
‘माटोबाट सुरु भयो जीवन,
माटोमै सकिन्छ
गुँडमा कुर्छ बचेराले माउलाई
मान्छेले कुर्नु त एउटा सासै त रहेछ…’
नाजिर हुसेनको यी कवितात्मक पङ्क्तिहरूले सात वर्षअघि जन्माएको भावना आज ‘हरि हजुरबा’ नाटकको रूपमा मण्डला नाटकघरमा साकार भएको छ। थापागाउँको मण्डला थिएटरमा लामो समयपछि विजय बराल र नाजिर हुसेन एकै मञ्चमा देखिएका छन्। यो नाटकले नेपालको दशवर्षे सशस्त्र द्वन्द्वका गहिरा घाउहरूलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ।
कथा
एउटा पुरानो आँगन – जहाँ समयका पाइलाहरू रोकिएका छन्। पुरानो पालीले थामिएको घर, एउटा लौरो, केही पुराना ब्याट्रीहरू, एउटा रेडियो र रातो स्विटर – यी सबै मौन साक्षी बनेका छन् एक वृद्धको अनन्त प्रतीक्षाको। हजुरबा यहीं बसेर दिनहुँ रेडियोबाट नातिनी कोपिलाको फिर्तीको समाचार सुन्ने आशमा जीवन बिताइरहेका छन्।
विरहको पीडामा एक्लै बाँचिरहेका हजुरबाको जीवनमा अतीत र वर्तमान एकअर्कासँग जुधिरहेका छन्। यस्तैमा एक दिन उनको भेट हुन्छ हरिसँग- एक हुलाकी, जो गाउँ-गाउँमा चिठीहरू बाँड्दै हिंड्छ। दुई अन्जान पात्रको यो भेटले नाटकको कथालाई नयाँ मोड दिन्छ।
यसरी एउटा पुरानो आँगनको कथाले द्वन्द्वकालीन नेपालको त्रासदीलाई समेट्न पुग्छ। प्रतीक्षारत हजुरबा र चिठी बाँड्ने हुलाकीको भेटले खोल्दै जान्छ युद्धका नलेखिएका पीडाहरू। यो नाटक बेपत्ता पारिएकाहरूको मात्र होइन, तिनका परिवारको अनन्त प्रतीक्षाको कथा हो, जो दशकौंदेखि आशाकै सहारामा बाँचिरहेका छन्।
नाटकमा मूल कथासँगै विभिन्न उपकथाहरू जोडिएका छन्, जसले दर्शकको रुचिलाई निरन्तर जीवन्त राख्छ। हरेक दृश्यले अर्को दृश्यको उत्सुकता जगाउँछ। सत्यको खोजीमा पात्रहरूको यात्रा र अन्योलको प्रस्तुति अत्यन्त प्रभावकारी छ।
यता हरिको कथा पनि त्यस्तै एक प्रतीक्षाको कथा हो, जसरी हजुरबाको। उनी पनि आफ्ना बुवाआमाको प्रतीक्षामा छन्। चिठी बाँड्ने हरि अरूका सन्देश पुर्याउँछन्, तर आफ्नै जीवनमा सञ्चारको शून्यता छ। उनको बाटो हेराइ र हजुरबाको बाटो हेराइ एउटै बिन्दुमा जोडिन्छ- आशा र निराशाको दोसाँधमा।
यो नाटक द्वन्द्वोत्तर नेपाली समाजको एउटा महत्त्वपूर्ण दस्तावेज हो जसले समाजको वास्तविक चित्रण गर्दछ। यसले द्वन्द्वपछिको नेपाली समाजमा देखिएका विभिन्न परिवर्तन र चुनौतीलाई प्रस्तुत गरेको छ। नाटकले मानवीय सम्बन्धको जटिलतालाई विशेष रूपमा उजागर गरेको छ, जसमा पारिवारिक र सामाजिक सम्बन्धहरूमा आएको तनाव र द्वन्द्वको प्रभावलाई देखाइएको छ।
नाटकमा काव्यात्मक शैलीको प्रयोगले भावनात्मक अभिव्यक्तिलाई अझ गहिरो बनाएको छ। यसले द्वन्द्वको दीर्घकालीन प्रभावलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ।
नाटकको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको यसले आशाको सन्देश दिनु हो। कठिन परिस्थितिमा पनि आशा र सकारात्मकताको खोजी, मानवीय सम्बन्धहरूको पुनर्स्थापनाको सम्भावना र नयाँ समाजको निर्माणको दृष्टिकोण यसमा प्रस्तुत गरिएको छ। यसरी यो नाटक एउटा सशक्त कलात्मक अभिव्यक्ति बनेको छ जसले द्वन्द्वोत्तर नेपाली समाजको यथार्थलाई प्रस्तुत गर्नुका साथै मानवीय संवेदना र आशाको सन्देश पनि दिएको छ।
नाटकमा दुई पात्रको माध्यमबाट युद्धकालीन समयको यथार्थ चित्रण गरिएको छ। जब जङ्गलले नातिनी लगेको क्षण हजुरबाको स्मृतिमा घुम्छ, तब हरि पात्रलाई कोरसले बन्दुक र कालो पछ्यौरा दिएर विद्रोहीमा रूपान्तरण गर्छन्। यसरी नै सेनाले बेपत्ता पारेका पात्रको कथा भन्न भेष बदलिन्छ। त्यसरी नै हरिलाई जङ्गलले लगेको समयमा पनि हजुरबा पात्रलाई विद्रोही पात्रमा रुपान्तरण गर्छन्। यसरी यो नाटकले पात्रहरूको रूपान्तरण र स्मृतिको माध्यमबाट युद्धको विभीषिकालाई प्रस्तुत गरेको छ।
नाटकको अर्को विशिष्ट पक्ष हो – कोरसको बहुआयामिक प्रयोग। नाजिर हुसेनले ‘कुरूप हाँस’ देखि ‘हरि हजुरबा’ सम्म कोरसलाई नाट्य प्रस्तुतिको मेरुदण्डको रूपमा स्थापित गरेका छन्। मुखुन्डो लगाएको कोरसको काव्यात्मक उपस्थितिले युद्धमा गुमाएका जीवनहरूको प्रतिध्वनि बन्छ। मुखुन्डोहरूले वर्तमान र अतीतको बीचको सीमालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ। प्रकाश र संगीतले स्मृति र वास्तविकता बीचको सन्तुलनलाई देखाएको छ।
मुख्य पात्रको रुपमा नाजिर र विजयको अभिनय बलियो छ। हजुरबाको पात्रलाई विजयले न्याय गरेका छन्। नाजिरले पनि आफ्नो काममा मिहिनेत गरेको देखिन्छ। नजिरले आफ्नो लेखन, निर्देशन, परिकल्पना र अभिनय सबै पक्षलाई नाटक मार्फत बलियो ढंगले देखाएका छन्।
मञ्चमा यी दुईको हाँसिमजाकसँगै कोरसका कलाकारहरुको काम पनि निकै सुन्दर छ। संगीत र कोरियोग्राफीमा पनि नाजिरको मिहिनेतलाई अन्य कलाकारले साथ दिएका छन्।
सामान्य देखिए पनि मञ्चले कथालाई बोकेको छ। मञ्चमा देखिने साना–साना चिजहरु जस्तै गुन्द्री, पानी पिउने कलश, रेडियो र ब्याट्री जस्ता विवध कुराले दर्शकलाई नोस्टाल्जिक बनाउँछ।
यो नाटक मूलतः द्वन्द्वकालमा बेपत्ता भएका व्यक्तिका परिवारको पीडा र पर्खाइको कथा हो। नाटकले द्वन्द्वकालीन पीडा र त्यसको अन्तहीन प्रभावलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। यो नाटक द्वन्द्वपीडित परिवारको निरन्तर पर्खाइ र पीडाको प्रतीकात्मक अभिव्यक्ति हो। निर्देशकले कविता र कोरसको मिश्रण प्रयोग गरेर यस विषयलाई अत्यन्त मार्मिक र कलात्मक रूपमा प्रस्तुत गरेका छन्। नाटक पुस २८ गतेसम्म मण्डला थिएटरमा मञ्चन भइरहेको छ।
प्रतिक्रिया 4