हरेक नयाँ यात्राका क्रममा मनमा अनौठो उत्साह पैदा हुन्छ, जसले पुराना सीमाहरूलाई तोडेर नयाँ सम्भावनाहरूको ढोका खोल्छ।
दशैँ-तिहार समयको बिदाको उपयोग गर्ने हेतु प्रत्येक वर्ष पोखरा महानगरपालिका-१० रामबजारस्थित कालिका माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीले अवलोकन भ्रमण गर्दै आएका छौं ।
यो वर्ष कास्की, स्याङ्जा, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, दैलेख, जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व- बाग्लुङ, पर्वत हुँदै पुन: कास्कीसम्मको भ्रमण गर्यौं ।
पहिलो दिन : सिद्धार्थ राजमार्गको यात्रा, कोहलपुरमा बास
असोज महिनाको बाढी पहिरोका कारण यात्रा एक डरलाग्दो विषय बनिरहेको थियो । तर यात्रा भनेकै आँटिला मानिसहरूको परीक्षा हो भनेर हामीले यात्रा सुरु गर्यौं । विद्यालयका २९ जना शिक्षक-कर्मचारीले १ कात्तिकमा भ्रमण सुरु गर्दा बिहान चिसो हावा चलिरहेको थियो, आकाश हल्का नीलो र सुनौलो रंगले रंगिदै थियो।
पोखराबाट स्याङ्जा, पाल्पा हुँदै बुटवल झर्ने सिद्धार्थ राजमार्गको सडक साँघुरो र घुमाउरो थियो । दायाँबायाँ हरियालीले भरिएको थियो। हरेक घुम्तीमा नयाँ दृश्यको पर्दा खुल्दै जान्थ्यो, मानौँ प्रकृतिले आफ्नो सुन्दरता क्रमशः उजागर गर्दैछ।
साथीहरूमाझ आफ्नो अनुभवहरु सुनाउँदै, रमाइला कहानीहरु भन्दै हाम्रो यात्रा अगाडि बढिरहेको थियो। पहिले नै घुमेका ठाउँ भएको हुँदा पहिलो दिनको यात्रामा त्यस्तो खास उल्लेखनीय कुराहरू रहेनन् । पहिलो दिन कास्कीबाट स्याङ्जा ,पाल्पा, रुपन्देही-कपिलवस्तु- दाङ हुँदै बाँकेको कोहलपुरमा पुगेर बास बस्यौं ।
दोस्रो दिन : रुपैडियाको फोहोर र बर्दियाका बाँदर
२ कात्तिको सूर्योदयसँगै हाम्रो यात्रा सुरु भयो । पहिलो यात्रा थियो बाँकेको नेपालगञ्ज शहरको मध्यभागमा रहेको बागेश्वरी मन्दिर । हिन्दू धर्मावलम्बीहरुमाझ यस मन्दिर सतीदेवीको ५१ शक्तिपीठमध्ये एक मानिन्छ । सतीदेवीको जिब्रो पतन भएकाले पहिले वाक्यश्वरी, वाग्यश्वरी हुदै बागेश्वरी नाम रहन गएको जनश्रुति रहेछ ।
मन्दिरका एक संरक्षणकर्ताका अनुसार बागेश्वरीको दर्शनबाट मनोकामना पूरा हुने विश्वासमा नेपाल तथा भारतबाट दैनिक भक्तजन पूजाआजा गर्न आउँछन् । प्यागोडा शैलीमा बनेको बागेश्वरी मन्दिरमा दशैंको समयमा दर्शनार्थीको अझ भिडभाड हुने रहेछ।
मन्दिरको छानालाई अड्याउनका निम्ति कलात्मक टुँडाल रहेछन् । मन्दिरभित्र बीचमा बागेश्वरी देवीको गर्भगृह र त्यसमाथि देवीको प्रतिमा रहेछ ।
छेउछाउमा मण्डप, शनि मूर्ति, गणेश मूर्ति, नागमूर्ति, रामसीता मन्दिर, हनुमान मन्दिर, राधाकृष्ण मन्दिर पनि रहेछन् । मन्दिरको छेउमा रहेको सिद्ध पोखरीको बीचमा जुँगे महादेवको निर्माणाधीन मन्दिर रहेछ ।
बागेश्वरी मन्दिर परिसर फोहोर र दुर्गन्धित देखिन्थ्यो । तर हामीसँग कुरा गरेका मन्दिरका एक संरक्षकले दैनिक दुई पटक सरसफाइ हुने जानकारी गराएका थिए ।
मन्दिर व्यवस्थापन समिति, स्थानीय सरकार र स्थानीयबासीले नियमित सरसफाइ, फोहोरदानीको पर्याप्त व्यवस्था र सचेतना अभियानहरूको संचालन गर्ने हो भने दर्शनार्थीले नाक थुन्नुपर्ने अवस्था आउने थिएन ।
बागेश्वरीको दर्शनपश्चात् हाम्रो आँखा साँगुरा घरहरूमा पर्यो । ससाना ५ वटा घरहरू एउटासँग अर्को जोडिएर रहेका रहेछन् । उक्त घरहरूको बारेमा बुझ्न जाँदा ती घर भित्रबाट बन्द गरिएको रहेछ ।
नजिकैका घरमा बुझ्दा एउटै बाबुका ५ सन्तान बीच बेमेल हुँदा एउटा घडेरीलाई पाँच भाग लगाएर पाँच घर निर्माण गरिएको पत्ता लाग्यो। यसरी निर्माण गरिएका घरहरू देख्दा जोकोही पनि अचम्मित हुने गरेको र आएर फोटो लिने गरेको स्थानीय बासिन्दा बताउँछन् ।
बागेश्वरीको दर्शनपश्चात् हामी नेपालगन्जमा नेपाल-भारत सीमानामा रहेको भारतीय बजार रुपैडियातर्फ लाग्यौं । बाँकेका ग्रामीण क्षेत्र र बर्दिया, दाङ, सुर्खेत, दैलेख, जाजरकोट र सल्यानसम्मका सर्वसाधारण ठूलो किनमेलका लागि रुपैडिया बजार जाने हुँदा त्यहाँ नेपाली ग्राहक प्रशस्त हुन्छन् ।
यसरी धेरै मानिसहरुले भारतमा किनमेल गर्ने हुँदा नेपालतर्फका व्यवसायीले आफूहरु मर्कामा परेको गुनासो गर्ने गर्दा रहेछन् । रुपैडिया बजार किनमेलको लागि प्रख्यात भए पनि अत्यधिक फोहोर रहेछ। साथीहरूले भारतको चिया मीठो हुन्छ भने पनि फोहोरलाई कारण बनाउँदै हामी चिया/पानी केही पनि नखाई फर्कियौं ।
त्यसपछि हाम्रो यात्रा बर्दिया राष्ट्रिय निकुञ्जतर्फ मोडियो । सुरुमा कर्णाली वन्यजन्तु आरक्षको रूपमा स्थापित यो निकुञ्ज पछि बर्दिया वन्यजन्तु आरक्ष हुँदै २०४५ मंसिर २० गते बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा घोषणा भएको रहेछ ।
तराईका राष्ट्रिय निकुञ्जहरूमध्ये सबैभन्दा ठूलो ९६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्ज बर्दिया जिल्लाका कर्णाली र बबई नदीका केही भाग समेटेर निर्माण गरिएको रहेछ । निकुञ्ज अन्तर्गत चुरेको माथिल्लो भागतिर केही सल्लाका जंगलहरू रहेछन् भने तराईको धेरैजसो भाग सालको जंगलले ढाकेको र बीचमा घाँसे मैदान रहेछ ।
पाटे बाघ, एक सिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिंगा र जंगली हात्ती लगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु यस निकुञ्जमा पाइने रहेछन् । जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइने रहेछन । यस निकुञ्जमा हालसम्म ४३८ थरी रैथाने र बसाईं सरी आउने चराहरूको अभिलेख गरिएको रहेछ ।
हामी आफ्ना सबै सामानहरु बसभित्र राखेर निकुञ्ज घुम्न जाने तरखरमा थियौं । फोटो खिच्ने बेला शिक्षक साथी विजयलक्ष्मी कोइरालाले भुइँमा राखेको ब्याग खोलेर बाँदरले खानेकुरा लिएर भाग्यो ।
बाँदरको त्यस्तो हर्कत देखेका हामीले बसका सम्पूर्ण झ्यालढोका बन्द गरेर निकुञ्ज प्रवेश गर्यौं । समय कम भएकाले हामीले जंगल सफारी गरेनौं, तर प्रवेशद्वार नजिकै रहेको संग्रहालय, गोही र कछुवाको प्रजनन केन्द्र र एउटा पाटे बाघ हेरेर फर्कियौँ । टाढाबाट हेर्दा हाम्रो बसमा बाँदरसेनाले राज गरिरहेका रहेछन् ।
सबैतिर बन्द गरेको बसको भेन्टिलेसनबाट छिरेर सबैको ब्यागबाट खानेकुरा झिकेर बाँदरहरुले खाँदै रहेछन्, ब्याग भने नच्याती खोलेको देख्दा हामी अचम्ममा पर्यौं । बाँदरको बुद्धिमानीको प्रशंसा गर्दै कर्णाली चिसापानीमा अर्डर गरेको बिहानको खाना खान पुग्यौं ।
खाना खाएर हाम्रो यात्रा महेन्द्रनगरतर्फ अगाडि बढ्यो। करिब डेढ घण्टाको यात्रापछि पूर्व-पश्चिम राजमार्गको छेउमै कैलाली जिल्लाको पहलमानपुर र सुखडको बीचमा पर्ने जंगलमा रहेको प्रसिद्ध रमणीय घोडाघोडी ताल पुग्यौं । स्थानीयको भनाइ अनुसार यो ताल सातवटा थारू जातिको बसोबास रहेको गाउँ डुबेर बनेको मानिने रहेछ ।
मानिसको हातजस्तै आकारको ताल १३८ हेक्टरमा फैलिएको रहेछ र औसत गहिराइ ४ मिटर रहेछ । यो तालको आसपासमा रहेका अन्य १३ वटा ससाना तालहरू समेत गरेर घोडाघोडी सिमसार क्षेत्र घोषणा गरिएको रहेछ । घोडाघोडीमा तालैतालले ओगटेको क्षेत्रफल मात्र २४८ हेक्टर र कुल क्षेत्रफल दुई हजार ५६३ हेक्टर रहेछ । घोडाघोडी ताल र त्यहाँ नजिकैको मन्दिर अवलोकन र दर्शन गर्न ठूलो संख्यामा आन्तरिक र बाह्य पर्यटक पुग्ने रहेछन् ।
विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा नेपालगञ्जदेखि तीन घण्टामा पुगिने रहेछ । यो ताल दुर्लभ वनस्पति र चरा प्रजातिको संरक्षित क्षेत्र मानिने रहेछ । त्यस्तै रैथाने प्रजातिका दर्जनौँ माछा, दुर्लभ रातो टाउके कछुवा र दुर्लभ गोहीको प्रजननस्थल पनि मानिने रहेछ घोडाघोडी ताल ।
ताल र सिमसार क्षेत्र वरपर अति लोपोन्मुख मानिने जङ्गली धानसमेत पाइने स्थानीय बासिन्दाहरु बताउँछन् । घोडाघोडीमा ३१ प्रजातिका माछा, १४८ प्रजातिका चरा, ३२ प्रजातिका पुतली, ११ प्रजातिका गोही, ७ प्रजातिका घस्रिने जन्तु, ४५० भन्दा बढी प्रजातिका वनस्पति रहेछन् । हामी घोडाघोडी सिमसार क्षेत्रको अवलोकन पश्चात् कंचनपुरको महेन्द्रनगर गएर भोलिको योजना बनाउँदै बास बस्यौँ।
तेस्रो दिन : चाँदनी दोधरादेखि डडेल्धुरासम्म
कञ्चनपुरको सुदूर पश्चिमी क्षेत्र चाँदनी दोधराबाट बिहानीको सौन्दर्यको अवलोकन गर्ने गर्ने हाम्रो इच्छा पूरा हुँदै थियो । घाम छिप्पिंदै जाँदा आकाशले आफ्नो रंग फेर्न थाल्यो ।
पहिल्यै उज्यालो र नीलो देखिएको आकाश सुन्तला रङमा रङ्गिन लागेको थियो । क्षितिजको रेखा अलिकति रातो र सुनौलो मिश्रणले उज्यालिँदै गयो । पश्चिमतिरका बादलहरू घामको झुल्कोसँग सुनौला र गुलाबी रंगमा रङ्गिएका थिए, र विस्तारै ती रंगहरू मन्द हुँदै गए।
हामी महाकाली नदीको किनारतिर लम्किंदै थियौँ। नदीको शीतल हावा छातीभित्र पसेर एकदमै आनन्ददायी अनुभूति दिइरहेको थियो । नदीको पानी हल्का तरंगित भएर बगिरहेको थियो ।
नदी किनार वरपर म त्यहाँको ग्रामीण जीवनको झलक पाउँदै थिएँ। किसानहरू धानखेतमा थ्रेसर लगाइरहेका थिए, गाईवस्तुहरू वथानमा चर्न लागिसकेका थिए। बिहानको उज्यालो सँगसँगै चाँदनी दोधरा जीवन्त हुन थाल्यो। हामी नदी किनारको पक्की पुलतर्फ लाग्यौं, जुन नेपाल र भारतलाई जोड्ने एउटा महत्त्वपूर्ण संरचना हो। पुलबाट महाकालीको लहर लहर बगिरहेको पानीलाई हेर्दै म केहीबेर मौन रहेँ।
पक्की पुल तरेर चाँदनी दोधराको भ्रमण गरेर हामीले नेपालको लामोमध्येको झोलुंगे पुल (लम्बाइ : १४५२.९६ मिटर) को अवलोकन गर्न गयौं । पुलमा केही समय सम्झनाहरु कैद गरेर चिया नास्ता गर्नतर्फ लाग्यौं ।
चाँदनी दोधरा पुलको गेटमा पाकेको चिया र पकौडाको गर्मजोशीले हाम्रो शरीर तातो पार्यो, मसालेदार पकौडाको कुरकुरीपन र चियाको मिठासले स्वादमा सन्तुलन मिलाउँदै एक अनमोल अनुभव दियो ।
हामी चाँदनी दोधराबाट फर्किएर महेन्द्रनगर नमूना माध्यमिक विद्यालय कञ्चनपुरको अवलोकन गर्न गयौं । यो भ्रमणको प्रमुख उद्देश्य शिक्षण प्रविधि, विधि र शैक्षिक सुधारका नयाँ तरिकाहरूको आदान-प्रदान गर्नु थियो।
सहभागी हामी शिक्षकहरूले आफ्ना अनुभवहरू साझा गर्दै विभिन्न शिक्षण विधिहरूको प्रभावकारिता, विद्यार्थीहरूको सिकाइमा देखिएका सुधार र शिक्षणका क्रममा सामना गरिएका चुनौतीहरूको बारेमा खुलेर छलफल गर्यौं ।
महेन्द्रनगर नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज भट्टले पढ्दै कमाउँदै, समूह क्रियाकलाप, प्रोजेक्ट-आधारित सिकाइ र प्रविधिको प्रयोग जस्ता विषयमा आफ्नो अनुभव र दृष्टिकोण प्रस्तुत गर्नुभयो । हाम्रो विद्यालय कालिका नमुना माध्यमिक विद्यालय रामबजारका प्रधानाध्यापक बलराम गिरीले सामुदायिक सहभागिता र स्थानीय स्रोतको प्रयोगलाई प्राथमिकता दिँदै शिक्षणमा ल्याएको प्रभावबारे आफ्ना विचार राख्नुभयो ।
हामी सहभागी शिक्षकहरूले यस्तो अन्तर्क्रियात्मक प्रयासहरूले विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक प्रभाव पार्नसक्ने विश्वास व्यक्त गर्दै एकअर्कालाई धन्यवाद दिएर विदा भयौं ।
त्यसपछि हाम्रो यात्रा दुर्गालक्ष्मी नमूना माध्यमिक बिद्यालय अत्तरियातर्फ अगाडि बढ्यो । शनिबारको दिन परेको हुँदा शिक्षकहरुसँग भेट हुन सकेन, भौतिक संरचनाको अवलोकन गरेर डडेल्धुरातर्फ लाग्यौं।
अत्तरियादेखि डडेलधुरा बजारसम्मको सडक सुदूरपश्चिम नेपालको प्रमुख पहाडी सडक मार्ग रहेछ। झन्डै १४० किलोमिटर लामो यो यात्रा घुमाउरो र उकालो—ओरालो बाटोहरूसँगै प्राकृतिक सुन्दरताले भरिएको रहेछ। हरियाली जंगल, पहाडका मनमोहक दृश्य र गाउँबस्तीहरूको झल्को बाटोभरि पाइयो। सडक स्तरीय भए पनि कतैकतै उबड-खाबड र साँघुरा मोडमा डर लाग्ने रहेछन् ।
हत्तपत्त फोल्डिङ सिट नपाउने मैले भासुको भिरमा पुग्दा झ्यालकै सिट पाएको रहेछु । झ्यालबाट यसो बाहिर हेर्दा गहिरो डरले मुटुको चाल बढिहाल्यो । पोखरादेखि एक्लैले बस कुदाएर लगेका मंगल ड्राइभरलाई हेरेँ । उनी एकनासले बस हाँकिरहेका थिए । माथि हेर्दा आकाशमात्र देखिन्छ, तल हेर्दा भीर मात्र देखिन्छ । दायाँतिर गारो लगाएर उठाएको जस्तो सुलुत्त परेको चट्टाने पहाड छ । बल्लतल्ल चट्टान खोपेर कन्दनीजस्तो कोरिएको सडक छ । झुक्किएर सडकबाहिर चालकका आँखा परे भने त्यो गहिराइले रिँगटा लागेरै असन्तुलित बन्न बेर छैन ! मान्छेले चट्टान र पहाडसँग लडेर प्रकृतिलाई आफूअनुकूल बनाउन सक्तछ भन्ने एउटा उदाहरण भेटेँ मैले भासुको भीर ।
घाम विस्तारै छिप्पिंदै जाँदा आकाशले आफ्नो रङ फेर्न थाल्यो । पहिल्यै उज्यालो र नीलो देखिएको आकाश अहिले सुन्तलाको रङमा रङ्गिन लागेको थियो । क्षितिजको रेखा अलिकति रातो र सुनौलो मिश्रणले उज्यालिँदै गयो। पश्चिमतिरका बादलहरू घामको झुल्कोसँग सुनौला र गुलाबी रंगमा रङ्गिएका थिए र विस्तारै ती रंगहरू मन्द हुँदै गए।
वरपरका रुखका टुप्पाहरूमा अब उज्यालोको छायाँ कम हुँदै थियो र विस्तारै अँध्यारो बढ्दै गयो। चराहरू आ-आफ्ना गुँडतिर फर्किएका थिए, र हावामा अब दिनभरको गर्मीको सट्टा चिसोपनको अनुभूति हुन थाल्यो। अत्तरियाबाट झण्डै ५ घण्टाको यात्रापश्चात हामी डडेलधुरा बजार गएर बास बस्यौं ।
चौथो दिन : देउडा नाच र अमरगढी किल्ला
साँघुरो बाटोबाट गुज्रँदै, मध्यपहाडको सुरम्य दृश्य आँखाअघि फैलिएको छ। हरियाली जंगल, तल बगिरहेको सुस्केरा मार्ने खोलाको संगीत र परपर देखिने सेताम्य हिमालको श्रृंखलाले मनलाई रोमाञ्चित बनाएको छ ।
पहाडका छरिएका घरहरू, परम्परागत छाना र खेतबारीमा व्यस्त किसानहरूको दैनिकीले यहाँको जीवनको सरलता र संघर्ष झल्काइरहेछ । कतै मन्दिरको घण्टीको आवाजसँगै गाउँलेहरूको बोलीले स्थानीयपनको मिठास दिइरहेको छ ।
चौथो दिन बिहानै हामी गेष्टहाउसका कर्मचारीसँग सिकेर देउडा नाच्यौँ। पश्चिम नेपालका मेला, चाडपर्व, जात्रामा गाइने एक प्रकारको नृत्य प्रदान गीत देउडा !
मनका बिलौना मेट्नको लागि र आफूमा भएको खुशी र दुखलाई अरुसँग साटासाट गर्नको लागि सजिलो भवानात्मक उपाय देउडा ! अपरिचित मान्ठसँग परिचय माग्ने शैली देउडा ! निकै रमाइलो शैलीमा समूहमा नाचिने देउडा नृत्यले हाम्रो मन मुटुमा अमेट छाप छाड्न सफल भयो ।
त्यसपछि हामी डडेलधुरामा अवस्थित उग्रताराको मन्दिर दर्शन गर्न लाग्यौं । सुदूरपश्चिमको डडेल्धुरा भौगोलिक रूपमा विकट भनेर चिनिन्छ, तर प्राकृतिक रूपमा धेरै रमणीय पनि रहेछ ।
यस क्षेत्रमा धार्मिक पर्यटनका पनि आकर्षक गन्तव्यहरू रहेछन् । त्यसैमध्येको एक हो, डडेल्धुराको अमरगढी नगरपालिका— ७, पोखरामा अवस्थित उग्रतारा मन्दिर ।
यो मन्दिर डडेल्धुरा सदरमुकाम बागबजारदेखि चार/पाँच किलोमिटर पश्चिमपट्टि रहेछ । प्यागोडा शैलीमा निर्मित यो मन्दिरलाई नेपालको सूदूरपश्चिमका ९ भगवतीका मन्दिरहरूमा एक मन्दिर मानिने कुरा मन्दिरका पुजारीले जानकारी दिनुभयो ।
दिनहुँ सयौं भक्तजनहरू पूजाआजा गर्न आउने यो मन्दिर गतवर्ष सरकारले छनोट गरेका १०० नयाँ पर्यटकीय गन्तव्यमा परेको रहेछ ।
त्यहाँ भेटिएका एकजना पुजारीका अनुसार धेरै वर्ष उग्रतारा भगवती रहेको स्थान नजिक लटाउली गाउँमा साँकी जातीको बसोबास रहेको थियो रे । हाल रहेको उग्रतारा भगवतीको मन्दिरको वरपर तिनै लटाउलीका साँकी जातिहरूले कृषि कार्य गर्दथे ।
एक दिन तिनै साँकी जातिका एक जना किसानले जोतिरहेको हलोको एउटा ढुंगामा अड्कियो र त्हाँबाट निरन्तर रगतको धारा बगिरह्यो । ती साँकीले रगत रोक्न अनेक प्रयत्न गर्दा पनि रोकिएन । रगत धेरै आउँदा रगतको खोला बग्न सुरु भयो । हाल पनि यो खोला यही मन्दिरका तलन्वा खोलाको नामले चिनिने रहेछ ।
यसरी बग्दै रहेको रगत रोक्न तिनै किसानले आफूलाई खान ल्याएको खिचडी (मासबाट बनेको) सोही शिलाको फाली लागेको घाउमा लगाउँदा रगत बग्न रोकियो ।
त्यसपछि त्यस शिलालाई सुरक्षित गरी मन्दिर निर्माण गरियो । त्यसपछि ती किसान नै त्यहाँको पुजारी भएको रहेछन् । हामीले त्यहाँ पूजाआजा गर्यौं र बस चढेर अमरगढीतर्फ हुँइकियो।
डडेल्धुराको अमरगढी नगरपालिका ५ खलंगामा बडाकाजी अमरसिंह थापाले राज्य विस्तार गर्ने क्रममा स्थापना गरेको ऐतिहासिक अमरगढी किल्ला करिब ६ हजार ५०० फिट उचाइमा अवस्थित रहेछ ।
किल्ला निर्माणका लागि ठूला—ठूला ढुङगा प्रयोग गरिएकाले यो किल्ला निकै कलात्मक रहेछ । एकीकरण अभियानका बेला १९४७ भदौ ३१ गते सेती नदीको नारीदाङ भन्ने स्थानमा गोरखाली फौजले डोटेली फौजलाई युद्धमा हराएपछि कर्णाली र पश्चिमी भूभागमा युद्ध गर्न अमरसिंह थापा प्रथम प्रशासक नियुक्त भएका थिए भन्ने इतिहास पाइन्छ ।
तिनै अमरसिंहले आफू नियुक्त भएपछि यस क्षेत्रको संरक्षण तथा महाकाली पारी पश्चिम काकँडासम्म विजय अभियानलाई जारी राख्न यो किल्ला निर्माण गर्न लगाएका रहेछन् । त्यसैले यो अमरगढी किल्लाको रुपमा परिचित रहेछ ।
विसं १९४७ मा निर्माण भएको यही किल्लालाई आधार बनाएर गोरखाली फौजले युद्ध लडेको रहेछ । किल्लाभित्र युद्ध गर्न २२ वटा गुफाहरु बनाइएको रहेछ ।
पहिले किल्लामा पाँचवटा तोप, दर्जनौं घरेलु हतियार, एक सय जति बन्दुक, बम र गोला बारुद बनाउने छट्टै घर, सैनिक पोशाक लगायतका सामाग्रीहरु थिए रे । तर अहिले किल्ला हेर्न आउने पर्यटकले ती कुनै पनि देख्न पाउँदैनन् । किल्ला हेर्न आउने सर्वसाधारणबाट ५० र विद्यार्थीलाई २० रुपैयाँ प्रवेश शुल्क लिइने रहेछ ।
२२ वटा ढोका र गुफाको चारै किल्ला मासको गाहरोले( विशेष गरी माटो, गोबर, र पानी वा लोसन (कहिलेकाहीँ मास मिसाएर) मिलाई बनाइएको लेदिलो लेपनलाई जनाउँछ, जसलाई घरको भित्ता वा भुइँ लिपपोत गर्न प्रयोग गरिन्छ।) पोतिएको रहेछ । शत्रुलाई छल्न अस्त्र निरोध गर्ने मार्गहरुको निर्माण गरिएको रहेछ । किल्लाको बीचभागमा उग्रभैरवको मूर्ति रहेको रहेछ । घुमेर फर्किनै लाग्दा पूर्णबहादुर गुरुङ सरले किल्लाभित्र ५० मिटर लामो गुफा रहेको जानकारी गराउनुभयो ।
बादलले ढाकेको हुँदा हामीले हेर्न नपाए पनि यस किल्लाबाट चारैतिर दृश्यावलोकन गर्न सकिने रहेछ । यहाँबाट लसक्या लेख, डोटी गौडा र भारतको कुमाउ गढवाल लगायतका उच्च पहाडी भाग सजिलै देख्न सकिने स्थानीय बासिन्दाले बताए । अमरगढी किल्लाको मूलगेटमा अमरसिहं थापाको सालिक राखिएको छ ।
अमरगढीको अवलोकन गरेपछि हामी डोटीको शिलगढीतर्फ गयौं । सिलगढी पुगेपछि त्यहाँ निकै पारिवारिक माहोलमा खाना खाने अवसर मिल्यो। खाना खाने क्रममा त्यहाँका बासिन्दाको भाषाशैलीले हामीलाई निकै प्रभावित पार्यो ।
खाना खाएको होटेलकी १०/१२ वर्षाकी नानीले कुलप्रसाद सुवेदी सरसँग तिमी भन्दै गरेको वार्तालाप र होटेलमा हामीलाइ पुग्ने यथेष्ट खाना नहुँदा साथीहरू आफैंले खाना बनाएर खाएको बिषय हाम्रा लागि दिनभरिको रमाइलो खुराक बन्यो ।
सुदूरपश्चिमका नौ भगवतीहरूका मन्दिरमध्ये एक प्रसिद्ध धार्मिक ऐतिहासिक तथा पर्यटकीय तीर्थस्थल शैलेश्वरी मन्दिर डोटीको दिपायल शिलगढी नगरपालिका-१ शैलेश्वरीमा रहेछ । यहाँ देवीको नित्य पूजा सिलगाउँ निवासी भट्ट ब्राम्हणद्वारा हुने कुरा स्थानीयबाट थाहा पाइयो ।
यहाँ प्रत्यक बर्ष जेठ र कात्तिक पूर्णिमाका दिन लक्षबहन महायज्ञ प्राचीन कालदेखिनै हुँदै आएको रहेछ । शिव र पार्वती आफ्नो विवाह पश्चात मधुचन्द्रिका अर्थात हनिमुनका निम्ति यस रमणीय चन्द्रगिरी पर्वतलाई रोजेका थिए भन्ने भनाइ पाइन्छ ।
ब्रम्हा, विष्णुलगायत विभिन्न देवताहरु शिवको खोजी गर्दै यहाँ आइपुग्दा पार्वतीले देवताहरुलाई देखेर लज्जास्वरुप शिला वनेको हुनाले त्यसै बेलादेखि यसलाई शिलादेवी अर्थात शैलेश्वरी देवी भनिएको किंवदन्ती रहेछ ।
यहाँ प्रत्येक १२ वर्षमा कोटीहवन महायज्ञ र १४४ वर्षमा महाकोटी हवन महायज्ञ लाग्ने रहेछ । प्यागोडा शैलीमा निर्मित यो मन्दिर कलात्मक र आकर्षक छ । शैलेश्वरी परिसरमा अन्य सात वटा मन्दिरहरु पनि छन् । ती हनुमान कुण्ड, शिव मन्दिर, गणेश मन्दिर, भैरव मन्दिर, मष्टा मन्दिर र चण्डेश्वरी मन्दिर हुन् । यो मन्दिरमा प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाको दिनमा मेला लाग्ने गर्छ । यहाँ पूजा गरे मनोकामना पूरा हुने विश्वास रहेछ तर हामी ढिला पुगेको हुनाले मन्दिर बन्द भइसकेको थियो । शैलेश्वरीको दर्शन गरेर हामी दैलेखको राकम कर्णालीतर्फ अगाडि बढ्यौं ।
थकाइले चूर हुँदा पनि शिखरमा पुग्दा, सफलताको आनन्दले सम्पूर्ण पीडा भुलियो । लामो र कठिन यात्राले शरीरलाई कष्ट दिए पनि आत्मालाई उत्साह र सन्तुष्टि दिएको महसुस भयो । बिहानदेखि करिब २२५ किलोमिटरको यात्रापछि हामी राकम कर्णाली गएर बास बस्यौँ ।
पाँचौ दिन : जाजरकोटमा बास पाउन मुश्किल
राकम कर्णालीमा परम्परागत घरहरू, हरियाली वनजङ्गल, शान्त बहिरहेकी कर्णाली नदीको सुसाइ र यहाँका स्थानीय जनजीवन सबैले मोहित बनायो । निजी जीवनका पाटालाई कुनै कुनामा थन्क्याएर साथीहरूको साथमा म दैलेखको सुन्दरताको कथा लेख्न निस्केको थिएँ।
प्राचीन कालदेखि नै देवभूमि र पवित्र भूमिका रुपमा प्रसिद्ध दैलेख जिल्लाका प्रमुख धार्मिक स्थलहरुमा श्रीस्थान, नाभीस्थान, पादुकास्थान, तल्लोडुडेश्वर कोटिला र धुलेश्वर रहेछन्, जसलाई पञ्चकोशी पनि भनिने रहेछ ।
यिनीहरुमध्ये श्रीस्थान, नाभिस्थान र पादुकास्थानमा परापूर्वकालदेखि ज्वाला प्रज्वल्लित रहेछन् । स्थानीय राजनीतिज्ञ सुरेन्द्रजंग भण्डारीका अनुसार नारायण, बेलासपुर भैरव, बज्रभैरव, गणेश, चामुण्डा देवी, कालिकादेवी, भवानी, डुगेश्वर, विन्द्रासैनी, छडदेवी, मालिकादेवी, बुकिमाई, भैरवी, आदि दैलेख जिल्लामा भएका मूख्य मन्दिरहरु रहेछन् ।
दैलेखको पञ्चकोशी तीर्थस्थलमध्ये एक रहेछ शिरस्थान मन्दिर । दुल्लु नगरपालिकाको रावतकोटमा रहेको यो मन्दिर शिरस्थान खोलाको नजिकै रहेछ ।
महादेवले सतीदेवीको मृत शरीरलाई बोकेर यत्रतत्र घुम्ने क्रममा यस क्षेत्रमा आइपुग्दा सतीदेवीको शिर पतन भएको विश्वास रहेछ । शिरस्थानमा ५ वटा प्राकृतिक ज्वालाहरु रहेछन् । ती ज्वालाहरु निरन्तर बलिरहने हुनाले धार्मिक साथै वैज्ञानिक दृष्टिले पनि आकर्षक मानिने रहेछ ।
शिरस्थानमा इन्धन विना पनि निरन्तर बलिरहने शाश्वत ज्वाला वा अक्षय ज्वाला लाई धार्मिक दृष्टिकोणबाट भगवान शिवको शक्ति र उपस्थितिको प्रतीक मानिने रहेछ। हिन्दू धर्मावलम्बीहरूमाझ यो ज्वालाको दर्शन गर्दा मनोकांक्षा पूरा हुने र पाप नाश हुने विश्वास रहेछ ।
वैज्ञानिक दृष्टिकोणले हेर्दा, शिरस्थानको ज्वाला एक प्राकृतिक ग्यास ज्वाला हो। दैलेख क्षेत्रको भूगर्भीय संरचनाका कारण भूगर्भ भित्र रहेको पेट्रोलियम र ग्यासको भण्डारबाट सतहसम्म ग्यास आउँछ । यो ग्यासले एक ठाउँमा जमेर प्राकृतिक रूपमा ज्वालाको रूप लिएको छ।
यस क्षेत्रको माटो र चट्टानमा रहेको पेट्रोलियम र ग्यास जमिनको सतहमा आउने क्रममा स्वतः प्रज्वलित हुन्छ, जसले गर्दा निरन्तर ज्वाला बलिरहेको देखिन्छ । यो प्रकारको ग्यास ज्वाला विश्वका अन्य स्थानहरूमा पनि देखिएको छ र वैज्ञानिकहरू यसलाई अनन्त ज्वाला वा इन्फिनिटी फ्लेम पनि भन्छन् ।
यो प्राकृतिक ग्यास प्रज्वलनको प्रक्रिया भूगर्भीय गतिविधिहरू, चट्टानको प्रकार र भू-तापीय दबाबका कारण सम्भव हुन्छ । वैज्ञानिक दृष्टिकोणले यो ज्वाला कुनै चमत्कार नभएर भूगर्भीय क्रियाकलापको परिणाम हो।
शिरस्थानको दर्शन पश्चात् हाम्रो यात्रा दैलेखको भैरवी गाउँपालिकाको जलजलामा रहेको पेट्रोलियम पदार्थको उत्खनन सम्भाव्यता अध्ययनको लागि चलिरहेको अन्वेषणकेन्द्रतर्फ अगाडि बढ्यो । त्यहाँ चीन सरकारको २ अर्ब ४० करोड रुपैयाँ आर्थिक र प्राविधिक सहयोगमा पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु भएको रहेछ ।
त्यहाँ कार्यरत खानी तथा भूगर्भ विभागका भूगर्भशास्त्रीका अनुसार ४ हजारदेखि ४ हजार ५ सय मिटरसम्म गहिरो ड्रिल गरेर अन्वेषणको काम गर्ने योजना छ ।
त्यसपछि यस स्थानमा पेट्रोलियम पदार्थको भण्डार कति छ र त्यसको उत्खनन सम्भावनाबारे अध्ययन गरिने हामीलाई जानकारी दिइयो । हालसम्म दुई हजार ६१२ मिटर गहिराइसम्म ड्रिल गरिएको रहेछ । त्यहाँको अवलोकन पश्चात् हाम्रो यात्रा दैलेख बजार हुँदै जाजरकोटको थवाङ्तर्फ अगाडि बढ्यो।
मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डको अवस्था निकै कहालीलाग्दो रहेछ । ठाउँठाउँमा पहिरोले पुरेको, कुनै ठाउँमा निर्माणाधीन बाटो देख्दा हामी सबै साथीहरू एकाअर्कालाई हेर्नमात्रै सक्थ्यौँ तर बोल्न नसक्ने अवस्थामा पुगेका थियौँ ।
घुम्ती, कच्ची र साँघुरो सडक छिचोल्दै १० बजे राति हामी जाजरकोटको सदरमुकाम पुग्यौं । थकित शरीरलाई आराम दिन गेस्ट हाउस खोज्दा कहीं पनि उपलब्ध थिएन ।
शहरको हलचलभन्दा टाढा, गगनचुम्बी पहाडको टुप्पोमा अवस्थित यो सानो बस्तीमा केही समयलाई असहायजस्तै महसुस भयो। स्थानीय मानिसहरू धेरै सहयोगी थिए तर, रात बिताउने सुरक्षित स्थानको अभावले मनमा डर र असजिलोपन थपिदियो। अन्ततः करिब दुई घण्टाको अनवरत सोधीखोजी पछि एउटा गेस्टहाउस भेटियो । चिसो सिरेटोले दुखेको शरीरलाई झन् कमजोर बनायो । यस्तो यात्रा, जसमा गन्तव्यमा पुगे पनि उचित आश्रय नपाइने, एक प्रकारको भोगाइ र सिकाइ दुवै रह्यो ।
छैटौं दिन : जाजरकोटदेखि पोखरा
जाजरकोटबाट बिहानै हाम्रो यात्रा मध्यपहाडी लोकमार्ग हुँदै सानीभेरी तरेर रुकुम पश्चिमतिर रह्यो । त्यहाँ पुग्दा त्यहाँका अग्ला पहाडहरू र गहिरा उपत्यकाले मलाई अचम्ममा पारे । लोकमार्गले स्थानीय जनजीवनमा नयाँ आशा र प्रगतिका अवसर ल्याएको रहेछ। यो यात्रा साँच्चिकै भौगोलिक विविधता, सांस्कृतिक सम्पदा, र प्राकृतिक सौन्दर्यको अवलोकन गर्ने अनुपम अवसर रह्यो।
रुकुम पश्चिम हुँदै रुकुमपूर्वको सिस्ने गाउँपालिका- ५ रुकुमकोटमा पुगेर हामीले बिहानको खाना खायौँ । खाना खाइसकेपछि हामीले त्यहाँ नजिकैको कमल दहको अवलोकन गर्यौं । यो दह १६ सय वर्गमिटर क्षेत्रमा फैलिएको रहेछ ।
तालको शान्त जलमा परावर्तित हिमालहरूको छवि हेर्दा मनमा अद्भूत आनन्द भयो । तालको किनारमा बसेर त्यहाँका बासिन्दासँग केही बेर कुरा गर्यौं । उनीहरूको सरल जीवनशैली र स्थानीय कला-संस्कृतिबारे धेरै नयाँ कुरा जान्ने अवसर प्राप्त भयो ।
स्थानीयले आफूले भोगेका संघर्ष र चुनौतीहरूबारे सुनाउँदा त्यो यात्रा थप अर्थपूर्ण बन्यो । लोकमार्गले रुकुमकोटलाई बाहिरी संसारसँग जोडेको भए पनि, यो ठाउँले आफ्नो मौलिकता र संस्कृति जोगाइरहेको देखेर खुशी लाग्यो ।
रुकुमकोट साँच्चिकै एक अनुपम गन्तव्य हो, जहाँ प्रकृति र संस्कृतिको संगमले यात्रालाई अविस्मरणीय बनाउने रहेछ । रुकुमकोटको अवलोकन गरेर हाम्रो यात्रा मध्यपहाडी लोकमार्ग हुँदै पोखरामा पुगेर टुङ्गियो ।
प्रतिक्रिया 4