News Summary
Generated by OK AI. Editorially reviewed.- भूमिहीन र अव्यवस्थित बसोवासीहरूले जेठ ३ गते बुटवलमा राष्ट्रिय सम्मेलन र सरकारको विरोधमा वृहत प्रदर्शन गर्ने भएका छन्।
- संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले प्रदर्शनमा ३० हजार मान्छे सहभागी हुने र २२ जिल्लाबाट प्रतिनिधि आउने बताए।
- संघर्ष समितिले भूमि सम्बन्धी कानुन परिवर्तन गरी भू-उपयोग नीति २०७६ अनुसार १० वर्षदेखि बसेको ठाउँको लालपुर्जा दिन माग गरेको छ।
३० वैशाख, बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा रास्वपा नेतृत्वको सरकारले डोजर आतंक मच्चाएको आरोप लगाउँदै अव्यवस्थित बसोवासी तथा सुकुमवासीहरूले आन्दोलन थप चर्काउने भएका छन् । काठमाडौंसहित देशका विभिन्न ठाउँमा सरकारले डोजर लगाएर वर्षौंदेखि बसेको बस्ती खाली गर्न थालेपछि भूमिहीन-अव्यवस्थित बसोवासीले आगामी जेठ ३ गते बुटवलमा राष्ट्रिय सम्मेलन र विरोध प्रदर्शन गर्ने भएका हुन् ।
मंगलबार पत्रकार सम्मेलन गरी भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीले जेष्ठ ३ गते बुटवलमा देशभरका भूमिहीन/अव्यवस्थित बसोवासीको राष्ट्रिय सम्मेलन तथा सरकारको विरोधमा वृहत प्रदर्शन हुनेबारे जानकारी गराएको हो ।
सम्मेलनअघि बुटवल राजमार्ग चौराहाबाट ट्राफिकचोकसम्म प्रदर्शन हुने संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले बताए । उनले प्रदर्शनमा ३० हजार मान्छे उतार्ने घोषणा गरे । उक्त प्रदर्शनमा देशका २२ बढी जिल्लाबाट प्रतिनिधि तथा रुपन्देहीका १६ वटै स्थानीय तहहरुबाट उपस्थिति रहने उनको भनाइ छ ।
जेठ ३ गते आयोजना हुने वृहत प्रदर्शनपछि बुटवलमै राष्ट्रिय सम्मेलनको आयोजना गरी देशव्यापी रुपमा गरिने आन्दोलनको रणनीति तयार पारिने संयोजक पौडेलले बताए । राष्ट्रिय सम्मेलनका लागि विभिन्न उपसमितिहरु गठन गरी तयारी अन्तिम चरणमा पुगेको संघर्ष समितिले जनाएको छ ।
पत्रकार सम्मेलनमा संघर्ष समितिका सल्लाहकार वीरेन्द्र विकले उचित व्यवस्थापनबिना वर्षौंदेखि बसेको बस्ती हटाउने सरकारको कदम रोक्न दबाब दिन थप आन्दोलन र रणनीति बनाउन राष्ट्रिय भेला आयोजना गरिएको बताए ।
उनले भूमि सम्बन्धी कानुन परिवर्तन गर्नु अपरिहार्य रहेको भन्दै भू-उपयोग नीति २०७६ अनुसार एक पटकलाई १० वर्षौंदेखि बसेको ठाउँको लालपुर्जा दिन विकले माग गरे । अब भूमिसम्बन्धी नीति निर्माण र निर्णय तहमा भूमिहीन र अव्यवस्थित बसोवासीको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने उनले बताए । संघर्ष समितिको आन्दोलनलाई रुपन्देहीका १२ विपक्षी दलले ऐक्यवद्धता जनाएका छन् ।
प्रतिक्रिया 4