News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा भारतस्थित सिभिकले आगामी जुन १२ देखि १४ सम्म काठमाडौंमा चौथो इन्टरनेसनल आयुष कन्क्लेभ आयोजना गर्ने भएको छ।
- कार्यक्रममा आयुष क्षेत्रमा योगदान पुर्याउनेलाई विभिन्न अवार्ड प्रदान गरिने र सबैभन्दा ठूलो क्लिनिकल डायग्नोसिस सत्र सञ्चालन गरी लेजेन्ड्स वर्ल्ड रेकर्ड कायम गर्ने प्रयास गरिने छ।
- आयुष प्रणालीलाई विश्वव्यापी मान्यता दिलाउने र चिकित्सकलाई भविष्य उन्मुख प्रविधिसँग परिचित गराउने उद्देश्यले भारतका २० भन्दा बढी राज्य र १० भन्दा बढी देशबाट २ सय बढी प्रतिनिधि सहभागी हुनेछन्।
३० वैशाख, काठमाडौं । नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा भारत स्थित काउन्सिल फर इन्टिग्रेटिभ वैद्य इनोभेसन एन्ड कोलाबरेसन (सिभिक) ले ‘इन्टरनेसनल आयुष कन्क्लेभ’ आयोजना गर्ने भएको छ ।
चौथो संस्करणको यस कन्क्लेभ आगामी जुन १२ देखि १४ सम्म काठमाडौंमा आयोजना हुन लागेको हो । संस्थाका प्रतिनिधि डा. एमएम कुरैशीका अनुसार कार्यक्रममा वैज्ञानिक सत्र, अनुसन्धानमा आधारित प्रस्तुति तथा अन्तर्राष्ट्रिय ज्ञान आदानप्रदानलाई विशेष प्राथमिकता दिइने छ ।
उनका अनुसार आयुष क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई आयुष लेजेन्डरी अवार्ड, आयुष एक्सिलेन्स अवार्ड, आयुष राइजिङ अवार्ड तथा आयुष इन्टरप्राइज अवार्ड प्रदान गरी सम्मान गरिने छ ।
यसका साथै आयुष चिकित्सकहरूको एकै मञ्चमा सबैभन्दा ठूलो क्लिनिकल डायग्नोसिस सत्र सञ्चालन गरी ‘लेजेन्ड्स वर्ल्ड रेकर्ड’ कायम गर्ने प्रयास पनि गरिने जनाइएको छ ।
कन्क्लेभमा आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, युनानी, सिद्ध, होमियोप्याथी लगायत विभिन्न आयुष प्रणालीलाई एउटै मञ्चमा ल्याइने छ । सहभागीले स्वास्थ्य अभ्यासमा कृत्रिम बुद्धिमत्ता तथा आधुनिक प्रविधि प्रयोगबारे समेत जानकारी प्राप्त गर्नेछन् ।
कार्यक्रम आयुष क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसाथ आयोजना गर्न लागिएको हो । कन्क्लेभको मुख्य उद्देश्य आयुष प्रणालीलाई विश्वव्यापी मान्यता दिलाउनुका साथै चिकित्सकलाई भविष्य उन्मुख प्रविधिसँग परिचित गराउनु रहेको आयोजकले जनाएको छ ।
चेम्बर अफ कमर्सका ट्रेड फेयर समिति सभापति राष्ट्रभूषण चाकुबजीका अनुसार भारतका २० भन्दा बढी राज्यसहित १० भन्दा बढी देशबाट २ सय बढी प्रतिनिधिको सहभागिता रहने अपेक्षा छ ।
यसअघि यस्तै प्रकारको आयुष कन्क्लेभ भारतका आग्रा, गोवा र जयपुरमा सफलतापूर्वक सम्पन्न भइसकेको छ । नेपालमा भने आयुष कन्क्लेभ पहिलो पटक आयोजना हुन लागेको हो ।
प्रतिक्रिया 4