News Summary
Generated by OK AI. Editorially reviewed.- नबिल बैंक र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले वैशाख २५ देखि २८ गतेसम्म दाङको घोराहीमा निःशुल्क जलन उपचार शिविर सञ्चालन गरेका छन्।
- शिविरमा ८५ जनाले उपचार र परामर्श पाएका छन् भने २५ जनाको शल्यक्रिया गरिएको छ र १२ जना बिरामीलाई थप उपचारका लागि काठमाडौं सिफारिश गरिएको छ।
- नबिल बैंकले चारवटा प्रदेशमा करिव पाँच सय जलन पीडितलाई निशुल्क उपचार सेवा दिइसकेको छ र दुर्गम क्षेत्रमा जलन उपचार शिविर सञ्चालन गर्दै आएको छ।
३० वैशाख, काठमाडौं । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल निःशुल्क जलन उपचार शिविरमार्फत ८५ जनाले उपचार तथा परामर्श सेवा पाएका छन् ।
नबिल बैंक र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजना तथा सुष्मा कोइराला मेमोरियल अस्पतालको सहकार्यमा वैशाख २५ देखि २८ गतेसम्म शिविर आयोजना गरिएको थियो ।
शिविरमा २५ जनाको शल्यक्रिया गरिएको बैंकले जनाएको छ। तीमध्ये जटिल किसिमका १२ जना बिरामीलाई काठमाडौं सांखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा थप उपचारका लागि रिफर गरिएको छ ।
नबिल बैंकले काठमाडौंमा कार्यरत विशेषज्ञ चिकित्सकमार्फत विभिन्न प्रदेशका दुर्गम स्थानमा रहेका जलनसम्बन्धी बिरामीलाई निःशुल्क उपचार र परामर्श दिँदै आएको छ । जलन घटनाका पीडितलाई तत्काल र विशेष हेरचाह आवश्यक पर्दछ । तर आफ्नै ठाउँमा जलन उपचार केन्द्र नहुँदा पीडितले समयमै गुणस्तरीय उपचार नपाउने अवस्था छ । जलनका कारण पीडा भोगिरहेका व्यक्तिहरुलाई उपचार गरी उनीहरूको जीवनमा सुधार ल्याउने प्रयास स्वरुप शिविर आयोजना गरिएको बैंकको भनाइ छ।
‘बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न प्रदेशका दुर्गम क्षेत्रमा रहेका जलनका बिरामीलाई लक्षित गरी शिविर सञ्चालन गरेको हो,’ सीईऋो मनोजकुमार ज्ञवालीले भने ।
चारवटा प्रदेशमा आयोजना गरेको जलन शिविरमार्फत उपचार पर्खाइमा रहेका दूरदराजका करिव पाँच सय जना बिरामीले निशुल्क उपचार सेवा लिएको बैंकले जनाएको छ । बैंकले यसअघि सुदुरपश्चिम, कर्णाली र मधेश प्रदेशमा यसप्रकारका शिविर आयोजना गरिसकेको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जलनसम्बन्धी विशिष्ट प्रकारको सेवा उपलब्ध हुन नसकेको अवस्थामा शिविरले जलनका बिरामीलाई धेरै राहत पुर्याएको प्रतिष्ठानका निमित्त निर्देशक तथा सहप्राध्यापक डा. सुरेश रसाइलीले बताए । ‘यस प्रकारको सेवा उपलब्ध नभएको ठाउँमा २५ वटा शल्यक्रिया हुनु निकै कल्याणकारी काम हो’ उनले भने ।
बैंकले यसअघि मधेश प्रदेशमा वैशाख १७ गतेदेखि आयोजना गरेको चार दिने शिविरबाट १५० जनाले उपाचार तथा परामर्श पाएका थिए । यस्तै गत फागुन १२ देखि १४ सम्म सुदूरपश्चिमको धनगढीमा सञ्चालन भएको शिविरमार्फत ६५ जना र चैत २७ गतेदेखि कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन भएको शिविरमा १९४ जनाले उपचार तथा परामर्श पाएका थिए ।
प्रतिक्रिया 4