
म प्रायः घुम्न रुचाउँछु । विषय पनि पत्रकारिता भएर होला दोलखाका अधिकांश गाउँँ, कुनाकाप्चा पुगेको छु । वनजंगल, खोलानाला, पाखापखेरा, डाँडाकाँडासँग मेरो सम्बन्ध गहिरो छ जस्तो लाग्छ । म प्रकृतिप्रेमी पनि हुँ जस्तो लाग्छ ।
किनकि, मलाई चिसो मौसममा चिसै मन पर्छ । गर्मीमा घाम नै मन पर्छ । प्रकृतिसँग रुमलिँदा चिसो हावाले मन शान्त र आनन्दित हुन्छ ।
म रिपोर्टिङ सिलसिलामा राष्ट्रिय गौरवको आयोजना ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना लामाबगर पुगेको थिएँ । मेरो साथमा पत्रकारहरू चिरञ्जीवी मास्के, दिलबहादुर केसी र नवीनकुमार खतिवडा थिए ।
सदरमुकाम चरिकोटबाट बिहान सबेरै सिंगटी, गोंगर खोला हुँदै जलविद्युत् ड्यामसाइट पुग्ने योजना थियो । हामी चरिकोटबाट हिँड्न अलि ढिलो भएकाले हतारमा थियौं ।
चरिकोटबाट ६८ किलोमिटर टाढा लामाबगर भएकाले गोंगरमा एकेक कप चिया पिएर अघि बढ्यौं । लामाबगर ड्यामसाइट पुगुन्जेल माथिल्लो तामाकोसी जलविद्युत् आयोजना केन्द्र प्रमुख प्रबन्धक पूर्णगोपाल रञ्जितसँग गत असोज १२ र १३ गतेको अविरल वर्षाले हाइड्रोपावरलाई पुर्याएको क्षतिबारे कुरा गर्दै अघि बढ्यौं ।
ड्यामसाइट नजिकै पुगेर गाडी टक्क अडियो । गाडीबाट ओर्लिने बित्तिकै मेरा आँखा यताउता चलमलाउन थाले । बाँधस्थल जलाधार क्षेत्र १ हजार ७ सय ४५ वर्गकिलोमिटरमा फैलिएको हुनाले निकै सुन्दर देखिन्थ्यो ।
यत्तिकैमा ‘उ त्यहाँ झारल पसेछ’ भन्नुभयो रञ्जित सरले । सबैको ध्यान त्यतैतिर मोडियो । कोही फोटो खिच्न त कोही भिडियो खिच्न दौडिन थाले । हुन त जमानै डिजिटल प्रविधिको छ ।
अहिले केही लड्दा होस् वा दुर्घटना हुँदा, सबैको फोटो–भिडियो नै खिच्नेतिर पहिलो ध्यान जान्छ । यसपालि पनि सबैको ध्यान त्यस्तै भयो । मलाई भने त्यो दृश्य क्यामरामा कैद गर्न मनले मानेन । हात काम्न थाल्यो । मुटुको धड्कन बढ्न थाल्यो । किनकि, यसपालि भ्रमण मेरा लागि एक अनौठो, फरक र अकल्पनीय घटनाले मनलाई शान्ति दिएन ।
क्यामरा हातमै तयारी अवस्थामा थियो । तर पनि फरक र नयाँ दृश्यमा अगाडि बढ्ने क्यामरा यसपटक मान्दै मानेन । मेरा हात चिसा हुँदै गए । हिमालको चिसो हावाले मुटु छुँदै थियो । जलविद्युत् आयोजना ड्यामको शान्त सतहले कुनै रोचक घटनाको संकेत दिइरहेको थिएन ।
हिउँको मौसम भएर होला निलो दह देखिन्थ्यो ड्याम । हिमालबाट झरेको चिसो पानीको ड्याम पार गर्न संघर्ष गरिरहेको त्यो झारलले मलाई गहिरो सोचमा पुर्यायो ।
म हेर्दै थिएँ– उसको हरेक चाल, हरेक प्रयास र हरेक संघर्षले मेरो मनमा चिसो पस्दै थियो । मन शान्त बनाउन खोजेँ, तर मानेन । उसको हरेक गतिमा मेरो मन, वचनले साथ दिइरहेको थियो । उसले छिट्टै ड्याम पार गर्न सकोस् भनी मनमनै भगवान पुकारिरहेँ । उसको हरेक गतिमा मैले बल दिइरहेँ ।
लामाबगरको २ हजार ३ सय ४३ मिटर उचाइमा फैलिएको ड्याम, अनि पुसको कठ्यांग्रिने पानी । उसलाई कति गाह्रो भयो होला ! मलाई बिचरा बाहेक अरू शब्द फुरेन । मास्के दाइ र मैले उद्धारका लागि के गर्न सकिन्छ भनेर छलफल गर्यौं । तर, हामीसँग ‘बिचरा उत्रे हुन्थ्यो’ भन्नेबाहेक विकल्प थिएन । केही उपाय नै थिएन ।
ऊ बेला–बेला पर्सिन्थ्यो । नाक, कानमा पानी पस्दा उसलाई गाह्रो भएको हामीले सहजै अनुमान गर्न सक्थ्यौं । कताबाट पार पाइने स्पष्ट मार्ग थिएन । कहिले उता, कहिले यता गर्दागर्दै ऊ थकित भइसकेको देखिन्थ्यो । मान्छे भए पो ‘गुहार–गुहार मलाई बचाऊ’ भन्नु ।
मान्छे भए पो बचाउनुपर्छ भन्ने भावना हुनु । मान्छे भए पो केही न केही विकल्प सोचेर बचाउन खोज्नु । हुन त हामी मानव भए पो मानवता देखाउनु । एउटा पशु त पर्यो । ऊ बाँच्ने झिनो आशामात्र थियो मलाई । किनकि, ऊसँग भएको बल सकिन लागेको थियो ।
ऊ दर्जनौं पटक ओहोरदोहोर गर्दा न कसैले हात दिन सके, न साथ । कहिले छिटो–छिटो पौडिन्थ्यो । छिट्टै पार पाउन होला । कहिले बिस्तारै पौडिन्थ्यो बल सकिएर होला । यस दृश्यले गर्दा म जुन उद्देश्यले गएको थिएँ, मेरो दिमाग सबै खाली बनाइदियो । उसको प्रत्येक चालमा मेरा हात, खुट्टा पनि सँगसँगै चलेको महसुस हुन्थ्यो ।
चिसो मौसम, जसले मानिसलाई कठ्यांग्र्रिन बाध्य बनाउँछ, झारलले कसरी यो साहसिक प्रयास गरिरहेको होला ? मनमा एउटामात्र कामना थियो– उसले यो चुनौती पार गरोस् । उसले मुक्ति पाओस् । किनकि, झारल हिमालय क्षेत्रको पारिस्थितिकीय सन्तुलनमा महत्त्वपूर्ण भूमिका खेल्ने जनावर हो । जुन शिकारजन्य वन्यजन्तु भएकाले यसलाई संरक्षण गर्न जरुरी छ । झारल उत्कृष्ट पर्वतारोहक पनि हो ।
यसको प्राकृतिक वासस्थान चट्टानी भिरालो भाग र खुला पहाड हुन् । तीव्र भिरालो ठाउँमा सजिलै चढ्न सक्छ । तर, उसलाई के थाहा ‘मानव निर्मित ड्याम हो र यो मेरो लागि पासो हो’ भनेर । झारल शाकाहारी हो र जडीबुटी, घाँस, स–साना झारपात र झाडी खाएर बाँच्छ भने मानव निर्मित ड्याममा पस्नु उसको के दोष ? मेरो मनमा अनेकथरी विचार मन्थन हुन थाल्यो ।
करिब २० मिनेटजति संघर्षपछि उसको जित भयो । उसले अन्तर्राष्ट्रिय स्तरकै पौडीमा विजय प्राप्त गरेको झैं लाग्यो । केही समय हराएपछि फुत्त देखापर्यो एउटा ढिस्कोमा । उसको ज्यान लुथ्रक्क भिजेको थियो । उसका खुट्टा कामिरहेका देखिन्थ्यो । आराम गर्ने सुख खोजेको देखिन्थे । कहिले तल, कहिले माथि गरिरह्यो ।
मान्छे भए पो हतार–हतार एम्बुलेन्स, हेलिकप्टर ल्याएर सलाइन पानी दिनु । तात्तातो झोलिलो पदार्थ दिनु । न्यानो कपडा दिनु । औषधिउपचार गर्नु । वन्यजन्तु न पर्यो । अझ दिउँसो परेर उसले ज्यान जोगाउन सक्यो । धेरैजना भएर उसले अवतार फेर्यो ।
बाहिर उत्रेपछि उसको फरक–फरक चटक देखेर मलाई झन् दया जाग्यो । फेरि, मलाई भावुक बनाइदियो । ऊ लुथ्रुक्कै भिजेको थियो । ऊ अझै बाहिर निस्किने बाटो खोजिरहेको देखिन्थ्यो ।
ड्यामलाई वरिपरि तारले घेरिएको छ । ड्याम वरिपरि ठूलो पहराले घेरिएको छ । निकट संकटग्रस्त झारललाई संरक्षण गर्न नसक्नु हाम्रो दुर्भाग्य पनि होला । जलवायु परिवर्तन, वनविनाश, र मानव अतिक्रमण संरचना निर्माण गर्दा झारलजस्ता सयौं वन्यजन्तुले चुनौती भोग्दै आएका छन् ।
यो नेपाल, भुटान, भारत र तिब्बतको २ हजार ५ सयदेखि ५ हजार मिटरसम्म उचाइमा पाइने भएकाले यस क्षेत्रमा देखा पर्नु सौभाग्य हो ।
प्रतिक्रिया 4