+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
तर्क/वितर्क :

शास्त्रमै जातीय विभेद थियो, ‘पुजार सार्की’ले देखेन

राजनीतिक परिवर्तनबाट मात्रै जातीय विभेद हटाउन सकिन्छ भन्ने पुजार सार्की सिनेमाको मूल तर्क ठिक छ, तर कथावस्तुमा घोत्लिंदा प्रगतिशीलताको फेरो समातेर ब्राह्मणवाद नै देखाउन खोजियो कि भन्ने संशय भेटिन्छ ।

गोविन्द विक गोविन्द विक
२०८१ असार ५ गते १२:३५

दिनेश राउतले निर्देशन गरेको सिनेमा पुजार सार्की यतिबेला चर्चामा छ । अन्तरजातीय प्रेम, हिन्दु धर्म र त्यसबाट सिर्जित जाततन्त्रको मुद्दामा चलचित्र केन्द्रित छ । आचार्य अध्ययन गरेर आएका पण्डित पुजार र मन्दिरमा सफा गर्ने माया सार्कीबीचको प्रेममा आउने उतारचढाव उनीहरूबीचको अन्तरजातीय प्रेमको रागलाई चलचित्रमा मुख्य विषय बनाइएको छ ।

मन्दिरमा अलपत्र भेटेपछि पालनपोषण गरी दमाई परिवारले हुर्काएका मैते र जनजाति थरकी युवतीसँगको प्रेम अनि विवाहको लागि संघर्ष शास्त्र पढेपछि बाहुन भइन्छ भन्ने मैतेको दिमागमा राखिएको भ्रम समानान्तर कथाको रूपमा आएको अर्को सहायक कथा चलचित्रमा उतार्ने प्रयत्न गरिएको छ । यो स्वाभाविक पनि हो ।

पुजार सार्की चलचित्र हेरेपछि चलचित्रको दृश्यमा घोत्लिंदा विशेषगरी यस चलचित्रले जातको आधारमा हुने सामाजिक विभेदको चित्रण गर्नु, अन्तरजातीय प्रेम विवाह समाजले स्वीकार गर्नुपर्ने पक्षमा मौन विद्रोह र परिवर्तनका लागि संघर्ष अझै आवश्यक भएको र २०४७ सालको परिवर्तनपछि पनि उपल्लो जातको समुदाय नै शासकीय चरित्रमा हावी भएको तितोसत्य देखाइएको छ ।

मन्दिरमा पूजा गर्दा दमाहा बजाउने चलन, दमाहा बजाएन भने पूजा सफल नहुने विश्वासलाई चलचित्रमा देखाइयो, तर दमाहा बजाउने यसको महत्वको पक्ष चलचित्रमा गौण बनाइयो । अनि दलित समुदायमाथि चलचित्र बनाउँदा प्रेम कथा बाहेक अरू नदेख्नु समाजशास्त्रको बुझाइमा निम्छरो सावित छ ।

चलचित्रमा बग्रेल्ती कमजोरी हुँदाहुँदै पनि दलितका सवालमा जातीय विभेदका विरुद्धमा चलचित्र बनाएकोमा ‘पुजार सार्की’ निर्माण समूह धन्यवादको पात्र त छँदैछ । कथामा २०४७ सालको जनआन्दोलनअघिको परिवेश देखाइयो तर अहिले पनि अन्तरजातीय बिहे गर्दा दलितलाई ज्यानको खतरा भएको कुरा हामीमाझ जीवितै छ । दलितलाई धार्मिक शास्त्रबाट वञ्चित गरिएको पनि सत्य नै हो ।

पण्डितले सार्की थरकी युवतीसँग प्रेम गर्नु प्रगतिशीलता हो जातीय विभेद विरुद्धको सामाजिक विद्रोह हो । पण्डितलाई प्रगतिशील र पिछलग्गु समाजको रूपान्तरणकारी नयाँ पुस्ताको रूपमा देखाउन चलचित्रले निकै प्रयास गरेको छ । कैयौं कालखण्डमा भएको हुँदै आएका राजनीतिक परिवर्तनपछिको नेतृत्वले पनि दलितका मुद्दालाई पाखा लगाएको जातीय विभेद हटाउने सवाललाई छायाँमा पारेको सबै आ–आफ्नै डम्फू बजाउँदै धर्मको टेको समाउन पुगेको कुरा सबैमा छर्लङ्गै छ ।

दलित समुदायका मुद्दालाई स्वार्थ सापेक्ष प्रयोगको प्रचलन हिजो पनि थियो, आज पनि जारी छ । जातीय विभेदको समस्या समाधान राजनीतिबाट मात्रै सम्भव छ भन्ने भाष्य पनि सत्य हो, तर चलचित्रको कथावस्तुमा घोत्लिंदा प्रगतिशीलताको फेरो समातेर ब्राह्मणवादी चरित्रको पुनरावृत्ति गर्न खोजिएको हो कि भन्ने संशय भेटिन्छ ।

पुजार सार्की चलचित्रमा धार्मिक शास्त्रले उँच–नीचको भाव राखेकै छैनन्, यो त समाजनिर्मित कुरा हो भन्ने भाष्य स्थापित गर्न खोजेको देखिन्छ । अहिलेको सामाजिक व्यवहार हेर्दा भने त्यस्तो भेटिंदैन । कुल–पितृ–देउता सबै धर्मसँग साइनो जोडिएको हुन्छ ।

दलितले छोएमा, दलितसँग लसपस गरेमा कुल रिसाउँछन्; पितृ विटुलो हुन्छन् भन्नु नै धर्मको आधार हो । देउता धर्मसँग जोडिएको हुन्छ, धर्म सामाजिक अभ्याससँग जोडिएको हुन्छ भने सामाजिक अभ्यास विभेदसँग जोडिएको हुन्छ, विभेद जातसँग जोडिएको हुन्छ । अहिलेको समाजको परिदृश्य यही नै हो । पंक्तिकारको भोगाइ छ, देउता रिसाउँछन् भनेर बाहुनको आँगनै टेक्न नहुनेसम्मको भोगाइ शास्त्रकै लय हो । शास्त्रको विभेदयुक्त निर्देशनलाई सहज रूपमा पछ्याइरहेको अनुभव छ ।

दलित समुदायको मुक्तिको संघर्ष नेपालको प्रजातान्त्रिक आन्दोलनभन्दा पुरानो हो । यसले अझैसम्म बृहत् रूप लिन नसकेको सत्य हो । जातीय विभेद विरुद्ध हजारौं अभियन्ताले जीवन समर्पित गरेका छन्, कतिले ज्यानको आहुति दिएका छन् तर, ती योद्धालाई पूरै नजरअन्दाज गरेर चलचित्र बनाउनु निर्माण पक्षको गम्भीर त्रुटि हो भन्न कठिन छैन ।

दलित आन्दोलनलाई तोडमोड गर्न खोज्नु समाज रूपान्तरणका लागि दलित समुदायले दिएको योगदानको अपमान मात्रै हैन, सिंगो व्यवस्थामाथिको प्रहार पनि हो । चलचित्रमा मैतेको चरित्रले दर्शक हँसाउने भन्दा अरू केही गरेको छैन । मैतेको भूमिकाले कुनै पनि दलित समुदायलाई न्याय गर्दैन र अभिनय स्वाभाविक पनि छैन । दलित समुदायको मजाक गरेको मेरो ठम्याइ छ ।

नेपालको इतिहासलाई केलाउने हो भने करिब २६०० वर्षदेखि जात व्यवस्था नेपाली समाजले अभ्यास गर्दै आइरहेको तितोसत्य हामीबाट लुकेको छैन । करिब ७०० वर्षअघि उपत्यका आएका बाहुनहरूले राजा जयस्थिति मल्ल मार्फत १४औं शताब्दीमा छुवाछूत र जातप्रथा कायम गराउन वर्णवादी व्यवस्था लादिएको थियो जुन आधार धर्मसँग प्रत्यक्ष साइनो थियो ।

राजा जयस्थिति मल्लको पालादेखि यता करिब ५०० वर्षमा १८ वटा मात्रै जाति भएको इतिहासमा जंगबहादुर राणाले वि.सं. १९१० मा नेपालको पहिलो लिखित कानुनको रूपमा मुलुकी ऐन जारी गरी हिन्दु धर्ममा आधारित वर्णवादी व्यवस्थालाई संस्थागत गरेको कुरा इतिहासले लुकाएको छैन ।

हिन्दु धर्मको मूल ग्रन्थमध्ये सबैभन्दा पुरानो ऋग्वेदको दशौं मण्डलको पुरुष सत्ता ९० मा ब्राह्मण, क्षत्री, वैश्य र शूद्र गरेको पाइन्छ । त्यसैले त्यस विराट पुरुषको मुखबाट ब्राह्मण, पाखुराबाट क्षत्री, तिघ्राबाट वैश्य र पैतालाबाट शूद्र अर्थात् दलितहरूको उत्पत्ति भएको हो भनी परम्परागत मान्यता प्रस्तुत गरिएको छ ।

यस कुराको अनुवाद र व्यख्यामा हिन्दुहरूबीच नै एकमत छैन । सुरुमा वर्ण व्यवस्था पेशाका आधारमा थियो । बाबुबाजेले गरेको नै पेशा सन्तानले गर्नुपर्ने बाध्यात्मक स्थिति पहिला थियो । वर्ण व्यवस्थाले ब्राह्मण, क्षेत्रीलाई फाइदा पु¥याए पनि वैश्य र शूद्रलाई हीनताबोध र आक्रोश बढायो । फलस्वरूप वैश्य र शूद्रले विद्रोह गरे । उनीहरूलाई दमन गरियो । समाजबाट बहिष्कार गरियो । भन्न खोजिएको कुरा के हो भने यसमा पनि धर्मको साइनो कहीं न कहीं छँदैछ भन्ने हो ।

मनुस्मृति अध्याय–२ को ३१ श्लोकमा लेखिएको छ कि ब्राह्मणले मंगलसूचक जनाउँछ, क्षेत्री जाति शक्तिसँग सम्बन्धित छ, वैश्य सम्पत्तिसँग जोडिएको छ भने शूद्र तुच्छ र नीच भनेर भनिएको छ । मनुस्मृतिको अध्याय ८ श्लोक ४१७ मा लेखिएको छ कि शूद्रले सम्पत्ति राख्न पाउँदैन, शूद्रले सम्पत्ति राख्ने कुरा ब्राह्मणको लागि लाभदायी हुँदैन त्यसैले ब्राह्मणले उसको सम्पत्तिमाथि हस्तक्षेप गर्न सक्नेछ जस्ता विभेदपूर्ण कुरा सिकाउने धर्म नै हो । धर्मको आस्थाले विभेदलाई यथास्थितिमा राख्न ठूलो बल पुगेको हामीबाट छिपेको छैन, यी र यस्ता विषयमा चलचित्र मौन छ

शास्त्र सबै सही छ, शास्त्रले विभेद गर्दैन भन्ने भ्रम स्थापित गर्न खोज्नु चलचित्रको निम्छरो परिदृश्य हो । जातीय विभेदको अन्धकारमय परिवेशमा नयाँ पुस्ताको विभेदमुक्त समाजको अपेक्षालाई निराशा छाएको अनुमान ताजै छ ।

धर्मको अडेसामा शास्त्र अध्ययन गरेका नयाँ पुस्तालाई कुल–संस्कार जोगाउनका लागि पनि समाजले अभ्यास गरेका कुरीतिलाई कुनै न कुनै तवरबाट निरन्तरता दिइएको सत्य हो जुन कुरा विस्तारै परिवर्तन हँुदैछ भन्ने भाष्यले छोपेको पाइन्छ । जातीय विभेद अन्त्यका लागि राजनीतिक मुद्दा बनाउनुपर्ने÷बन्नुपर्ने सवाल नकार्न सकिन्न तर राजनीतिभित्र पनि प्रदूषित नैतिकताको खडेरी जिउँदैछ ।

आजसम्म दलितले भोग्दै आएका जातीय विभेदको एउटै मात्र जड भनेको धर्म र त्यसले सिकाएको सामाजिक अभ्यास कुल देउताको अदृश्य त्रास र भय नै हो भन्ने कुरालाई भुलियो भने सबैभन्दा कमजोर पक्ष हुनेछ ।

ब्राह्मण पुजारले आफ्नो थर बदलेर सार्कीमा घटुवा हुन्छन् त्यो प्रवृत्ति मनोगत विचलन हो यसले सिंगो जाततन्त्रको इतिहास केलाउनमा निर्माण पक्ष चुकेको मात्रै छैन चलचित्र हेर्ने दर्शकको मगजमा शास्त्रले जातीय विभेद गर्दैन भन्ने गलत भाष्य छिराउने भरपूर प्रयास गरेको छ ।

अन्त्यमा, पुजार सार्कीले दलित समुदायको मुद्दामा चलचित्र निर्माण गरेको छ तर पनि चलचित्रले ब्राह्मणवादकै भाष्य घुमाउरो ढंगले स्थापित गर्न खोजेको छ । चलचित्रका निर्देशक, लेखकले राजनीतिमा दलितका मुद्दा उठाउने वैचारिकताको खाँचो छ भन्ने कुरालाई महसुस गर्न/गराउन खोजेका छन् । गहिराइमा पुगेर विभेदको जरो उखेल्ने हिम्मत भने गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?