स्वर्गजस्तै ।”( पेज-१६)

२. “मैले कोशी सम्झन पुगें यतिवेला, गण्डकी सम्झन पुगें र महाकाली सम्झन पुगें । सन् १९५० को सन्धीको यादले म फेरि भावविभोर बन्न पुगें । कालापानी, दोधारा-चाँदनी सम्झँदा म विक्षिप्त भएँ ।” (पेज ९७)

३. “विज्ञान र प्रविधिको विकासले संसारलाई कति साँघुरो बनाइदिएछ, म आश्चर्यचकित भएँ ।”(पेज १०८)

४. “मान्छेहरु कृत्रिम लागे । रोबर्टजस्ता लागे मान्छेहरु र मान्छेजस्ता लागे रोवर्टहरु । रगतविनाका रोवर्टहरु । सास फेर्न बिर्सेका रोवर्टहरु ! खानेकुरा मात्रै होइन, हरेक वस्तुहरु कृत्रिमताले भरिपूर्ण रहेछन् यहाँ ।”(पेज १६२)

५. “कसैको वर्कपरमिट एप्लाई गर्नुपर्थ्यो । ग्रीनकार्ड फाइल गर्न, परिवारको आवेदन भर्न, सिटिजनसिप निवेदन फारम भर्न, वर्क परमिट रिन्यू गर्न, ठेगाना चेञ्ज गर्न, अदालतबाट आएका चिठीका बारेमा सोधपुछ गर्न, त्यसको फलोअप गर्न सबै कामको निम्ति लयर्स नै चाहिने ।“ (पेज १८२)

उपन्यासमा वर्णित कतिपय कुराहरु यथार्थसँग मेल खाने देखिंदैन र अविश्वसनीय लाग्छन् । जस्तो,

१. “अर्को वर्ष हाइस्कूलका दस जना मास्टरहरुलाई स्कुलमा एकै पटक मारे सेनाहरुले ।” (पेज १९)

२. “कि त माओवादी जनयुद्धमा सरिक हुनुपर्थ्यो कि सरकारी सेनामा ।”(पेज २०)

३. “युद्धविरामको प्रक्रिया सुरु भएपछि कतिपय सेनाहरु शाही सेनामा भर्ती भए ।” (पेज ३६)

४. “म पनि ढल्थें होला, पच्चीस लाख बोण्ड तिर्नु परेको भए । दलाल खर्च, बोण्डसहित भारतीय यात्रुहरुका जस्तै उसको पनि झण्डै करोड पुग्यो ।”(पेज १५१)

माओवादी आन्दोलनको बेला सेनाले एकै स्कुलका १० जना शिक्षकलाई एकैपल्ट मारेको घटना कतै घटेको थियो र ! हो, त्यतिबेला बिद्रोहीहरुले आफ्नो तथाकथित सेनामा भर्नाका लागि बाध्य बनाएका घटना यथार्थ हो ।

तर नेपाली सेनामा भर्नाका लागि बाध्य गराउने भन्ने कहिल्यै भएन र युद्धविरामको प्रक्रिया सुरु भएपछि शाही सेनामा भर्ती भए भन्ने कुरा पनि मिल्दैन ।

केही सङ्ख्यामा सेना समायोजन मार्फत् नेपाली सेनामा गएका हुन् । पच्चीस लाख बोण्ड तिर्नु पर्ने कुरा पनि सत्य र यथार्थ होइन । उपन्यासमा कल्पना गर्न त पाइन्छ, तर तथ्यलाई अविश्वसनीय ढङ्गले प्रस्तुत गर्नु उपयुक्त मानिंदैन ।

कर्मले पहिलो दिन ग्यास स्टेशन (एक प्रकारको पेट्रोल पम्प सानो खुद्रे दोकानसहितको) मा काम गर्दाको अनुभव यस्तो छ,

१. “बर्गर, पिज्जा सबै कृत्रिमताले सजिएको ठाउँ । पिज्जा बर्गरमा बाँचेको समाज रहेछ ।” (पेज-१६१)

२. “स्टोर बन्द गर्ने अनुमति थिएन । रातभरि पिसाब सहेर बसिरहें ।” (पेज -१६१)

३. “सामान किन्ने र चोरी गर्नेहरुको सङ्ख्या उस्तै हुन्थ्यो । एकनजाले किन्थ्यो, अर्कोले चोर्थ्यो । कोही चोर्न मात्र आउँथे ।” (पेज १६१)

पहिलो कुरा त कुनै ठाउँको जानकारी नभएर सोझै बस चढेर अन्तिम स्टपमा ओर्लेर पहिलो दिन काममा पुग्नु हदैसम्मको अविश्वसनीय कुरा हो । कोलोराडोको डेन्भरको कुनै बस चढेर ओर्लने ठाउँको जानकारीबिना काम गर्ने ग्याँस स्टेशन कुनै एकदमै नौलो आगन्तुक व्यक्ति कसरी पुग्न सक्छ ?

त्यस्तै कामै नजानेको मान्छेलाई एक्लै रातभरि काममा के कुनै ग्याँस स्टेशनका मालिकले काममा छोड्ला ? अनि शौचालय पनि जान नमिल्ने गरी कोही रातभरि काम गर्न कति सम्भव र यथार्थको नजिक होला, कुनै हिसाबले पनि विश्वसनीय मान्न सकिंदैन । पहिलो दिनको यो अनुभव वर्षौंको अनुभवीको जस्तो कसरी हुन्छ ?

उपन्यासमा कर्मको रुममेट रोल्पाली गणेशको आनिबानी यस्तो छ, “तलब बुझेको दिन उनी किनमेलका लागि निस्कन्थे । महँगा ल्यापटप, फोन, आइपोड, आइप्याड, खानेकुरा, ब्राण्ड अनुसारका जुत्ता, लुगाफाटो, कोलोन । दिनभरि किनमेल गर्थे ।, बेलुका रित्तो हुन्थे । सम्पूर्ण रुपमा रित्ता । एक पटकको जिन्दगीमा मोज नगरे कहिले गर्ने ?” उनी सानपूर्वक भन्थे ।“(पेज १९६)

एउटा सामान्य शारिरीक काम गर्ने नेपालीले यसो गर्न सक्छ भन्ने कुरा अमेरिकाका कुनै पनि नेपालीले पत्याउन सक्दैन, अमेरिका नआएका अबोध पाठकलाई भने पक्कै गजबको भ्रम दिन्छ यसले ।

उपन्यासमा अमेरिकी नागरिकता लिँदाको जुन शर्त उल्लेख गरिएको छ, त्यो असत्य मात्र होइन, आपत्तिजनक पनि हो । लेखिएको छ;
“मेरो देशको हरियो पासपोर्ट खोसियो । ट्र्यासमा फ्याँकिएको देख्न सकिनँ मैले । महसूस गरें, पासपोर्ट होइन, मेरो देश ट्र्यासमा फ्याँकियो । मेरो देशको गौरव फ्याँकियो ।“(पेज २१५)

यो पूर्णतः असत्य हो । अमेरिकी नागरिकताका लागि योग्य भए पछि निश्चित प्रक्रिया पूरा गरेर नागरिकता लिन पाइन्छ । अमेरिकी नागरिकता लिन योग्य हुँदैमा लिनै पर्ने बाध्यता हुँदैन । यो लिन चाहनेको स्वेच्छामा भर पर्छ । नागरिकता प्राप्त गर्ने दिन आफूसँग भएको ग्रिनकार्ड फिर्ता गर्न आग्रह गरिन्छ । पहिला जुन देशको नागरिक भए पनि त्यो नागरिकताको प्रमाणपत्र खोसिंदैन । पासपोर्ट पनि खोसिंदैन । पासपोर्ट ट्यासमा फ्याँकिने कुरा अकल्पनीय हो । लेखकले यति गम्भीर तथ्य किन यति हल्का ढङ्गले लिए, आश्चर्यजनक छ ।

प्रस्तुत उपन्यास पाताललाई “नेपालबाट हिँड्दै अमेरिका पुग्ने साहसी बेरोजगारहरुको कथा, अनुसन्धानमूलक, विश्वका धेरै गरिब युवाको कथा” भनेर दाबी गरेर विज्ञापित गरिएको छ । यो नेपालबाटै हिँड्दै अमेरिका पुग्ने युवाको कथा होइन । नेपालबाट रुस, स्पेन, बोलिभिया प्लेनमा उडेर गएपछि बस, डुङ्गा आदिमा र कतिपय ठाउँमा हिँडेर अमेरिका पुगेका हुन् ।

नेपालबाटै हिँड्दै अमेरिका पुगेका होइनन् । त्यस्तै विश्वका धेरै गरिब युवा पनि भन्न मिल्दैन । तीसौं लाख देखि झण्डै करोडसम्म खर्च गरेर अमेरिका जान चाहनेहरुलाई विश्वका धेरै गरिब कसरी भन्न सकिएला ? त्यस्तै उपन्यास आद्योपान्त पढिसक्दा यस उपन्यासलाई कसरी अनुसन्धानमूलक भनिएको हो बुझ्न सकिंदैन । उपन्यासमा अनुसन्धानमूलकता कतै दृष्टिगोचर हुँदैन ।

उपन्यासका मूल पात्र कर्म जुन परिवेश र कारण देखाएर नेपाल फर्केका छन् र साथमा अर्का पात्र करुण, त्यो कल्पनातीत लाग्छ । त्यस्तै “च्यातें विदेशी नागरिकताको खोस्टो र आफ्नै देशको नागरिकता छातीमा टाँसेर हिंडें, गर्वका साथ उन्मुक्त बनेर ।“(पेज २५०) भन्नु पनि भावनात्मक कुरा त होला, प्रक्रियागत रुपमा मिल्ने कुरा होइन । अमेरिकी नागरिकता च्यात्दैमा अमेरिकी नागरिकता च्यातिँदैन र नेपाली नागरिकता पुनर्बहाली भइहाल्दैन ।

कर्म २० वर्ष अमेरिका बसे पनि “मिहिनेत गर्‍यौं तर त्यसले कहिल्यै सार्थकता पाउन सकेन ।“( पेज २५२) भन्ने उसको निष्कर्ष छ । नेपाल आएर “हिँडेर विदेश जानु हुँदैन” (पेज २५२) भन्ने अभियानमा लागेको छ । “विभेद, अन्याय, अत्याचार, शोषणको विरुध्द” (पेज २५२) लडिरहेको छ र उसको निष्कर्ष छ, “विदेशिएका लाखौं-लाख युवा फर्कनेछन् आफ्नै देश र कुदाउनेछन् डाँडाभरि रेलगाडी, खुलाउनेछन् विकास ।

हिमाली टुप्पा-टुप्पामा बिजुली पुग्नेछन् । पहाडका टुप्पा-टुप्पामा रेल र केबुलकार कुद्नेछन् । बिजुलीका तारहरु लटरम्म झुलेका हुनेछन् । विकास खोज्न विदेश धाउनु पर्दैन भन्ने युवाहरुमा चेतना फैलिएको छ ।“ (पेज २५२-२५३) । पाठकलाई लाग्छ- अहा ! कति मज्जाको स्वप्नवत् !

समग्रमा उपन्यासले दुःख देखाउन खोजेको छ, पीडा देखाउन खोजेको छ र अन्त्यमा सुखद बनाउन खोजिएको छ तर उपन्यासको संरचना भत्किएको छ । शैली भत्किएको छ । यथार्थ भत्किएको छ । आगामी उपन्यास सबल रुपको आवोस् भन्ने शुभकामना !

१३ जुन २०२४, फल्स चर्च, भर्जिनिया, अमेरिका ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?