+
+
Shares
कथा :

चुनाव

कालान्तरमा मकै पार्टी पनि आफ्नो रणनीति बदल्ने योजनामा छ। आखिर चुनाव हो, जित्नु नै त छ!

डा. लेखनाथ काफ्ले डा. लेखनाथ काफ्ले
२०८२ फागुन १६ गते १०:४९

पृथ्वीको पूर्वी कुनामा रहेको एउटा हिमाली राज्यमा हुँदै गरेको चुनावको एउटा परिदृश्य।

चुनावको चौतर्फी चहलपहल र तामझाम चलिरहेको थियो। ‘मकै पार्टी’ ले आफ्नो सिद्धान्त, कार्यशैली र लगनशील कार्यकर्ताहरूको बलमा दिन दुई गुणा रात चार गुणा मतदाताहरूलाई आकर्षित गरिरहेको थियो। त्यसले उसको प्रतिस्पर्धी ‘गहुँ पार्टी’ लाई नअत्याउने कुरै भएन।

त्यसै मेसोमा मकै पार्टीलाई कसरी प्रचारप्रसारमा पछाडि पार्ने र आफू मतदाताका अगाडि आउने भन्ने कुराको योजना बनाउन गहुँ पार्टीको एउटा रणनीतिक बैठक बस्यो।

त्यसैको भोलिपल्ट। ‘खुला मञ्चमा सबैको रोहवरमा मकै पार्टीले मकै र गहुँ पार्टीले गहुँको एउटा–एउटा बिरुवा रोप्ने। जसको अनाज धेरै फल्छ, त्यसैले बाजी जित्छ,’ मकै पार्टीलाई गहुँ पार्टीले चुनौती दियो।

मकै पार्टीले अचम्मै मान्यो। गहुँभन्दा मकै धेरै फल्नेमा कुनै शङ्कै थिएन। उनीहरूमाझ चर्चा–परिचर्चा भयो। ‘यो फेरि अर्को कस्तो रणनीति हो? यो केको झमेला झिके गहुँ पार्टीले?’ भन्ने छलफल भयो। षड्यन्त्र पो छ कि भन्ने शङ्का र उपशङ्का पनि निस्के। तर मकै पार्टीलाई चुनौती स्वीकार गर्नुको विकल्प थिएन।

यसले देशमा बहसको नयाँ विषय पायो। सामाजिक सञ्जाल, रेडियो, टिभी, चियापसल, भट्टी, बार र कफीसपहरू त्यही विषयमा व्यस्त भए।

अन्ततः दुवै पार्टीले एक-एक गमलामा एक-एक मकै र गहुँका बिरुवा रोपे। ‘यो गहुँको बिरुवा नै होइन, यो छल हो,’ मकै पार्टीको भनाइ।

‘यो गहुँ नै हो, नयाँ जातको। स्थानीय गहुँभन्दा ५ गुणा ठूलो,’ गहुँ पार्टीको स्पष्टीकरण आयो ।

मकैको बोट हलहल्ती बढ्यो। त्यसैको हाराहारीमा गहुँको बोट पनि। अचम्म! गहुँका पात पनि मकैका जस्तै पो देखिन थाले।

गहुँका पात मकैका भन्दा ठूला कसरी भए? गहुँको बोट मकैको भन्दा अग्लो कसरी हुन सक्छ? मकै पार्टीका नेता र कार्यकर्ताहरूमा खलबली सुरु भयो। यस्तै हो भने गहुँले मकैलाई पछार्नेछ। उनीहरूमा चिन्ता छायो।

हुन पनि गहुँको बोट मकैभन्दा ठूलो र भरिलो हुँदै आयो। समय बित्दै जाँदा गहुँका बोटमा पनि मकैका जस्तै धानचमर निस्के। ‘यो त हुनै सक्दैन। गहुँमा बाला निस्कनुपर्नेमा मकैका जस्ता धानचमर किन?’ मकै पार्टीले टिभीको प्रत्यक्ष प्रसारणमार्फत आफ्नो मनको सवाल बोल्यो।

‘यो नयाँ प्रजातिको गहुँ हो। यो गहुँ मकैभन्दा कुनै पनि कुरामा बढी होला, कम छैन,’ गहुँ पार्टीका नेताले जवाफ फर्काए।

समय बित्दै गयो। मकैका घोगा त लाग्ने नै भए। गहुँका पनि ठ्याक्कै मकैका जस्तै तर अझै ठूला दुईवटा घोगा पो लागे।

‘यो पूरै छल र प्रपञ्च हो। यो गहुँ होइन, मकै नै हो,’ मकै पार्टीका बडा नेताले भाषण गरे।

सर्वोच्चमा मुद्दा पर्‍यो।

‘अन्तरिम आदेश दिनुपरेन। फल हेरेर पछि बहस गर्ने,’ सर्वोच्चले भन्यो।

यस्तै-यस्तै आरोप-प्रत्यारोपमा समय बित्यो। गहुँ र मकैका घोगा पाके। दुवै पार्टीका केन्द्रीय सदस्यहरूको रोहवरमा खुला मञ्चमै मकैको एउटा र गहुँका दुईवटा घोगाहरू छोडाइयो। गहुँ भनिएका घोगाबाट निस्केका दानाहरू धेरै हुने नै भए। त्यो त मकै पार्टीले सहने कुरै थिएन।

‘हामीमाथि धोका भयो। यो षड्यन्त्र हो। हामी यो नतिजा मान्दैनौँ,’ मकै पार्टी बोल्यो।

‘खेल खेलेर हारेपछि नतिजा अस्वीकार गर्न पाइन्छ?,’ गहुँ पार्टी करायो।

गहुँ पार्टी पनि के कम थियो र! उसले हल्ला चलायो, ‘हाम्रो गहुँ मकैभन्दा डबल फल्यो। हाम्रो जित भयो।’

जनता रनभुल्लमा परे। मकै पार्टी रक्षात्मक बन्न पुग्यो। अब मकै पार्टीको आशा र भरोसाको टेको केवल अदालत मात्रै थियो।

‘यो के हो? उस्तै मकै रोपेर गहुँ भन्ने?’ अदालतमा श्रीमान्‌ले सोधे।

‘दुवै उस्तै होइन श्रीमान्। उनीहरूकोमा एउटा घोँगा र हाम्रोमा दुईवटा घोँगाहरू लागेका छन्,’ गहुँ पार्टीको वकिलले जवाफ दियो।

‘उसो भए यी दाना के हुन्?,’ श्रीमान्ले प्रश्न गरे ।

‘यी हाम्रो गहुँकै हुन् श्रीमान्। हाम्रो गहुँ मकैजस्तै छ, नयाँ प्रजातिको मकैजस्तै गहुँ श्रीमान्,’ गहुँ पार्टीको वकिल।

लामो गलफत्ती र छलफल–बहसपछि अदालतका श्रीमान्‌हरू ‘गहुँ पार्टीको मकैजस्तो गहुँ र मकै पार्टीको मकै एउटै होइनन्’ भन्ने सर्वसम्मत निष्कर्षमा पुगे।

फैसलालगत्तै मकै पार्टीका नेता र कार्यकर्ताहरूले थाप्लो समाते। गहुँ पार्टीले झन्डाको डन्डा समातेर विजय जुलुस निकाल्यो। देशभरि नै मकैजस्तै गहुँको चर्चा चुलियो। आखिर गहुँ पार्टीले चुनाव जित्यो।

अहिले गहुँ पार्टीको झन्डामा मकैका दुईवटा घोगा चिह्न रहेका छन्। सत्ताको कमान्ड उसैको हातमा छ।

कालान्तरमा मकै पार्टी पनि आफ्नो रणनीति बदल्ने योजनामा छ। आखिर चुनाव हो, जित्नु नै त छ!

(पिङतुङ, ताइवान)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?