
“आज खाना बनाउने कसको पालो हो ?” बुबाले सोध्नुभयो। सबैका नजरले मलाई निसाना बनाए। “म दाइलाई खाना बनाउन सहयोग गर्न सक्छु ?” बहिनीले उठ्दै भनी। बहिनीको निर्णयमा सबैले राजी जनाए। म र बहिनी भान्सामा पस्यौं। बाँकी अरू सदस्यहरू; बुबा, आमा र दिदी टिभी हेर्न व्यस्त भए।
“के बनाउने दाइ ?” बहिनीले सोधी। “चाइनिज खाना… ” मैले भनें। बहिनीले मुख मिठ्याई।
बहिनी र म स्टोर रुममा गयौं। चाहिने सामानहरू (नुडल्स्, मसरुम, पाक्चोय साग, टमाटर, क्याबेज, क्यापसिकम, गार्लिक, क्यारोट, ओनियन, ग्रीन चिल्ली, स्प्रिङ ओनियन, कुकुम्बर, लेट्युस, लेमन, अण्डा, मैदा, कर्न फ्लोर आदि) सबै लिएर भान्सामा आयौं।
फ्रिजबाट मैले चिकेन निकालें, बोनलेस चिकेन। बहिनीलाई अलि धेरै गार्लिक र ओनियनको चप गर्न अह्राएँ, ऊ त्यहीं व्यस्त हुन थाली। म चाहिं लेदम (अण्डा, मैदा, कर्न फ्लोर, साल्ट, अजिना मोटो, जिन्जर र गार्लिक) को मिश्रित पेस्ट बनाउन थालें। पेस्ट बनाइसकेपछि चिकेनलाई डाइस कटमा काट्न लागें। काटिएका चिकेनका टुक्राहरूलाई लेदममा डुबाएर मोल्न थालें, मज्जासँग।
ग्याँस अन गरें, फ्राइ प्यान बसालें। लेदममा भिजेका बोनलेस चिकेनका टुक्राहरूलाई फ्राइ गर्न थालें, पाक्नेगरी। त्योसँगै अर्को चुल्होमा नुडल्स उमाल्न थालें। बहिनी पाक्चोय साग र मसरुम केलाउन थाली। चिकेन फ्राई भइसकेपछि फेरि अर्को फ्राइ प्यान बसालें। त्यसमा तेल हालें। बहिनीले तयार पारेको गार्लिक चप र अनियन चपलाई भुट्न थालें, चाहिनेजति। त्यसमा अलिकति चिनी हालें। टमाटो केचप पनि हालें। अलिकति हट सस मिसाएँ अनि केहीबेर चलाउन थालें। त्यसमा फ्राइ गरेको चिकेनलाई हालें र चलाएँ। चाहिने साल्ट, पेपर र अजिना मोटो हालें।
केहीबेरमै तयार भयो “गार्लिक चिकेन”। त्यसलाई एउटा भाँडोमा खन्याएर स्प्रिङ ओनियनले गार्निस गरें।
बहिनीले केलाएको पाक्चोय साग र मसरुमलाई अर्को भाँडोमा उसिनें। उसलाई ओनियन, क्यापसिकम, टमाटो, क्यारोट, कुकुम्बर र लेट्युस, डाइस कटमा काट्न भनें। जुठो फ्राइ प्यानलाई बेसिनमा लगेर छिटोछिटो सफा गरें। उम्लिएको नुडल्सलाई साइड लगाएँ, सेलाउन।
सफा गरेको फ्राइ प्यान पुन: बसालें, चुल्होमा। प्यान तातिएपछि त्यसमा तेल हालेर ओनियन चप र गार्लिक चपलाई भुट्न थालें। उसिनेर राखेको पाक्चोय साग र मसरुमलाई तारेर प्यानमा हालें। चाहिने ओस्टर सस खन्याएँ, त्यसपछि साल्ट, वाइट पेपर, अजिना मोटो हालें अनि मज्जाले चलाएँ। किकमोन सस र कर्न फ्लोर पनि अलिकति हालेर केहीबेर घोलें। र, तयार भयो “पाकचोय विद मसरुम”। त्यसलाई अर्को भाँडोमा खन्याएँ।
बहिनी डाइनिङ टेबलमा सेटिङ (प्लेट, चम्चा, काँटा, गिलास, न्याप्किन इत्यादि) मिलाउन थाली।
उक्त फेरि फ्राइ प्यानलाई सफा गरेर पुन: बसालें। तेल हालें। ओनियन चप र गार्लिक चप भुटें। क्यारोट, क्यापसिकम, क्याबेजलाई छिटो-छिटो जुलियन कटमा काटें। तिनीहरूलाई पनि लसुन-प्याजसँगै तेलमा मिलाएँ, त्यसपछि चाहिने नुडल्स हालें र हल्लाएँ। साल्ट, वाइट पेपर, अजिना मोटो चाहिने मात्रामा राखें। किकमोन सस र सोया सस हालेर केहीबेर चलाएँ। एकैछिनमा तयार भयो “भेज नुडल्स्”। त्यसलाई पनि अर्को भाँडोमा खन्याएँ।
बहिनीले तयार भएका खानाहरू (गार्लिक चिकेन, पाक्चोय विद मसरुम, भेज नुडल्स्) लाई डाइनिङ टेबलमा ओसार्न थाली। म चाहिं बहिनीले डाइस कटमा काटेको भेजिटेबल्स (ओनियन, क्यापसिकम, टमाटो, क्यारोट, कुकुम्बर र लेट्युस) लाई साल्ट, पेपर, लेमन जुस र ओलिभ तेल हालेर मुछ्न थालें। र केहीबेरमै तयार भयो “ग्रिक सलाद”। त्यसलाई एउटा सिसाको बाउलमा हालें र लिएर गएँ डाइनिङ टेबलमा।
बहिनीले सबै सेटिङ मिलाइसकेकी थिई। आमा र दिदी खाना खाने बेलामा रेड ड्राइ वाइन पिउन मन पराउनुहुन्छ। बहिनीले त्यो पनि ल्याई। मैले आमा, बुबा र दिदीलाई डिनरका लागि बोलाएँ। सबै मुख मिठ्याउँदै आए। आ-आफ्नो ठाउँमा बसे। बहिनीले सबैका लागि वाटर गबलेटमा पानी खन्याई। आमा र दिदीका लागि वाइन ग्लासमा रेड ड्राइ वाइन भरी।
पालैपालो सबैले सेल्फ सर्भिज गर्न थालें। सबैको प्लेट भरियो। हाँस्दै, रमाउँदै, गफ गर्दै चाइनिज खानाको मज्जा लिन थाल्यौं। खाना खाइसकेपछि बहिनी र मैले जुठा भाँडाहरू बेसिनमा लिएर गयौं र माझ्न थाल्यौं। आमा र दिदी ट्विन्टी वान्स लब फ्लेभरको आइसक्रिम खान थाले, टिभी हेर्दै। बुबा एक प्याक ब्रान्डी लिएर बार्दलीमा निस्किनुभयो। भाँडा माझिसकेपछि बहिनी र मपनि भेनिला आइसक्रिम लिएर आमा र दिदीसँग बस्यौं।
केहीबेर गफ गर्दै टिभी हेर्यौं। बुबाले दुई प्याक ब्रान्डी रित्याउनुभयो। हामीले डिजर्ट खाएर सकिसकेका थियौं। अब सुत्ने बेला भएको थियो। सबै आ-आफ्ना कोठामा गए। बुबाआमा एउटा कोठामा। दिदी आफ्नो कोठामा। म र बहिनी हाम्रो कोठामा। मेरो र बहिनीको कोठा एउटै थियो। उनी एउटा पलङमा म अर्कोमा। हामी केही समयमै निदाइहाल्यौं। सबैजना चाइनिज खानाको स्वाद लिएर सुत्यौं।
भन्छन्, भोकाहरूले अक्सर सपनामा खाना देख्ने गर्छन्। खाएको देख्ने गर्छन्। मध्य-रातमा मलाई बहिनीले कोट्याई। म ब्युँझिएँ। बहिनीले रुँदै भनी, “दाइ, भोक लागिरा’छ।”
‘एक छिन है नानू’ भन्दै आफूलाई जबर्जस्ती उठाएँ। नजिकै रहेको पानीको बोतल लिएँ। बोतलमा अलिकति मात्रै पानी थियो। थुक निल्दै बोतल बहिनीलाई दिएँ। नवजात बच्चाले आमाको दूध चुसे झैं बहिनीले बोतल चुस्न थाली।
मतिर पुलुक्क हेर्दै फेरि रुन थाली, “दाइ, भोक….”
बहिनी सकी नसकी रुन थाली। मेरो अनुहार खुम्चिन थाल्यो। मैले आफूलाई आमाबुबाको कोठामा घिसार्दै पुर्याएँ, उहाँहरूका शरीर चिसा भइसकेका थिए। मैले उहाँहरूलाई उठाउन खोजें तर, सकिनँ। थाहा पाएँ, दुवै सदाका लागि सुतिसकेका थिए, कहिल्यै नउठ्ने गरी। म निचोरिएँ, निमोठिएँ। तर, आँखाबाट भने आँसु खस्न मानेनन्, सायद आँखा रित्तिइसकेका थिए। आमाबुबा दुवैलाई च्यादरले छोपें।
बहिनी भुइँमा लडिसकेकी थिई, बटारिंदै। तल मूलढोकामा मैले दिदीलाई देखें। म तर्सिएँ। दिदी ढोका खोल्दै थिइन्। मैले बल गरेर कराएँ, “दिदी, ढोका नखोल्नुस् !”
दिदी मतिर फर्किइन्। उहाँको अनुहारमा प्रष्ट लेखिएको थियो, हार स्वीकार गर्नुभएको। धेरै ढिला भइसकेको थियो अब। आफ्नो भाग्य दिदीले रोजिसक्नुभएको थियो। उहाँले ढोका खोल्नुभयो र बाहिर निस्किनुभयो।
म सकी नसकी चिच्याएँ, “दिदी, बाहिर नजानुस्…।”
तर अहँ, मैले उहाँलाई रोक्न सकिनँ। दिदीलाई पनि राम्रोसँग थाहा छ, बाहिर मृत्यु छ। बाहिर मान्छेहरूले मान्छेलाई खान थालेका छन्, आफ्नो भोक मेटाउन। सबै राक्षस भइसकेका छन्। मैले आफूलाई घिसार्दै मूलढोकामा पुर्याएँ र छिटोछिटो ढोका लगाएँ।
माथि गएर बहिनीको अवस्थालाई नियालें, ऊ अचेत भएकी थिई।
ढोका बाहिर मृत्यु छ, ढोकाभित्र भोक ! दुवैतिर मृत्युले कुरेर बसिरहेको छ। म के गरौं, बहिनीलाई कसरी बचाऊँ ? आफू कसरी बाचूँ ? हामी कहिलेसम्म यसरी लुकेर बस्न सक्छौं ? केही नसोची खिइँदै गइरहेको दाँतले आफ्नो नाडी टोक्न थालें। नाडीलाई बहिनीको मुखमा टसाएँ। सुक्न थालेको रगत बहिनीको मुखमा तप्किन थाल्यो, तप्प… तप्प…।
प्रतिक्रिया 4