
मधेशकेन्द्रित दलहरूको वार्ता संवाद टोली बैठकमा जसपा नेपालले आफ्ना प्रतिनिधि नपठाएको भन्दै चर्चा चलिरहेका बेला अनलाइनखबरले पार्टी अध्यक्ष उपेन्द्र यादवसँग संक्षिप्त कुराकानी गरेको छ । यस क्रममा उनले समाजवादी मोर्चाको उपादेयता, सम्भावित एकता प्रक्रिया आदिबारे आफ्ना भनाइहरू राखेका छन् :
मधेशी दलहरूको संयुक्त बैठकमा तपाईंले जसपा नेपालका प्रतिनिधि किन नपठाउनुभएको ?
कुनै राजनीतिक कारणले होइन, माघेसंक्रान्ति परेर हो । साथीहरूलाई जानुहोस् है भनेको थिएँ । को कहाँ, कहाँ परेर छुट्नुभयो । सूचना छोटो समय राखेर बैठकको खबर आएकाले हाम्रो छुट्यो । अबका बैठकमा छुट्दैनौं ।
फेरि मधेशी मोर्चा बन्न लागेको हो ?
हामी छलफल गर्न थालेका छौं । मधेश आन्दोलनले दिएका उपलब्धिहरू बीचैमा अलपत्र परेजस्ता भएका छन् । हाम्रा सपनाहरू र राजनीतिक एजेन्डाहरू विभिन्न तरिकाले कमजोर गराइन खोजेका छन् । संघीयता, समावेशीता लगायत विषयमा खतराहरू देख्न थालेका छौं । हाम्रो बीचमा राम्रोसँग समीक्षा हुन्छ । त्यसपछि हामी कसरी अगाडि बढ्ने भनेर छलफल गर्छौं ।
मधेशका कतिपय दलहरू फेरि एकताकै लागि छलफलमा जुटेको चर्चा पनि छ नि ?
कानुनविपरीत, नैतिकताविपरीत गएर हाम्रो पार्टी फुटाइएको हो । पार्टी फुटाउने क्रम वास्तवमा रोकिएन । पार्टी फुटाउनका लागि नै भनेर राज्यको दुरुपयोग गर्दै विभिन्न हर्कत भए । हामीलाई विगतमा सत्ताले आफ्नो स्वार्थका लागि फुटाएको हो भन्ने रियलाइजेसन नेताहरूमा हुँदा एकताका आधारहरू खुल्न पनि सक्छन् ।
एकता प्रयासकै क्रममा विगतमा तपाईंहरूँसग छुटेका अशोक राई लगायत जसपा नेताहरूसँग पनि एकता छलफल गर्न थाल्नुभएको हो ?
उहाँहरू त एमाले बन्ने लाइनमा हुनुहुन्छ । त्यसैले कसले के पाउने र मिल्ने भन्नेमै छलफल भइरहेको होला । हामीसँग कुरा हुँदैन ।
समाजवादी मोर्चाको बैठकमा पनि तपाईंको खोजी भइरहेको रहेछ नि ? माघ १६ मा त कार्यक्रम नै हुने तय भएछ !
प्रचण्डको घात, अन्तर्घात र विश्वासघातका कारण समाजवादी मोर्चामा समस्या पैदा भएको हो । त्यसले काम गर्न नसकेको पनि उहाँकै कारण हो ।
तपाईं अहिले समाजवादी मोर्चामा हो कि होइन ?
प्रचण्डले आफ्नो कमजोरी रियलाइज गर्दाखेरि नयाँ ढंगले छलफल हुन सक्छ । हेरौं न, अहिले के हतार छ र !
प्रतिक्रिया 4