+
+
Shares

प्रदीप अधिकारीको योजना : सुशीला सरकार ढाल्ने, आफैं पर्यटन मन्त्री बन्ने

सम्पत्ति शुद्धीकरण, ज्यान मार्ने उद्योग र संगठित अपराधमा अनुसन्धानमा रहेका अधिकारीले कार्की नेतृत्वको सरकार ढालेपछि गठन हुने नयाँ सरकारमा आफू पर्यटन मन्त्री बन्नेसमेत बताएको संवादमा देखिन्छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ चैत २५ गते २०:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रदीप अधिकारीले सुशील कार्की नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठन गर्ने योजना बनाएको प्राविधिक अनुसन्धानले देखाएको छ।
  • अधिकारीले अफ्रिकामा दर्ता भएका दुई विमानलाई त्रिभुवन विमानस्थलमा टेक्निकल ल्यान्डिङ गराएर १ लाख अमेरिकी डलर लिने योजना बनाएको ह्वाट्स एप कुराकानीबाट खुलेको छ।
  • प्रदीप अधिकारीले ९९ करोड रुपैयाँको कारोबार गैरबैंकिङ च्यानलमार्फत गर्ने योजना बनाएको तर आफुले सरकारी कारोबार भएको बताएका छन्।

२५ चैत, काठमाडौं । नागरिक उड्डययन प्राधिकरण (क्यान)का महानिर्देशक (हाल निलम्बित भएर कारागारमा रहेका) प्रदीप अधिकारीले सुशील कार्की नेतृत्वको अन्तरिम सरकार ढालेर अर्को सरकार गठन गर्ने योजना बनाएको संवाद फेला परेको छ ।

कार्की सरकारले आफूहरूको काम नगर्ने भएकाले नयाँ सरकार बनाउने योजनासहित दुबई पुगेका अधिकारीले ह्वाट्स एप संवादमा यस्तो बताएको प्राविधिक अनुसन्धानबाट खुलेको छ ।

सम्पत्ति शुद्धीकरण, ज्यान मार्ने उद्योग र संगठित अपराधमा अनुसन्धानमा रहेका अधिकारीले कार्की नेतृत्वको सरकार ढालेपछि गठन हुने नयाँ सरकारमा आफू पर्यटन मन्त्री बन्नेसमेत बताएको संवादमा देखिन्छ ।

जुन कुरा क्यानकै कर्मचारी चाँदमाला श्रेष्ठसँग १६ नोभेम्बरमा ह्वाट्स एपमा उनले गरेको कुराकानीबाट पुष्टि हुन्छ । ‘यो हप्ता हाम्रो प्रधानमन्त्री आउने, अहिलेका प्रधानमन्त्री हट्ने, क्यानको डीजीले सरकार फाल्न लागेको कुरा सत्य रहेको, त्यही भएर दुबई आएको, लुक्लाको कुरा सत्य रहेको,’ ह्वाट्स एप च्याटमा भेटिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धानले अधिकारीमाथि भ्रष्टाचार कसुरमा अनुसन्धान गरिरहेको थियो । तर कतैबाट पनि अख्तियारलाई प्रभावमा पारेर मुद्दा  सामसुम पार्ने  अवस्था नभएपछि अधिकारी सरकार नै फेर्ने योजनामा हिँडेको यो कुराकानीबाट पुष्टि हुन्छ ।

अख्तियारको मुद्दा सामसुम  पार्न बिचौलिया प्रयोग गर्ने, त्यो सम्भव नभएपछि मार्ने धम्की दिने, तान्त्रिक लगाउनेसम्मका हर्कत गरेका अधिकारीले अन्य विभिन्न शंकास्पद गतिविधि गरेको प्राविधिक अनुसन्धानबाट खुलेको छ ।

जहाज टेक्निकल ल्यान्डिङ

अधिकारीमाथि अनुसन्धान गर्दा जहाज टेक्निकल ल्यान्डिङ गर्न लगाउनेसम्मको कुराकानी भएको तथ्य भेटिएको छ । टेक्निकल ल्यान्डिङ गराएर रकम अनियमितता गर्न खाजेको ह्वाट्स एप कुराकानीमा भेटिएको छ ।

अधिकारी र अमेरिकामा बस्दै आएका उनका साथी अर्जुनकुमार खड्काबीच ५ अक्टोबर २०२५ मा ह्वाट्स एपमा कुराकानी भएको देखिन्छ । जहाँ अफ्रिकामा रजिस्ट्रर भएका दुई विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टेक्निकल ल्यान्डिङ गराउनेबारे कुराकानी भएको छ ।

त्यसवापत १ लाख अमेरिकी डलर लिनेबारे संवाद भएको छ ।

३०-४० जतिको भारी सुटेकस 

अधिकारीले ३०-४० जतिको भारी सुटकेस जेनुले लगेको बताएका छन् । श्रीमतीसँगको ह्वाट्स एप च्याटमा प्रदीपले यो कुरा बताएका हुन् । डीएफएल रिपोर्टमा देखिएको च्याटअनुसार २३ सेप्टेम्बर २०२५ मा अधिकारी र उनकी श्रीमती सुफल केसीबीच संवाद भएको छ । जहाँ, प्रदीपले सुटकेस जेनुले लगेको श्रीमतीलाई बताएका छन् ।

सुटकेशमा कति थियो भनेर श्रीमतीले सोध्छिन् ।

‘भारी नै थियो, गनेको छैन । ३०-४० होला । पासपोर्ट मैसँग छ । सेफ भयो ठिकै भयो’ भन्ने संवाद गरेको भेटिएको छ ।

यो संवादबाट ठूलो मात्रामा रकमले भरिएको सुटकेस व्यवस्थापन गर्ने जिम्मा जेनुलाई दिइएको देखिन्छ । यहाँ नाम उल्लेख गरिएकी जेनु एक बैंकमा कार्यरत कर्मचारी हुन् ।

यसबारे अधिकारीले आफ्नो बयानमा भनेका छन्, ‘जेनजी आन्दोलनपछि मलाई दुई पटक मार्ने, भौतिक आक्रमण गर्ने र घरसमेत जलाइदिने धम्कीहरू आए । सुरक्षाका लागि सुटकेसमा रहेका डकुमेन्ट र मेरा फायल, महत्वपूर्ण कागजात श्रीमतीका गरगहना गरी ३०–४० हजार रुपैयाँसहितको ब्याग श्रीमतीमार्फत जेनुलाई दिन लिएको हुँ ।’

उनले धम्की आएको बताए पनि यसबारे कतै उजुरी दिएका थिएनन् । ३०-४० हजार सुटकेसमा राखेर अर्को व्यक्तिलाई राख्न दिने भन्ने तर्कमै मेल नखाएको अनुसन्धानका अधिकारीहरू बताउँछन् ।

यति मात्रै होइन, जेनु थापालाई अधिकारीले उनको मोबाइलसमेत परिवर्तन गर्न लगाएका थिए । पुरानो मोबाइल सेट हटाएर नयाँ सेट र नम्बर बोक्न लगाएको पाइएको छ । जुन कुरा २ डिसेम्बरको ह्वाट्स एप च्याटबाट समेत पुष्टि हुन्छ ।

यी सबै घटनाबाट अधिकारीको आर्थिक अनियमितताबारे जेनु राम्रोसँग जानकार रहेको देखिन्छ ।

अपार्टमेन्टमा लुक्ने तयारीमा थिए अधिकारी

सातदोबाटो क्षेत्रमा रहेको आफ्नो घरमा बस्दै आएका अधिकारी पछिल्लो समय जुनसुकै बेला पक्राउ पर्न सक्ने भएकाले अपार्टमेन्टमा लुक्न खोजेको देखिएको छ । त्यसका लागि उनले अपार्टमेन्टको रिनोभेसन छिटो सक्न लगाएको खुलेको छ ।

‘त्यो अपार्टमेन्ट त ढिलो भएन र काम नै सुरु भएको छैन हो,’ अधिकारी र जेनुबीच भएको संवादमा देखिन्छ, ‘सबै रेडी टु गो हालतमा राख्ने । कहिले कता, कहिले कता गर्नुपर्छ ।’

यसलाई प्रहरीले भाग्न, लुक्न तथा दसी–प्रमाण लुकाउने प्रयासको रूपमा अर्थ्याएको छ । यता अधिकारीले भने बयानमा आफूमाथि भौतिक आक्रमण हुन लागेपछि ठाउँ सर्न लागेको बताएका छन् ।

देशको अवस्था राम्रो नरहेको, अहिलेको सरकार ढालेर हाम्रो प्रधानमन्त्री आउने, त्यतिन्जेलसम्म रिनोभेट गरेर अपार्टमेन्टमा बस्ने जस्ता विषयमा संवाद भएको देखिन्छ ।

९९ करोड कारोबारको संवाद

प्रदीप अधिकारीको ह्वाट्स एप अनुसन्धान गर्दा ९९ करोडको कारोबारको प्रसंग पनि भेटिएको छ । क्यानकै कर्मचारी चाँदमाला श्रेष्ठ र अधिकारीबीच २६ सेप्टेम्बरमा ह्वाट्स एपमा कुराकानी भएको छ । ‘एक्सक्रो अकाउन्टिङ पैसा हालिदिन्छु है ? २५ तारिख हो डेटलाइन.. बट २–३ दिन बिदाले आज हाल्दिनु भनेको छु…९९ करोड,’ ह्वाट्स एप कुराकानीको च्याटमा भेटिन्छ ।

यो संवादले गैरबैंकिङ च्यानलमार्फत कारोबार गर्न खोजेको जस्तो देखिएको प्रहरीको बुझाइ छ । तर अधिकारीले भने यो अफिसकै कारोबार भएको बताएका छन् । नेपाल सरकार, चीनको एक्जिम बैंक र क्यानबीचको सम्झौताअनुसार पोखरा विमानस्थलको सावाँ, ऋण तथा ब्याज भुक्तानीको सन्दर्भको संवाद रहेको अधिकारीले बताएका छन् ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?