११ फागुन, बुटवल । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको अधिकारको लडाइँ हुँदा बालेन्द्र शाह (बालेन) कहाँ थिए भन्दै प्रश्न गरेका छन् । उनले मधेशको मुद्दामा बालेनको कुनै धारणा नरहेको बताए ।
जसपा नेपाल रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । ‘राष्ट्रिय राजनीतिमा पनि बालेनको कुनै धारणा सुनिदैन । वैचारिक स्पष्टता छैन, दर्शन के हो थाहा छैन, मुद्दा के हो थाहा छैन,’ उनले भने ।
मधेशको मुद्दा बोक्ने, आदिवासी जनजाति, महिला, उत्पीडित वर्ग, महिला र राष्ट्रिय समस्यालाई बोक्ने पार्टी जसपा नेपाल नै उनले दाबी गरे ।
‘मधेशका जनताले तीनलाई राम्रोसँग बुझेका छन् । त्यसैले घण्टी हल्लाउँदैमा हल्लिनेवाला छैन । अलिकति सोसल मिडियाहरूमा अलि बढी घण्टी बज्या जस्तो छ । तर, यथार्थ ग्राउन्ड रियालिटी त्यस्तो देखिँदैन,’ अध्यक्ष यादवले भने ।
मधेशको समस्या, आदिवासी जनजाति, दलित, अल्पसंख्यको मुस्लिम, दलित, थारू, पिछडा वर्गको समस्या आज राष्ट्रिय समस्याहरू भएको उनले बताए । यसलाई समाधान गरे मात्र राष्ट्रिय एकता र विकासको गति अगाडि बढ्छ भन्ने आफूहरूको मान्यता रहेको उनले बताए ।
पूर्वउपप्रधानमनी समेत रहेका यादवले विगत ३५ वर्ष कांग्रेस–कम्युनिस्टको नेतृत्वमा बनेका सरकारले सरकारले कृषि, शिक्षा, स्वास्थ्य, उद्योग लगायतमा कुनै सुधार गर्न नसकेको बताए ।
उनले यी दुई पार्टीले अर्काको पार्टी फुटाउने काम गरेको आरोप लगाए । उनले संविधान त्रुटिपूर्ण भएको समयक्रमसँगै प्रमाणित भएकोले संविधान संशोधन अपरिहार्य रहेकोमा जोड दिए ।
त्यस्तै पार्टीका वरिष्ठ नेता तथा रुपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले मधेश आन्दोलनको बेला राज्यले निर्दोश नागरिकको हत्या गर्दा आफूहरू संयमित भएर आन्दोलन अगाडि बढाएको बताए ।
‘राज्यको अर्थतन्त्रलाई बचाएनौं भने भोली त्यसको भोगाइमा हामी पनि पर्छौं भन्ने कुरामा जहिले पनि सर्तक छौं,’ उनले भने ।
कोटहीमाई गाउँपालिका–७ स्थित परसहवामा मंगलबार आयोजित आमसभालाई सम्बोधन गर्न यादव रुपन्देही आएका हुन् ।
प्रतिक्रिया 4