News Summary
Generated by OK AI. Editorially reviewed.- सरकार, रोजगारदाता, जेटीयूसीसी र आईएलओले मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्य आवश्यक रहेको बताएका छन्।
- सन् २०२३–२०२७ को मर्यादित कामसम्बन्धी राष्ट्रिय कार्यक्रमको प्रगति समीक्षा गर्दै आगामी रणनीतिबारे छलफल गरिएको थियो।
- उद्योग वाणिज्य महासंघले महिला उद्यमशीलता सहायता कक्ष सञ्चालन र बहुउद्देश्यीय स्याहार केन्द्र पाइलटिङमा ल्याएको जानकारी गराएको छ।
३० वैशाख, काठमाडौं । मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्य आवश्यक रहकोमा सरोकारवालाले जोड दिएका छन् ।
सरकार, रोजगारदाता, जेटीयूसीसी र आईएलओद्वारा संयुक्त रूपमा आयोजित त्रिपक्षीय बैठकमा सरोकारवालाले यस्तो धारणा राखेका हुन् ।
बैठकले ‘सन् २०२३–२०२७ को मर्यादित कामसम्बन्धी राष्ट्रिय कार्यक्रम’ को प्रगति समीक्षा गर्दै आगामी रणनीतिबारे समेत छलफल गरेको थियो ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्लेले मर्यादित काम, सामाजिक न्याय र समावेशी आर्थिक विकासका लागि त्रिपक्षीय सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
आईएलओ नेपालका देशीय निर्देशक नुमान ओजकानले सहकार्यबाटै श्रमका मुद्दा सम्बोधन गर्न सकिने धारणा राख्दै यस क्षेत्रमा काम गर्दा सही तथ्यांकमा जोड दिनुपर्ने बताए ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष एवम रोजगारदाता परिषद् सभापति प्रबलजंग पाण्डेले मुलुकको आर्थिक विकास र उत्पादनशीलता वृद्धिका लागि सरकार, रोजगारदाता र श्रमिकबीचको सुमधुर सम्बन्ध अपरिहार्य रहेको बताए ।
श्रमिक कल्याण र महिला सशक्तीकरणमा विशेष पहल आईएलओसँगको साझेदारीमा महासंघले गरिरहेका कार्यबारे प्रकाश पार्दै पाण्डेले चिया र अलैँची क्षेत्रमा व्यावसायिक सुरक्षा तथा स्वास्थ्य निर्देशिका कार्यान्वयनमा ल्याइएको तथा महिला उद्यमीलाई सहयोग गर्न महिला उद्यमशीलता सहायता कक्ष सञ्चालन गरिएको र कर्णाली तथा सुदूरपश्चिमका विभिन्न स्थानमा बहुउद्देश्यीय स्याहार केन्द्र पाइलटिङमा ल्याएको बारे जानकारी गराए ।
उद्योग वाणिज्य महासंघले सरकार र आईएलओसँगको सहकार्यमा मर्यादित काम र समावेशी विकासका क्षेत्रमा काम गरिरहेको छ । यसले महिला र युवाजस्ता लक्षित समूहलाई अर्थतन्त्रको मूलधारमा ल्याउने लक्ष्य राखेको छ ।
प्रतिक्रिया 4