‘पैसा तँसँग
पैसा मसँग’
यो गीत पछिल्लो एक वर्ष हामीले जताततै सुन्यौं। अघिल्लो वर्ष असोज १ गते कुशल पोखरेलको युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीतले अघिल्लो र यो वर्षका चाडपर्व ततायो। दशैं र तिहारमा यो गीतमा टिकटक, रिल्स र अन्य भिडियो बनाउने ट्रेन्ड चल्यो । नेपालमा मात्रै होइन भारतीय कन्टेन्ट क्रियटरहरुले समेत यो गीतमा रिल्स र भिडियोहरू बनाएका छन्। यो गीत अहिले पनि उत्तिकै चल्तीमा छ।
केही महिना अगाडि भारतका लोकप्रिय युट्युबर, कमेडियन तथा कलाकार भुवन बामको वेब सिरिज ‘ताजा खबर’ को सिजन २ मा समेत यो गीत समावेश भएपछि यसको चर्चा अझै अर्को तहमा पुगेको छ।
कुशलको आफ्नो च्यानलमा मात्रै यो गीत ५८ मिलियन पटक हेरिएको छ। त्यति मात्रै होइन उनी स्पोटिफाइमा मिलियन मासिक श्रोता हुने पहिलो नेपाली गायकमध्ये एक बने। यो गीत हिट भएयता कुशललाई लाग्छ- सोचेको/चाहेको कुरा पूरा हुने रहेछ।
विराटनगरमा जन्मे-हुर्केका कुशललाई सानैदेखि सर्पहरू मन पर्थ्यो। स्कुल पढ्दाताका नै उनको सपना थियो सर्प विज्ञान पढ्ने। तर सबै कुरा आफूले सोचेको अनुकूल हुँदैन। विराटनगरमा नै प्लस टु सिध्याएर कुशल अस्ट्रेलिया पुगे। उनकै भाषामा भन्नु पर्दा भाग्यले उनलाई अस्ट्रेलिया पुर्याएर फेरि नेपाल नै फर्कायो। नेपाल फर्किएर कला क्षेत्रमै केही गर्छु भन्ने थियो। त्यही मनले उनी आफ्नै थलो फर्के।
यता नेपालमा उनको फुपूको छोरो जय खतिवडा सानैदेखि अभिनयमा रुचि राख्थे। जयको आफ्नै युट्युब च्यानल थियो। कुशल नेपाल आएपछि उनीहरू मिलेर त्यही च्यानलमा कमेडी भिडियोहरू बनाएर हाल्ने गर्थे। तर एक दिन उनीहरूले त्यो च्यानल डिलिट गरिदिए।
त्यसपछि कुशलले २०१७ मा आफ्नै च्यानल सुरु गरे। सुरुवाती दिनहरूमा उनले गीत गाएरै १ हजार सब्स्क्राइबर बनाए। त्यसपछि फेरि जयसँग मिलेर एउटा कमेडी भिडियो बनाए। उक्त भिडियोले राम्रो प्रतिक्रिया पायो। त्यसपछि उनीहरूले सबै चिज छाडेर कमेडी भिडियोलाई नै निरन्तरता दिन थाले।
त्यसपछि विस्तारै उनीहरूको च्यानलमा सब्स्क्राइबर र काम गर्ने जाँगर पनि बढ्दै गयो। उनीहरू दुवै मिलेर स्क्रिप्ट तयार पर्थे, अभिनय पनि दुवै जनाले गर्थे, क्यामेरा, भिडियो सम्पादन लगायत अन्य सबै काम कुशलले गर्थे।
व्यक्तिगत रूपमा उनी आफूलाई कमेडियन मान्दैनन्। कला क्षेत्र उनको रुचिको विषय भए पनि खासमा कमेडी उनको रुचिको विषय समेत थिएन। यो त्यो नभनी, जे जे आउँछ सबै गर्ने भन्ने उनको मान्यता थियो। उनलाई भिडियो सम्पादन पनि निकै मन पर्छ। उनी भन्छन्, ‘कहिलेकाहीं सबै चिज छाडेर सम्पादनतिर लागौं कि जस्तो समेत लागिरहन्छ।’
आजकल कुशलको च्यानलमा १ मिलियन भन्दा धेरै सब्स्क्राइबरहरु छन्। उनी अझै कमेडी भिडियोहरू बनाइरहन्छन्। आजकल भने उनले भिडियोमा अभिनय गर्दैनन्। जय र उनका साथीहरू जो फिल्म क्याम्पस पढ्छन्, जसलाई अभिनयमा रुचि र क्षमता समेत छ उनीहरूलाई ठाउँ दिनुपर्छ भन्ने सोचेर उनी लेखन र निर्देशनको पाटो सम्हालिरहेका छन्।
गीत भने कुशल स्कुल पढ्दादेखि नै लेख्थे। ‘पैसा’ लेख्नु भन्दा अघि उनले तीन चार वटा गीत लेखे, रेकर्ड भने गरेनन्। कागजमै ती गीत कता हराए। ‘पैसा’ पनि उनले गीत लेख्छु नै भनेर बसेर लेखेको गीत थिएन। उनीहरूले आफ्नो च्यानलमा हिप-हप रियालिटी शोको प्यारोडी भिडियो बनाएका थिए। त्यो भिडियो बनाउँदा उनीहरू आफूलाई फ्रि छाडिदिन्थे, रमाइलो गर्थे। एक दुई लाइनहरू भन्थे।
त्यही भिडियो बनाउने क्रममा उनलाई ‘पैसा तँसँग, पैसा मसँग’ भन्ने लाइनहरू आयो। त्यसपछि खाना खाँदै गर्दा उनले त्यो लाइनलाई केही बनाउन सकिन्छ कि भनेर बिटहरू हेर्दै लेख्न थाले। जसको नतिजामा ‘पैसा’ गीत बन्यो। त्यसपछि उनले साथीको स्टुडियोमा रेकर्ड गरेर च्यानलमा अपलोड गरे। उनी भन्छन्, ‘मैले केही सोचेर लेखेकै होइन। जिस्किंदा जिस्किंदै लेखेको गीत हिट भयो।’
उनलाई लाग्छ, गीत लेख्न या गाउन रुचि नै हुनुपर्दैन। कला र गला सबैसँग हुन्छ। हरेक मान्छेभित्र गीत हुन्छ। प्रयोग गर्न जान्नु पर्यो। आफूलाई चिन्नु पर्यो।
बलिउडमा पैसाको डेब्यु
कन्सर्टको लागि उनी नेपालबाहिर थिए। उनलाई भारतका चर्चित युट्युबर, कमेडियन तथा कलाकार भुवन बामको टिमबाट फोन आयो। भुवनको सिरिज ‘ताजा खबर’ पैसासँग सम्बन्धित थियो। त्यसैको दोस्रो सिजनको लागि उनीहरूले कुशलको पैसा गीत मागे।
पहिलो पटक उनीहरूको त्यस्तो माग सुनेर उनी चिच्याए। ‘त्यो पल म व्यक्त गर्न सक्दिनँ। सुरुमा त विश्वास नै लागिरहेको थिएन। कसैले जिस्काएको होला जस्तो लागिरहेको थियो। फेरि उनीहरूले त्यही गीत मागेपछि विश्वास लाग्यो’, उनी सम्झिन्छन्।
उनले कुनै समय बलिउडकै अर्को सिरिज ‘फर्जी’को आफ्नो गीत गाउने सपना देखेको थिए। ‘फर्जी’ शाहिद कपुर र विजय सेतुपति अभिनीत नक्कली पैसासँग सम्बन्धी सिरिज हो। भुवनको कल आउँदा उनलाई आफूले सोचेको भन्दा ठूलो खुसी मिल्यो।
‘ताजा खबर’को सिजन २ रिलिज भइसकेको छ। भुवनले कुशललाई भारतमा मिडिया र दर्शकको अगाडि नेपाली गायक जसको गीत निकै हिट छ भनेर परिचित गराएका थिए। कुशलले भारतमा कन्सर्ट समेत गरिसकेका छन्। भारतसँगै उनले दुबई र अस्ट्रेलियामा समेत कन्सर्टमा गीत गाएर आइसके। अझै थुप्रै देशमा जाने उनको तयारी छ।
यता उनले नेपाली फिल्महरूको लागि समेत प्रोमोशनल गीतहरू समेत बनाइरहेका छन्। भर्खरै प्रदर्शनमा आएको चलचित्र बेहुली फ्रम मेघौलीको लागि उनले ‘बिहे गर्ने कि नगर्ने’ भन्ने गीत गाएका थिए। साथै उनले फिल्म ‘खजुरे ब्रो’को लागि पनि गीत गाएका छन्।
अहिले उनले आफ्नो च्यानलमा कमेडी भिडियो र गीतलाई सँगसँगै लागिरहेका छन्। उनी भन्छन्, ‘गीत या कमेडीमा यो गर्छु, त्यो गर्छु भन्ने बानी छैन। गीत गरिरहेकै छु। मोबाइल चलाउने समय घटाएर गीत लेख्छु। कमेडीको स्क्रिप्ट लेख्यो, खिच्यो।’
उनलाई मानिसहरूले आफूलाई भन्दा नि कामलाई चिनिदेओस् जस्तो लाग्छ। ‘कहिलेकाहीं यस्तो लाग्छ कुशल पोख्रेल नलेखेर कुशलको काम लेखेर आइडी बनाऔं’, उनी थप्छन्।
उनको विचारमा जीवनमा कुनै काम पनि ठूलो या सानो छैन। कलाकार बन्नु या अर्को कुनै पेशामा लाग्नुले केही पनि फरक पर्दैन। उनी भन्छन्, ‘बुवाआमालाई आफ्नो सन्तानले सपना देखेको र त्यो सपना पूरा गरेको मन पर्छ। जे बने पनि आफ्नो खुट्टामा उभिन सक्छ भने बुवाआमाले कोही सन्तानलाई रोक्दैनन्। मिहिनेत र धैर्य गर्यो भने बाटो भेटिन्छ।’
जहाँ पुगे पनि उनको सर्प विज्ञान पढ्ने चाहना भने अझै उत्तिकै छ। के कुराले उनी सर्पहरूप्रति आकर्षित भए उनलाई याद छैन। तर कुनै दिन आफूलाई समय दिएर पढ्ने रहर भने मनमै छ ।
प्रतिक्रिया 4