+
+
Shares

प्रदीप अधिकारी कनेक्सन : थप अनुसन्धानका नाममा क–कसले पाए उन्मुक्ति ?

पैसा बुझ्नेदेखि बिचौलियाको काम गर्ने, धम्क्याउने पत्र बनाएर पठाउने, रकम लेनदेन गर्ने प्रमाणहरू हुँदाहुँदै प्रहरी र सरकारी वकिलले यो प्रकरणमा आँखा चिम्लेको देखिन्छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८३ वैशाख ३० गते १८:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भए पनि आधा दर्जन बढी व्यक्तिले थप अनुसन्धान र प्रमाणका नाममा उन्मुक्ति पाएका छन्।
  • अधिकारीसँग सोझो कनेक्सन देखिएका ठेकेदार नवीनराज बस्नेत, पत्रकार प्रमोद सेढाईं, भारतीय तान्त्रिक जगदम्बे गुरु लगायतविरुद्ध मुद्दा दर्ता भएको छैन।
  • अधिकारीले अख्तियार प्रमुखलाई धम्की दिन प्रकाश पाठकलाई २ करोड दिएका थिए र यस प्रकरणमा अधिकारीसहित केही व्यक्तिहरूलाई आपराधिक कसुरमा मुद्दा दर्ता गरिएको छ।

३० वैशाख, काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक (डीजी) प्रदीप अधिकारीले गरेका अपराधमा कनेक्सन देखिएका आधा दर्जन बढी व्यक्तिले थप अनुसन्धान र प्रमाणका नाममा उन्मुक्ति पाएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा मंगलबार अधिकारीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता हुँदा उनीसँग सोझो कनेक्सन (सम्बन्ध) देखिएका ठेकेदार, बिचौलियादेखि आफूलाई जेनजी अभियन्ता बनाउनेहरूविरुद्ध भने मुद्दा दर्ता भएन ।

यसरी सोझो कनेक्सन देखिएर मुद्दा दर्ता नहुनेहरूमा ठेकेदार नवीनराज बस्नेत, जेनजी अभियन्ता दाबी गर्ने पटके कसुरदार अर्जुन शाही, पत्रकार प्रमोद सेढाईं, भारतीय तान्त्रिक गुरु भनिने जगदम्बे गुरु ( सरया किन्नेरा), प्रदीप अधिकारीसँग पाँच लाख बुझ्ने रवि सिंघल, एक बैंककी कर्मचारी जेनु थापा, अधिकारीको अन्डरमा रहेर काम गर्ने क्यानकै कर्मचारी चाँदमाला श्रेष्ठविरुद्ध मुद्दा दर्ता भएको छैन ।

उनीहरूको हकमा परिसरका डीएसपी कौशलकुमार बुढाथोकीले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कोही कसैको हकमा प्रस्तुत मुद्दामा संलग्नता रहे भएको तथ्य प्रमाणसहित खुल्न आएको बखत मुलुकी अपराध संहिताको दफा ३५ बमोजिम छुट्टै अनुसन्धान प्रतिवेदन पेस गरिने ।’

जबकि, यो प्रकरणमा प्रदीप अधिकारीसँग जेनजीलाई मिलाउँछु भन्दै सिंघलले ५ लाख रुपैयाँ बुझेका थिए । आफूमाथिको अनुसन्धान रोकेर मुद्दा मिलाउन भन्दै अधिकारीले जेनजी अगुवाको साथ खोजेका थिए । अनि जेनजीलाई मिलाउने जिम्मा सिंघलले लिएको उनीहरूको कुराकानीमै देखिन्थ्यो ।

अधिकारीले बोक्ने मोबाइलको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) रिपोर्टअनुसार सिंघलले जेनजी अगुवा मिलाउने, अधिकारीलाई भेटाउनेसम्म बताएका थिए ।

लङ ड्राइभमा लगेर कुरा गर्ने र सबै व्यवस्था मिलाउने कुराकानी सिंघल र अधिकारीबीच भएको भेटिएको थियो ।

जेनजी मिलाउने, जेनजीसँग भेट गराउने बताउने सिंघलले क्यानबाट ५ लाख बुझेको प्रमाण भेटिएको थियो । क्यानकै कर्मचारी चाँदमाला श्रेष्ठले ती व्यक्तिलाई नगद ५ लाख दिएर पठाएकी थिइन् ।

अधिकारीको निर्देशनमा काम गर्ने श्रेष्ठ र जेनजी मिलाउँछु भन्दै रकम बुझ्ने दुवै जनाविरुद्ध अहिले मुद्दा दर्ता भएन ।

नवीनराज बस्नेत

त्यस्तै, अधिकारीमाथिको मुद्दा–मामिला मिलाउँछु भन्दै बिचौलियाको काम गर्ने नवीनराज बस्नेतविरुद्ध पनि मुद्दा दर्ता भएन । अनलाइनखबरलाई प्राप्त अधिकारी र बस्नेतको ह्वाट्स एप च्याटमा अख्तियारलाई मिलाउनेबारे कुराकानी भएको प्रष्ट देखिन्छ । जहाँ बस्नेतले राजेश बज्राचार्यमार्फत ‘बा’ लाई भनेर अख्तियारबाट भ्रष्टाचारको केस मिलाउने आश्वासन अधिकारीलाई दिएका थिए ।

प्रदीप अधिकारीले २३ नोभेम्बर २०२५ राति ११:०७ बजे मात्रै ‘राजेश दाइसँग कुरा भयो’ भनेर नवीन बस्नेतलाई ह्वाट्स एपमा म्यासेज गरेको भेटिएको थियो ।

म्यासेजमा बस्नेतले ११:१० को राति ‘कुर्दैछु, भित्र किचेनमा’ भनेर जवाफ फर्काएका थिए । बस्नेतले अर्को म्यासेजमा भनेका थिए– बासँग पनि भेट्छु । दाइ, मसँगै छौं ।

२५ नोभेम्बर राति ११:१० बजे बस्नेतले अधिकारीलाई ह्वाट्स एपमा म्यासेज गर्दै ‘गति छाडेर भए पनि गर्छु दाइ, टेन्सन नलिनू’ भनेर म्यासेज पठाएका थिए ।

यो प्रयासबाट अख्तियारको मुद्दा सामसुम पार्न असफल भएपछि उग्रवादी संगठन खोलेर ज्यान मार्ने धम्की दिँदै अख्तियार प्रमुख प्रेम राईलाई राजीनामा गर्न लगाउनेदेखि तान्त्रिक प्रयोग गर्नेसम्मका काम भएको अनुसन्धानबाट खुलेको छ ।

उग्रवादी संगठनको लेटर प्याडसमेत बनाएर बस्नेतले नै अधिकारीलाई ह्वाट्स एपमा पठाएको भेटिएको थियो । डीएफएल (डिजिटल फरेन्सिक ल्याब) रिपोर्टअनुसार उक्त लेटर प्याड बस्नेतको मोबाइल नम्बरबाट ह्वाट्स एपमार्फत प्रदीप अधिकारीलाई पठाएको प्रमाण भेटिँदा पनि बस्नेतले उन्मुक्ति पाएका छन् ।

यही लेटर हेडमार्फत एक सूचना निकाल्दै प्रकाश पाठकले अख्तियार प्रमुखसमेत १० जनालाई मार्ने धम्की दिएका थिए । तत्काल राजीनामा नदिए मार्ने धम्की पाठकले भिडियोमार्फत नै दिएका थिए । यसरी धम्की दिन लगाउन पाठकलाई २ करोडको सुपारी दिएकोसमेत भेटिएको छ ।

तान्त्रिक विधिबाट आरोप मुक्त हुने उपाय पनि प्रदीप अधिकारीले निकालेका थिए । भारत आसाम राज्यको गुवाहाटीमा रहेको कामाख्या देवी मन्दिरको गुरु बताउने भारतीय तान्त्रिक बाबा ४३ वर्षीय सरया किन्नेरा (जय जगदब्बे) को प्रयोग गरेको देखिन्छ ।

यी तान्त्रिकलाई भेट गराउने काममा पत्रकार प्रमोद सेढाईंले समेत काम गरेको देखिएको छ । तर यहाँ तान्त्रिकदेखि पत्रकार सेढाईंविरुद्ध पनि मुद्दा दर्ता भएन ।

जय जगदम्बे बाबालाई अख्तियार प्रमुख राईको फोटो पठाई चम्टा (तान्त्रिक विधिबाट हानि–नोक्सानी) गर्न लगाएको भेटिएको थियो । त्यसपछि जय जगदम्बेले अख्तियार प्रमुख राईको प्रतिमा बनाई तान्त्रिक तन्त्र–मन्त्र गर्दै हतियारले घोचेर आगोमा जलाएको भिडियोसमेत अधिकारीलाई पठाएका थिए ।

पैसा बुझ्नेदेखि बिचौलियाको काम गर्ने, धम्क्याउने पत्र बनाएर पठाउने, रकम लेनदेन गर्ने प्रमाणहरू हुँदाहुँदै प्रहरी र सरकारी वकिलले यो प्रकरणमा आँखा चिम्लेको देखिन्छ । सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सोमकान्त भण्डारी आफूले अभियोगपत्र नै हेर्न नभ्याएको भन्दै पन्छिए ।

प्रहरीले पनि यो विषयमा सुरुदेखि नै भित्रैसम्म छिरेर अनुसन्धान गर्ने जाँगर चलाएको देखिँदैन । प्रमाणहरू एकातिर हुँदाहुँदै अहिले प्रहरीले उन्मुक्ति दिएका व्यक्तिहरूको बयानकै आधारमा उन्मुक्ति दिँदै थप प्रमाण भएका बखत भनेर चलाखीपूर्ण तरिकाले प्रतिवेदन बुझाएको छ ।

थप प्रमाण खुलेको बखत थप व्यक्तिहरूमाथि पूरक अभियोजन जाने बाटो लगभग सबैजसो मुद्दामा खुला नै राखेर प्रतिवेदन बुझाउने तथा अभियोग गर्दा गर्ने चलन छ ।

अहिले मुद्दा दायर भएका एकै व्यक्तिविरुद्ध चार वटासम्म कसुरमा अनुसन्धान हुँदा अधिकारीका सहयोगी तथा मतियारहरू भने चोखिएका छन् ।

अख्तियारले दर्ता गर्न लागेको मुद्दाबाट जोगिन अधिकारीले अन्डरवर्ल्ड डनको नाम लिँदै अख्तियार प्रमुखलाई प्रेमकुमार राईलाई धम्क्याएर राजीनामा गर्न लगाउने योजनाअनुसार प्रकाश पाठक नाम गरेका व्यक्तिको प्रयोग गरेर धम्क्याइएको थियो । त्यस वापत पाठकलाई अधिकारीले २ करोड दिएका थिए । पाठकले फिलिपिन्सबाट राईलाई धम्क्याएका थिए ।

यो प्रकरणमा काभ्रेका प्रकाश पाठकविरुद्ध आपराधिक षड्यन्त्र गर्न नहुने कसुर, आपराधिक लाभ लिन नहुने कसुर, हुन्डीसम्बन्धी कारोबार गर्न नहुने कसुर, साइबर कसुर, संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरिएको छ ।

त्यसैगरी, हाल डिल्लीबजार कारागारमा रहेका क्यानका निलम्बित डीजी अधिकारीविरुद्ध आपराधिक षडयन्त्र गर्न नहुने कसुर, आपराधिक लाभ लिन लगाउन नहुने कसुर, हुन्डी कारोबार गर्न नहुने कसुर, संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरिएको छ ।

अर्का प्रतिवादी ताराप्रसाद खरेलविरुद्ध पनि आपराधिक षडयन्त्र गर्न नहुने कसुर, हुन्डी कारोबार गर्न नहुने कसुरमा संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरिएको छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?