+
+
Shares

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते १४:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुर्खेतस्थित प्रदेश अस्पतालमा नबिल बैंक र फेक्ट नेपालको सहकार्यमा १९४ जनाले निःशुल्क जलन उपचार सेवा पाएका छन्।
  • शिविरमा ३९ जनाको शल्यक्रिया गरिएको छ भने जटिल बिरामीलाई कीर्तिपुर अस्पतालमा रिफर गरिएको छ।
  • नबिल बैंकले कर्णाली, लुम्बिनी र मधेश प्रदेशमा जलन उपचार शिविर सञ्चालन गर्ने योजना बनाएको छ।

४ वैशाख, काठमाडौं । सुर्खेतस्थित प्रदेश अस्पतालमा सञ्चालित ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४ जनाले उपचार तथा परामर्श सेवा पाएका छन् । प्रादेशिक अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा गत चैत २७ देखि तीन दिनसम्म शिविर आयोजना गरिएको थियो ।

शिविरमा आएका ३९ जना बिरामीको वरिष्ठ चिकित्सकद्वारा शल्यक्रिया गरिएको बैंकले जनाएको छ। जटिल किसिमका एक जना बिरामीलाई काठमाडौंको कीर्तिपुर अस्पतालमा रिफर गरिएको छ। शिविरमा लामो समयदेखि उचित उपचार तथा शल्यक्रियाको पर्खाइमा रहेका र आर्थिक अवस्था कमजोर भएका बिरामीले निःशुल्क उपचार पाएका थिए ।

सिन्जा गाउँपालिका ५ की सम्झना रोकायाको शिविरमा आउँदा जलनका कारण उनको हात नचल्ने अवस्थामा थियो । शल्यक्रियापछि अब हात सिधा भएको र घर खेतको काम आफै गर्नसक्ने विश्वास पलाएको रोकायाले बताइन् । ‘अब अरु कसैको भर पर्नु पर्दैन र आफैले सबै काम गर्न सक्ने भएकी छु भन्ने लागेको छ, मलाई उपचारका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनले भनिन् ।

नेपालमा जलनसम्बन्धी घटनाका पीडितले अझै पनि उचित उपचार नपाएर बस्नु पर्ने अवस्था रहेकामा नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कर्णाली प्रदेशका दुर्गम क्षेत्रमा रहेका जलन पीडितलाई लक्षित गरी शिविर आयोजना गरेको हो,’ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले भने । उनले आगामी दिनमा लुम्बिनी र मधेश प्रदेशमा पनि यस प्रकारका शिविर आयोजना गर्ने जानकारी दिए ।

फेक्ट नेपालको कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राई सहितका विशेषज्ञ चिकित्सकको टोलीले कर्णाली प्रदेशका जलनका बिरामी लक्षित शिविरमा शल्यक्रिया गरेका हुन् ।

जलन उपचार शिविर सञ्चालन गर्नुअघि कर्णाली प्रदेशका विभिन्न जिल्लाका १६ स्थानमा स्क्रिनिङ क्याम्प राखिएको थियो । स्क्रिनिङ क्याम्पमा फेक्ट नेपालका स्वास्थ्यकर्मीहरुले स्थानीय तहमै पुगेर प्रारम्भिक बिरामीहरुको विवरण लिएका थिए ।

प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. गणेश थापाले कर्णाली प्रदेशमा धेरै मानिस अझै पनि उचित उपचार नपाएर बसिरहेको अवस्थामा शिविर सञ्चालन गरेकोमा आयोजकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि थप सहयोगको अपेक्षा राखे ।

बैंकले यसअघि सुदूरपश्चिममा निःशुल्क जलन शिविर सञ्चालन गरेको थियो । गत फागुन १२ देखि १४ गतेसम्म धनगढीमा सञ्चालन भएको उक्त पहिलो शिविरमार्फत ६५ जना जलनका बिरामीहरुले निःशुल्क उपचार पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?