+
+
फिल्म समीक्षा :

एउटा विद्रोही गन्धर्व सपनाको कथा

बाबु चाहन्छ– आफूले जे भोग्यो त्यो उसको सन्तानले नभोगोस्। ऊ आफ्नो छोरोलाई शिक्षा दिएर सामाजिक सीमाहरूबाट मुक्त गराउन चाहन्छ। उसको चाहनालाई न त समाजले मन पराउँछ न उसको अवस्थाले नै।

अन्शु खनाल  अन्शु खनाल 
२०८१ कात्तिक १७ गते ८:५४

हरेक बुवा-आमाको चाहना हुन्छ, छोराछोरीको नामबाट चिनिने। उनीहरूले आफूले भन्दा धेरै चिज गरुन्/देखुन् भन्ने लाग्ने। त्यसका लागि बाबु-आमा जे पनि गर्न सक्छन्। उनीहरूका लागि सन्तानको सफलता नै सबैभन्दा ठूलो सम्पत्ति हो। तर न त सबै छोराछोरी बुवा-आमाले सोचे जति सफल हुन सक्छन् न सबै बुवा-आमाले सन्तानको सफलता देख्ने अवसर नै प्राप्त गर्छन्।

झन् संरचनागत लाभांशको सबैभन्दा पिंधमा रहेको परिवारले आफ्नो सन्तानको सफलताको सपना देख्न समेत डराउनुपर्छ। त्यस्तो परिवारमा सपना र वास्तविकता बीचको खाडल यति गहिरो हुन्छ कि अभिभावकहरू आफ्ना सन्तानको भविष्यप्रति निराशा र असुरक्षाको भावनाले घेरिएका हुन्छन्। समाजको संरचनाले उनीहरूलाई निरन्तर दबाउँछ। त्यस्तो अवस्थामा हरेक प्रयास एक जोखिमपूर्ण सङ्घर्ष बन्छ, जहाँ सामाजिक बाधा र पूर्वाग्रहले सन्तानको उत्थानलाई निरन्तर चुनौती दिइरहेको हुन्छ। जसको परिणामस्वरूप, अभिभावकहरूले आफ्ना सन्तानलाई परम्परागत मार्गमै राख्न बाध्य हुन्छन्। तर पनि हरेक अभिभावक जस्तोसुकै अवस्थामा आफ्नो सन्तानलाई शिक्षा दिएर उसलाई पारम्परिक सीमाहरूबाट मुक्त गर्न चाहन्छ।

यस्तै एउटा गन्धर्वको छोराप्रतिको सपनाहरूको फिल्म हो ‘पूर्णबहादुरको सारङ्गी’। पूर्णबहादुरलाई बुवाले सारङ्गी रेटेरै हुर्काए। उसले पनि बुवाबाट सारङ्गीको हरेक कर्खा सिक्यो, मिठो गाउन सिक्यो। मान्छेका घर–घरमा गाएर हुर्कियो, बुवालाई पाल्यो। गएरै मन परेकी केटीसँग बिहे गर्‍यो। गिताङ्गेको छोरो हुनुमा उसलाई गर्व थियो। उसका हातका औंलाहरू सारङ्गीका तारमा नाच्दा, उसलाई त्यो केवल सङ्गीत मात्र होइन, आफ्नो अस्तित्वको इतिहास बोक्दैछु भन्ने लाग्थ्यो।

उसको चाहना थियो- छोरो जन्मियोस्। छोराले पनि सारङ्गी बजाउन, गाउन सिकोस्। छोरो त जन्मियो तर उसकी श्रीमती बाटुलीलाई छोराले सारङ्गी छोएको समेत मन पर्दैनथ्यो। ऊ चाहन्थी पूर्णले पनि अरु केही काम गरोस्। तर सारङ्गीको हरेक तार, हरेक धुनमा थियो उसको एक टुक्रा जीवन।

फिल्मको कथा निकै बलियो छ। यसले बाबु–छोराको सम्बन्धका धागो र सपनाको उडानलाई देखाएको छ। फिल्ममा एउटा दृश्य छ, पूर्णको छोराले लगाएको पुरानो स्कुलको सर्ट मास्टरले यो तिमीहरुले लगाउने कुरा होइन भन्दै फुकाल्न लगाउँछ, त्यसपछि उनीहरू घर फर्किंदै गर्दा कसैको खेतमा राखेको पुत्लामा स्कुलको सर्ट लगाइएको हुन्छ

छोराको भविष्यको लागि बाटुली जुन हदसम्म पनि जान तयार थिई। त्यसैले उसले यति कठोर निर्णय लिन्छे कि त्यो निर्णयले आफैंलाई यता न उताको बनाइदिन्छ।

सधैं हेपाइ र हेलाँमा हुर्केको पूर्णले एक दिन बुझ्छ, इज्जत त जात या वर्गमा नहुँदो रहेछ। इज्जत कमाउन सकिने रै’छ। ऊ चाहन्छ आफूले जे भोग्यो त्यो उसको सन्तानले नभोगोस्। ऊ आफ्नो छोरोलाई शिक्षा दिएर सामाजिक सीमाहरूबाट मुक्त गराउन चाहन्छ। उसको चाहनालाई न त समाजले मन पराउँछ न उसको अवस्थाले नै। गीत गाएर बिहान–बेलुका छाक टार्न धौ–धौ हुने अवस्थामा पूर्णले छोरालाई पढाएर डाक्टर बनाउने सपना देख्छ। यही कथा वरिपरि फिल्म बगेको छ।

फिल्ममा एउटा दृश्य छ, पूर्णको छोराले लगाएको पुरानो स्कुलको सर्ट मास्टरले यो तिमीहरुले लगाउने कुरा होइन भन्दै फुकाल्न लगाउँछ, त्यसपछि उनीहरू घर फर्किंदै गर्दा कसैको खेतमा राखेको पुत्लामा स्कुलको सर्ट लगाइएको हुन्छ। यही दृश्यपछि पूर्णको छोरालाई पढाउने चाहना बलियो हुँदै जान्छ। यो दृश्यमा देखाएको केवल लुगा होइन, यो हो एक जटिल सामाजिक संरचनाको प्रतीकात्मक अभिव्यक्ति।

यसले समाजमा शक्ति र वर्गीय भेदभावको एक सूक्ष्म र शक्तिशाली चित्रण गर्छ। यो दृश्यले व्यक्तिको अधिकार, सम्मान र अवसरहरू उनीहरूको जन्म र सामाजिक पृष्ठभूमिद्वारा निर्धारित हुन्छ भन्ने कुरालाई देखाएको छ।

यो फिल्मले अवसर, शिक्षा, सम्मान र भविष्यको असमानताको विषयलाई मिहिन ढङ्गले उठाएको छ। फिल्मको कथा निकै बलियो छ। यसले बाबु–छोराको सम्बन्धका धागो र सपनाको उडानलाई देखाएको छ। लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आएको फिल्मको सरोज पौडेलले लेखन तथा निर्देशन गरेका हुन्।

फिल्ममा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने लगायतको अभिनय छ। विनोद पौडेल र प्याट्रिक सुवेदी फिल्मको निर्माता हुन् ।

फिल्ममा खट्किएको एउटा पक्ष हो– महिला पात्रको निर्माण। चाहे त्यो पूर्णको श्रीमती बाटुली होस् या मुकुन भुसालको श्रीमतीको रूपमा सरिता शाहले निर्वाह गरेको पात्र होस्। बाबु र छोराको कथा देखाउँदा देखाउँदै फिल्ममा आमाको चरित्र छायाँमा परेको छ

यो फिल्मको सबैभन्दा सकारात्मक पक्ष हो पात्रको निर्माण। पूर्णबहादुरको चरित्रमा विजय बरालले आफूले निभाएको पात्रमा निकै मिहिनेत गरेको देखिन्छ। फिल्ममा उनका आँखाहरूले बोल्छन्, हातका औंलाहरूले गाउँछन्। हरेक हाउभाउ, हरेक मौनले एउटा पूरा कथा बताउँछ। फिल्मभरि उसको पात्र न कहिल्यै आवेगमा आउँछ न कहिल्यै रिसाएको नै देखिन्छ। जुन कुरा कथाको माग नै थियो। धेरै दृश्यहरूमा उनले लगाएको लुगा, उनका फोहोर भरिएका नङ, दाँतले समेत कथालाई बोकिरहेको देख्न सकिन्छ।

त्यस्तै मुकुन भुसालले निर्वाह गरेको पात्रलाई उनको अभिनयले न्याय गरेको छ। बुद्धि तामाङ र मुकुनको पात्रले पूर्णको साथीको भूमिकामा अब्बल काम गरेका छन्। साथी साथीमा हुने नोकझोक, अलिकति रिस, घुर्की र हल्का डाहा यी सबै चिज यी पात्रहरूमा देख्न सकिन्छ। छोराको भूमिकामा प्रकाश सपुतको काम प्रशंसायोग्य नै छ। आमाको भूमिकामा अञ्जना बराइलीको काम पनि सन्तोषजनक नै लाग्छ।

फिल्मको सङ्गीत निकै सुन्दर छ। हुन पनि गीत गाउनेहरूको विषयमा बनेको फिल्ममा गीत नै फितलो हुने कुरै भएन। फिल्मलाई सुरुवातदेखि अन्त्यसम्म गीतहरूले बाँधेर राखेको छ।

फिल्ममा खट्किएको एउटा पक्ष हो महिला पात्रको निर्माण। चाहे त्यो पूर्णको श्रीमती बाटुली होस् या मुकुन भुसालको श्रीमतीको रूपमा सरिता शाहले निर्वाह गरेको पात्र होस्। बुवा र छोराको कथा देखाउँदा देखाउँदै फिल्ममा आमाको चरित्र छायाँमा परेको छ।

उता सरिता शाहको पात्र भने फिल्मको बीचतिरबाट नै गायब हुन्छ। धेरै महत्त्वपूर्ण दृश्यहरूमा उपस्थित उसको पात्र बीचबाट एक्कासि देखिन छाड्छ।

अर्कोतिर भोलाराज सापकोटाले निर्वाह गरेको मास्टरको चरित्रमा विरोधाभास छ। मास्टर क्रान्तिकारी छन्। उनी क्रान्ति ल्याउन कस्सिएका छन्, सर्वहाराको पक्षमा बोल्ने भन्छन् तर उनको पात्रले सधैं पूर्ण र उसको छोरालाई हेपाहा व्यवहार गर्छ। सर्वहाराहरूको पक्षमा बोल्नेले एउटा गन्धर्वको परिवार/समाजलाई मान्छे नै गन्दैनन्। उनको पात्रले समाजको पाखण्डलाई प्रतिबिम्बित गर्दछ।

फिल्मको सिनेम्याटोग्राफी निकै सुन्दर छ। मेकअप, पोशाक, प्रकाश, कला निर्देशन फिल्मका बलिया पाटाहरू हुन्। फिल्मले २०४९ सालतिरको कथा देखाएको छ। सोही अनुसार फिल्ममा घरका भित्तामा झुन्ड्याइएका लालटिनदेखि लिएर राजारानीको तस्बिर जस्ता साना तर महत्त्वपूर्ण कुराहरूमा ध्यान दिएको देखिन्छ।

फिल्मले देशमा स्वास्थ्य उपचार, शिक्षा र रोजगारीमा सबैको समान पहुँच छैन भन्ने कुरालाई प्रस्ट परेको छ। समग्रमा ‘पूर्णबहादुरको सारङ्गी’ एउटा विद्रोही बाबुको कथा हो, जसले आफ्नो छोराले कुवाबाट निस्किएर पोखरीमा पुगोस् भन्ने सपना देख्छ। ‘पूर्णबहादुरको सारङ्गी’ केवल एक फिल्म मात्र होइन, यो एक सामाजिक दस्तावेज हो जसले हाम्रो समाजको गहिरा सामाजिक-सांस्कृतिक यथार्थहरूलाई प्रतिबिम्बित गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?