१७ कात्तिक, बुटवल । सधैं सुनसान रहने पाल्पाको तिनाउ गाउँपालिका-३ को बसन्तपुर डाँडो अहिले प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बनेको छ ।
स्थानीय लक्ष्मण गौतमले अढाइ दशकअघि नै बुटवलबाट बसन्तपुर डाँडो जोड्ने केबलकार परिकल्पना गरेका थिए । तर, परिकल्पनालाई व्यवहारिक रुपान्तरण गर्न उनीसँग लगानी थिएन ।
भनिन्छ– जहाँ इच्छा, त्यहाँ उपाय । गौतमले २०५३ सालमै स्थानीय लगानीकर्तालाई समेटेर करिब एक सय रोपनी जग्गा खरिद गरी केबलकार निर्माण प्रक्रिया सुरु गरे । तर, पर्याप्त पूँजी जुटाउन नसक्दा निर्माण सम्पन्न हुन सकेन, परियोजना अलपत्र पर्यो ।
जब ५ वर्षअघि चन्द्रप्रसाद ढकाल समूहको आईएमई ग्रुप उक्त केबलकार निर्माणको नेतृत्व लिन तयार भयो, लगत्तै परियोजना निर्माण केवल २ वर्षमै सम्पन्न भयो । १५ जेठ २०८० देखि व्यवसायिक रूपमा सञ्चालनमा आएको केबलकारको माथिल्लो स्टेशन बसन्तपुर डाँडोमा रहेको छ । योसँगै बसन्तपुर प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बनेको हो ।
लुम्बिनी केबलकार सुरु भएसँगै सुनसान गाउँमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढेको छ । सञ्चालनमा आएको १७ महिनामै यहाँ तीन लाख बढी पर्यटक आइसकेका कम्पनीले जनाएको छ ।
केबलकारको माथिल्लो स्टेशन बसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माताको मन्दिरलाई पुननिर्माण गरिएको छ । यी दुई मन्दिर हिन्दू धर्मावलम्बीका लागि विशेष आकर्षण बनेका छन् ।
कामाख्या देवीको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास पछ्याउँदै नेपाल र भारतका विभिन्न शहरबाट उल्लेख्य संख्यामा भक्तजनहरू आउने गरेका मन्दिरका मूल पुजारी सुरेश पौडेल बताउँछन् ।
माथिल्लो स्टेशनमा जीप लाइन, स्काई साइक्लिङ, बाल उद्यान, रेष्टुराँ, ज्वायन्ट स्वीङ (पिङ) लगायत पूर्वाधार बनेका छन् । बसन्तपुरबाट बुटवल, तिलोत्तमा हुँदै भैरहवासम्मको दृश्यका साथै मौसम सफा हुँदा हिम श्रृंखला समेत देख्न सकिन्छ ।
‘केबलकार नबन्दासम्म यातायात, पानी लगायतका सुविधा नहुँदा गाउँलेहरू बसाइँसराइ गरिरहेका थिए, सुनसान जस्तै गाउँ थप रित्तिंदै थियो’, स्थानीय गणेश श्रीस मगरले भने, ‘अहिले दिनहुँ सयौं मान्छे घुम्न आउँछन्, गाउँ रमाइलो र गुलजार भएको छ ।’
रित्तो डाँडो यति रमाइलो बन्ला, यस्तो चहलपहल होला भन्ने कहिल्यै नसोचेको मगर बताउँछन् । ‘केबलकार बनेपछि त्यस्तो सुनसान र विकट गाउँको मुहार नै फेरिएको छ,’ उनले भने ।
केबलकार बनेसँगै विकासका यातायात, पानी, बिजुली लगायतका सुविधा थपिनुका साथै स्थानीयले रोजगारी पनि पाएका छन् । ‘सुविधा, रोजगारीसँगै स्थानीय उपजले बजार पाएका छन्, गाउँमा खुसी छाएको छ,’ श्रीसले भने । लुम्बिनी केबलकारमा झण्डै सय जनाले रोजगारी पाएकोमा अधिकांश स्थानीय रहेको उनले जानकारी दिए ।
समुद्री सतहबाट करिब एक हजार मिटर उचाइमा रहेको बसन्तपुरमा तराईमा भन्दा ७ देखि १० डिग्री सेल्सियस कम तापक्रम छ । तिलोत्तमाका अमृत पाण्डेयका गर्मी मौसममा शीतल र जाडोमा घामले न्यानो हुने भएकोले बसन्तपुर पर्यटकको लागि रोजाइको थलो बनेको छ ।
पर्यटकीयसँगै धार्मिक गन्तव्य, उपयुक्त मौसम र प्रदूषणमुक्त हावापानीका कारण बसन्तपुर भारतको उत्तर प्रदेश लगायतका पर्यटकको पनि रोजाइको गन्तव्य बनेको लुम्बिनी केबलकारका प्रबन्धक प्रज्ज्वल घिमिरेले बताए ।
घिमिरेका अनुसार १७ महिनामा २ लाख २४ हजार आन्तरिक, २४ हजार २३५ भारत सहित सार्क मुलुकका र ११२ तेस्रो मुलुकका पर्यटक बसन्तपुर आइपुगे । त्यसो त, रुपन्देही आसपासका पर्यटकहरूको पनि बसन्तपुरमा आवागमन बढेसँगै अहिलेसम्म ३ लाख १५ हजार ९१६ जना पर्यटक लुम्बिनी केवलकार चढेर बसन्तपुर पुगिसकेका छन् ।
लुम्बिनी प्रदेशको पहिलो केबलकारको माथिल्लो स्टेशन बनेपछि बसन्तपुर आकर्षक पर्यटकीय गन्तव्य बनेको बताउँछन् तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ । ‘दुई वर्ष अघिसम्म सुनसान थलो अहिले तिनाउ गाउँपालिकाको मात्र नभएर प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ’ अध्यक्ष श्रेष्ठले भने, ‘१७ महिनामा तीन लाख बढी पर्यटक आउनु धेरै सकारात्मक हो, प्रति टिकट प्राप्त हुने २ प्रतिशत करले तिनाउ गाउँपालिका र बुटवल उपमहानगरपालिकाले राम्रो आम्दानी पनि गरेको छ ।’
केबलकारले दुईस्थानीय तहलाई असोजसम्म ३० लाख ५४ हजार ८६७ रूपैयाँ कर तिरेको कम्पनीले जनाएको छ । यसबाहेक तिनाउ गाउँपालिकालाई मनोरञ्जन कर बापत एक लाख ३ हजार ६२५ रूपैयाँ तिरेको कम्पनीले जनाएको छ ।
अष्ट्रियाको डुपलमायर कम्पनीले बनाएको २.६ किलोमिटर लामो लुम्बिनी केबलकारमा रहेका २५ गोन्डलाले दैनिक ६ हजार पर्यटक आवतजावत गराउन सक्छ ।
‘लुम्बिनी केबलकार सञ्चालनमा आएपछि बुटवल र बसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिएको छ,’ लुम्बिनी प्रदेश सरकारको पर्यटन विकास परिषद् प्रमुख रामु जोशीले भने, ‘केबलकार सञ्चालनमा आएपछि परिषद्ले बसन्तपुरलाई प्रमुख पर्यटकीय थलोको सूचीमा सूचीकृत गरेको छ ।’
केबलकार र पाँचतारे होटेलसहित कुल ५ अर्ब रूपैयाँ लागतको आयोजना अन्तर्गत दुई वर्षभित्र साढे तीन अर्ब लगानीमा बसन्तपुरमा एकसय ५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनो सहित पाँचतारे होटेल बनाउने प्रकृया अघि बढेको केबलकारका प्रबन्धक प्रज्ज्वल घिमिरेले जानकारी दिए ।
कम्पनीले बसन्तपुरमा होमस्टे सञ्चालन गर्न गाउँलेलाई आग्रह गरेको छ । उत्पादन भएका सबैखाले कृषि उपज खरिद गर्ने र रोजगारीका लागि योग्य जनशक्ति भए रोजगारी दिने ग्यारेन्टी गरेको घिमिरेले जानकारी दिए ।
केबलकारका परिकल्पनाकार लक्ष्मण गौतमले विगत सम्झँदै भन्छन्, ‘२५ वर्षअघि परिकल्पना गरेर धेरै दुःख, हण्डर खाँदै केबलकार सञ्चालनको सपना पूरा भएको छ, यसले बसन्तपुर र बुटवल दुवैलाई गुलजार बनाएको छ ।’
निजी क्षेत्रबाट ठूलो लगानी भएको यस्ता परियोजनालाई दीगो रूपमा सञ्चालन गर्न सरकारी निकायबाट साथ र सहयोग गर्नुका साथै पर्यटकमैत्री नीति नियम बनाउनुपर्नेमा गौतमले जोड दिए ।
प्रतिक्रिया 4