+
+

जनमत पार्टीको चाहना कांग्रेसले ढालोस् मधेश सरकार

‘सरकार आफैं छाड्दा गलत सन्देश जान्छ । बरु कांग्रेस र एमाले सत्तामा भएर पनि गरेको असहयोग बाहिर खुलेरै ल्याऔं । हटाउँछन् भने हटाओस् भन्ने हाम्रो पार्टीको लाइन हो ।’

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८१ पुष २६ गते १०:५०
मधेश प्रदेश सरकारका मुख्यमन्त्री एवम् जनमत पार्टीका नेता सतिश सिंह ।

२६ पुस, जनकपुरधाम । मंगलबार मधेश प्रदेश सभाको बैठक सुरु हुँदै गर्दा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीप्रति चर्को आक्रोश पोखे ।

‘डा.सिके राउत वैज्ञानिक हुनुहुन्छ । तर व्यवहारिक ज्ञानमा आफू पुष्ट छु भन्न सक्नु हुन्न । यो मेरो च्यालेन्ज हो’ उनले भने, ‘काठमाडौंमा बसेर यहाँको सरकारलाई नियन्त्रण गर्ने । हामी सतिश सिंह (मधेशका मुख्यमन्त्री) को नेतृत्वमा सरकारमा छौं । सिके राउतको नेतृत्वमा होइन ।’

सरकारको नेतृत्व गरिरहेको जनमतका केन्द्रीय अध्यक्ष र मुख्यमन्त्री सिंहविरुद्ध सत्ता साझेदार कांग्रेसकै दलका नेताले आक्रोश पोख्नुमा भने केही समय यता विकसित घटनाक्रम कारण हो ।

गत १९ पुसमा जनमतको अधिकारिक फेसबुक पेज मार्फत सत्ता साझेदार कांग्रेस र नेकपा एमालेमाथि केही गम्भीर आरोप लगाइएको थियो । ८ बुँदे आरोपहरुमा मन्त्रीले नै मुख्यमन्त्रीलाई नटेर्ने, अनियमिततामा संलग्न हुने, अर्थमन्त्री सुनिल यादवले पुँजीगत बजेट खर्चमा बाधा पुर्‍याउने जस्ता आरोप लगाइएको थियो ।

फेसबुक पेजमा लेखिएकै कुरा जनमतका केन्द्रीय अध्यक्ष सिके राउतले अन्तर्वार्ताहरुमा पनि दिँदै आएका छन् । जसको जवाफ कांग्रेस नेता यादवले मंगलबारको प्रदेश सभा बैठकबाट दिएका हुन् ।

‘तपाईं आफैं गर्न नसक्ने, दोष अरुलाई देखाएर चोखिन खोज्ने, अनि गाली गर्ने गठबन्धनलाई ?’ कांग्रेस नेता यादवको प्रश्न थियो, ‘आज गठबन्धनमा एउटा सहमति हुन्छ । भोलि मुख्यमन्त्रीले त्यसलाई उल्टाएर काम गर्नु हुन्छ । कांग्रेस र एमाले गठबन्धनप्रति इमान्दार छ ।’

अर्थात् मधेश प्रदेशमा सत्तारुढ दलहरुबीचको मतभेद संसदमै पुगेको छ । बुधबारको प्रदेश सभा बैठकमा जनमतका सचेतक चन्दनसिंह सत्तारुढ नेताहरुप्रति आक्रोशित देखिए ।

नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादव

‘हामीले कहिल्यै सोँचेका थिएनौं । शुभकामना दिने बेला सत्ताधारी दलबाट हाम्रो पार्टीका राष्ट्रिय अध्यक्षको नाम लिएर यति हदसम्मको शब्द प्रयोग हुन्छ भनेर’ उनले भनेका छन् । कतिसम्म भने जनमतका सिंह सत्तारुढ शीर्ष नेताहरुको आलोचना गर्ने क्रममा शरणार्थी प्रकरण, गिरीबन्धु, सुन तस्करी लगायत आरोपसम्म पुगे ।

गठबन्धनभित्रको खटपट यतिमै सीमित छैन । सत्तारुढ मतभेदकै कारण चालु आर्थिक वर्षको ६ महिनासम्म बजेट खर्च गर्न सकेको छैन ।

गत २९ कात्तिकमै बसेको सत्तारुढको बैठकले सरकारले राम्रो काम गर्न नसकेको निष्कर्ष निकालेको थियो । सरकारले काम गर्न नसक्नुको दोष जनमतका नेताहरुले कांग्रेस र एमालेलाई दिएका छन् ।

सत्तारुढको समस्या भने बजेटका कारणले भइरहेको छ । बजेट वक्तव्यको १४७ नम्बर बुँदामा खुल्ला प्रतिस्पर्धा मार्फत काम गराउने उल्लेख छ । यसैलाई टेकेर अर्थ मन्त्रालयले गत ४ साउनमा ६४ बुँदे खर्च मार्ग दर्शन जारी गर्दा खरीद योजना बनाएर अर्थ मन्त्रालयसँग स्वीकृति लिएर मात्र काम हुने व्यवस्था गरियो ।

यही समस्याले महिनौसम्म बजेट खर्च हुन सकेन । मंसिरमा अर्थ मन्त्रालयले ६४ बुँदे मार्ग दर्शन खारेज गरी ४ बुँदे जारी गरेको छ । र बजेट लक पनि खोलिसकेको छ ।

२५ जेठमा सरकारमा पहिलो पटक मधेश सरकारको नेतृत्व सम्हालेको जनमत सरकारले प्रभावकारी काम गर्न सकेको छैन । यसले जनमत लगायत सत्ता गठबन्धनभित्र पनि असन्तुष्टि छ ।

तर बजेट वक्तव्यको १४७ नम्बर बुँदाले उपभोक्ता समिति निषेध गर्दा मन्त्रालयहरु अझै काम अघि बढाएको छैन । अर्थ मन्त्रालयको कारण बजेट खर्च हुन नसकेको भन्दै मुख्यमन्त्री सिंहले पुस पहिलो साता अर्थमन्त्री सुनिलकुमार यादवलाई स्पष्टीकरण सोधे । यसपछि जनमतले शृृंखलाबद्ध आरोप कांग्रेसमाथि लगाइरहेको छ ।

जनमतको जवाफ कांग्रेस नेताहरुले सार्वजनिक रुपमै गरिरहेका छन् ।  कांग्रेस सांसद मो.समिम भन्छन्, ‘हाम्रै बुई चढेर सत्ताको नेतृत्व गर्ने, अनि हामीलाई ने लुटेरा, भ्रष्टाचारी भन्दै गाली गर्ने, यो कहाँको राजनीतिक संस्कार हो ?’

सरकार छोड्ने मनसाय

२५ जेठमा सरकारमा पहिलो पटक मधेश सरकारको नेतृत्व सम्हालेको जनमत सरकारले प्रभावकारी काम गर्न सकेको छैन । यसले जनमत लगायत सत्ता गठबन्धनभित्र पनि असन्तुष्टि छ ।

कामकारबाही सुस्त हुँदा जनमतभित्र पनि सरकार छाड्ने दबाब बढेको छ । तर आफैंले सरकार छाड्दा जनतामा पार्टीप्रति गलत संदेश जाने भएकाले जनमतले कांग्रेस र एमालेले ढालोस् भन्ने योजना बनाएको बुझिन्छ ।

‘हाम्रो सरकारले चाहे अनुसार काम गर्न सकेन । गठबन्धन भित्रका ठूला दल कांग्रेस र एमालेले असहयोग गर्यो । त्यसकारण सरकारमा बसिरहनुले पार्टीप्रति मानिसमा थप गलत धारणा बन्दै जान्छ’ जनमतका एक केन्द्रीय सचिवालय सदस्यले भने ‘सरकार आफैं छाड्दा गलत सन्देश जान्छ । बरु कांग्रेस र एमाले सत्तामा भएर पनि गरेको असहयोग बाहिर खुलेरै ल्याऔं । हटाउँछन् भने हटाओस् भन्ने हाम्रो पार्टीको लाइन हो ।’

अर्का एक सचिवालय सदस्यका अनुसार गत १६ पुसमा बसेको जनमतको केन्द्रीय सचिवालय बैठकमा पनि सरकारबारे छलफल भएको थियो । १२ जना सहभागी त्यो बैठकले सरकारमा रहेर पार्टीलाई घाटा भएको निष्कर्ष निकालेको थियो । ‘सरकार छाड्ने कुरा उठ्यो । तर यसमा कुनै निर्णय भएन । अन्य साथीहरू त्यसविरुद्ध पनि बोल्नु भएन’ उनले भने ।

त्यही रणनीतिमा जनमतका नेताहरु देखिन्छन् । ‘त्यस कारण १९ गते राति जनमतको सचिवालय फेसबुक पेजबाट कांग्रेस र एमालेप्रतिको गम्भीर आरोप सार्वजनिक भयो । र अध्यक्षजीले खुलेरै संचार माध्यममा कांग्रेस एमालेविरुद्ध बोल्न थाल्नुभयो’ ती नेता भन्छन् ।

जनमतका प्रवक्ता शरदसिंह यादव भने कांग्रेस र एमालेले सरकार ढालोस् भन्ने कुराको खण्डन गर्छन् । ‘गठबन्धनमा रहेर सरकारलाई गरिरहेको असहयोगको कुरा हाम्रो पार्टीले बाहिर ल्याइरहेको छ । यो उनीहरुले सरकार ढालोस् भन्ने हाम्रो रणनीति होइन’ उनले भने ।

सत्ता घटक एमाले सांसद शारदा देवी थापा जनमतले आफैं काम गर्न सकेर सत्ता सहयात्रीलाई आरोप लगाएको बताउँछिन् । ‘कांग्रेस र एमालेमाथि जनमतको आरोप सरासर गलत हो । आफैं काम गर्न नसकेर हामीमाथि गम्भीर आरोप लगाइरहेका छन् । यस विषयमा पार्टीमा छलफल भएको छैन’ उनले भनिन् ।

कांग्रेस नेता यादव भने जनमत पार्टीको गतिविधिबारे पार्टी केन्द्रले नै टुंगो लगाउने बताउँछन् । यद्यपि कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन केही महिनादेखि प्रयास गरिररहेको छ । खुलेरै कांग्रेस नेताहरुले मधेश सरकार असफल रहेकाले अब कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने भन्न थालेका थिए ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?