+
+
Shares

सडक खोल्न युवक रुखमा बाँधिएको घटनामा वडाध्यक्षविरुद्ध जाहेरी दर्ता

वडाध्यक्ष जीवछ यादवसहितको टोली डोजर लिएर सडक खाली गराउन पुगेको थियो । त्यसक्रममा वीरेन्द्र साहले विरोध जनाएपछि उनलाई कुटपिट गर्दै रुखमा बाँधेर त्यहाँ बनेका संरचना डोजरले भत्काइएको भनिएकाे छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १९:०१

२९ वैशाख, सिरहा । सिरहामा एक युवकलाई रुखमा बाँधेर अमानवीय व्यवहार गरिएको घटनामा आरोपी वडाध्यक्षसहित पाँच जना विरुद्ध नेपाल प्रहरीमा जाहेरी दर्ता भएको छ ।

औरही गाउँपालिका– ३ का वडाध्यक्ष जीवक्ष यादवसहित पाँचजनाविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय(जिप्रका) सिरहामा जाहेरी दर्ता भएको हो ।

जिप्रका प्रमुख प्रहरी उपरीक्षक(एसपी) वासुदेव पाठकका अनुसार वडाध्यक्ष यादवबाहेक हेमा यावद, रामबाबु यादव, मुकेश यादव, सुदीप यादव र विसुन यादवविरुद्ध पीडित पक्षले जाहेरी दिएका थिए ।

पक्राउ परेकाहरूविरुद्ध सडक खाली गराउने नाममा औरही गाउँपालिका–३ का स्थानीय वीरेन्द्र साहलाई रुखमा बाँधेर अभद्र व्यवहार गरिएको आरोप छ ।

‘पीडित पक्षबाट आएको जाहेरी दर्ता भएको छ । अब पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाउँछौं,’ एसपी पाठकले भने, ‘अनुसन्धानका क्रममा जसको जस्तो भूमिका देखिन्छ, त्यसअनुसार कानुनी कारबाही हुन्छ ।’

प्रहरीका अनुसार औरही–३ को पिपरा टोलमा एक वर्षअघि कृषि सडक निर्माण गरिएको थियो । सडक विस्तारका क्रममा वीरेन्द्र साहको जग्गा एकतर्फी रूपमा प्रयोग गरिएको भन्दै विवाद उत्पन्न भएको थियो । विवादकै कारण उक्त सडक सञ्चालनमा आउन सकेको थिएन ।

सोमबार वडाध्यक्ष जीवछ यादवसहितको टोली डोजर लिएर सडक खाली गराउन पुगेको थियो । त्यसक्रममा वीरेन्द्र साहले विरोध जनाएपछि उनलाई कुटपिट गर्दै रुखमा बाँधेर त्यहाँ बनेका संरचना डोजरले भत्काइएको भनिएकाे छ । घटनापछि स्थानीय स्तरमा तीव्र विरोध भइरहेको छ ।

घटनापछि जनमत पार्टीले दोषीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र नै बुझाएको छ । ज्ञापनपत्रमा गाउँपालिका अध्यक्षसहितको समूहले स्थानीय नागरिकमाथि गैरकानुनी, दमनकारी र मानव अधिकार विपरीत व्यवहार गरेको आरोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?