+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बाढीले पुर्‍यो दैनिक ५ लाख बराबरको फूल बेच्ने वीरेन्द्रको योजना

गोदावरी जिप्सी र स्टाटिस बिउसमेत नरहने गरी बालुवामा विलिन

कपिल कोइराला कपिल कोइराला
२०८१ कात्तिक १७ गते १८:२४

१७ कात्तिक, काभ्रे । धुलिखेल नगरपालिका-५ श्रीखण्डपुरका वीरेन्द्र श्रेष्ठ २० वर्षदेखि व्यावसायिक पुष्पखेतीमा छन् । बर्सेनि दसैंतिहारको छेकोमा राम्रो आम्दानी गर्दै आएका उनी यो वर्ष पनि त्यही योजनामा थिए ।

यो पटक दशै र तिहारको बेलामा दैनिक ५ देखि ७ लाख रुपैयाँसम्मको फूल बेच्ने गरी खेती गरेका थिए । बारीभरि रोपेका फूल फुल्न थालिसकेको थियो । श्रेष्ठ आफ्नो मेहनतको फल पाउने दिन नजिकिँदै जाँदा उत्साहित थिए ।

तर, असोज दोस्रो साता आएको बाढीले उनको लगानी र परिश्रम सबै बालुवामा मिलाइदियो । स्थानीय पूण्यमाता खोलामा आएको बाढीले उनको सबै योजना चक्नाचुर बनाइदियो ।

श्रेष्ठले ४ हजार ५ सय स्क्वायर मिटरमा होरिजन नर्सरी संचालन गरी गुलाफ २५ हजार बोट, गेदावरी ३ हजार बोट, स्टाटिस ४ हजार बोट तथा जिप्सी १ हजार बोट लगाएका थिए । लगाएकामध्ये गोदावरी जिप्सी र स्टाटिस बिउ समेत नहुने गरी बाढीले पुरेर कुहिएको छ भने गुलाफको बोट बाढीले पूरै पुरिदिएपछि बढी चिसो भएर बोटहरु मर्ने तथा फुल्न लागेका गुलाफका कोपिलाहरु समेत कुहिएको छ ।

वीरेन्द्र श्रेष्ठ ।

उनले रोपका विरुवाहरु गुलाफ ८५ रुपैयाँ प्रतिबोट स्टाटिस १ सय १० रुपैयाँ प्रतिबोटको दरले तथा जिप्सी १ सय रुपैयाँ प्रतिबोटमा खरिद गरेका थिए भने गोदावरीको आफैंले बेर्ना राखेका थिए । तिहारमा बेच्न रोपेका गोदावरी नाम निशान नहुने गरी सबै सुकेर गएको छ । उनका अनुसार गुलाफ २१ लाख २५ हजार, जिप्सी १ लाख, स्टाटिस ४ लाख ४० हजार रुपैया लगानी गरेका थिए भने गोदावरी आफैंले बेर्ना राखेको भएर सामान्य मूल्य खर्च भएको छ ।

दशैं र तिहारको सिजनमा मात्र उनले फूल बेचेर दैनिक ५ देखि ७ लाख सम्म कमाइ हुने गरेको बताउँछन् । घटस्थापनाको दिनदेखि तिहारसम्म फूलहरु बिक्ने बेलामै फूलहरु बेच्न नपाउँदा एक वर्षदेखिको मेहनत समेत बाढीले पुरेकोमा चिन्ता व्यक्त गर्छन ।

‘घटस्थापनादेखि बढी फूल बिक्छ, अघिल्लो वर्ष दिनको ५ देखि १० लाख रुपैयाँसम्म पनि फूल बेचें, तर यो पटक बाढीले सबै बिगार्‍यो’, श्रेष्ठ भन्छन्, ‘सोह्रश्राद्धमा स्टोर गरेर राखेको फूल समेत बाढीले पुरिदियो, कमाएको जति सबै लगानी यसैमा थियो बर्बाद बनायो ।’

उनका अनुसार एउटा गुलाफको फूल कम्तीमा पनि २५ रुपैयाँमा बिक्छ । घटस्थापनादेखि दशैंको बीचमा ३० रुपैयाँ तथा तिहारको बेलामा एउटा फूलको ३५ रुपैयाँसम्म मूल्य आउने गरेको उनको भनाइ छ । तर बाढीले गर्दा फुलिसकेका बोटमा त क्षति पुग्यो नै बाढी पसेपछिको चिसोले गर्दा अहिले पछि फुलेका फूल पनि गुणस्तरीय नभएको उनी दुखेसो गर्छन् ।

‘फुलेको गुलाफको बोटसहित फूल पुर्‍यो, फूल पनि कुहियो, अहिले फुलेका फूलहरु पनि गुणस्तरीय भएनन्’, श्रेष्ठ भन्छन्, ‘अब झन् जाडो लाग्यो, बैशाख नलागी फूल नै बेच्न पाइँदैन ।’

बाढीले फूलमात्रै नभएर कोल्ड स्टोर, खेत जोत्ने ट्याक्टर, पानी तान्ने पम्प ४ वटा तथा इलेक्ट्रिक पम्प समेत बाढीले पुरेर काम नलाग्ने भएको उनी बताउँछन् । उनको फार्ममा ५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । तर अब बैशाखसम्म कसरी कामदारहरुलाई टिकाउने उनमा चिन्ता थपिएको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?