+
+
Shares

निर्वाचन केन्द्रित सुरक्षाका लागि बझाङमा २ हजार ८८३ जना परिचालन गरिँदै

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बझाङमा प्रशासन र निर्वाचन संयन्त्रले तयारी तीव्र पारेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते १२:२८

११ फागुन, बझाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बझाङमा प्रशासन र निर्वाचन संयन्त्रले तयारी तीव्र पारेका छन् ।

मतदाता शिक्षा, जनशक्ति व्यवस्थापनदेखि सुरक्षा रणनीतिसम्मका कार्य अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय बझाङका प्रमुख वसन्तबहादुर धानुकले जानकारी दिए ।

उनले निर्वाचनमा १ हजार १ सय ३४ जना कर्मचारी खटनपटन भइसकेको र उनीहरुलाई आवश्यक तालिम दिने तयारी भइरहेको उनले जानकारी दिए ।

फागुन ३ गतेदेखि जिल्लाका १२ वटै स्थानीय तहका ९४ वडामा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । ‘मतदातालाई मतदान प्रक्रियाबारे स्पष्ट जानकारी दिन स्वयंसेवक परिचालन गरेका छौँ,’ धानुकले भने ।

सुरक्षा व्यवस्थातर्फ यसपटक २०७९ सालको निर्वाचनभन्दा थप कडाइ गरिएको प्रशासनको दाबी छ । प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी र जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र धमलाले विगतका कमजोरी नदोहोरिने गरी सुरक्षा योजना तयार गरिएको बताए ।

निर्वाचनका लागि ७ सय ११ जना नेपाल प्रहरी, ४ सय ८ जना नेपाली सेना, १ सय ८४ जना सशस्त्र प्रहरी र १ हजार ५ सय ८० जना निर्वाचन प्रहरी गरी कुल २ हजार ८ सय ८३ जना सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै तयारी पूरा भएको प्रशासनले जनाएको छ ।

जिल्लामा कुल १ लाख २६ हजार ९ सय ३ मतदाता रहेका छन् । तीमध्ये ६२ हजार २ सय ८९ पुरुष र ६४ हजार ६ सय १४ महिला मतदाता छन् । निर्वाचनका लागि २ अस्थायी मतदान केन्द्र, १ सय ८९ स्थायी मतदान केन्द्र र १ सय ३७ मतदानस्थल तोकिएका छन् ।

तीमध्ये ३ मतदानस्थल सामान्य, ४९ संवेदनशील र ८५ अति संवेदनशील श्रेणीमा वर्गीकृत गरिएको छ । जिल्ला कारागार र जिल्ला समन्वय समितिको कार्यालयमा अस्थायी मतदान केन्द्र स्थापना गरिने भएको छ ।

मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीका अनुसार जिल्लामा ५१ प्रकारका निर्वाचन सामग्री पुगिसकेको छ । ‘केही दिनभित्र मतदानस्थलमा सामग्री ढुवानी र व्यवस्थापन गरिनेछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?