+
+
Shares

चुनावी परिणाम : चलेन राप्रपाको हलो, बिकेन राजतन्त्रको मुद्दा

२०८२ को निर्वाचन अघि दुर्गा प्रसाईँ बाहेक सबै राजावादी–हिन्दुवादी शक्तिहरू एक ठाउँमा आएको राप्रपाका नेताहरूले बताउने गरेका थिए । यसपटक ३ लाख ३० हजार ६८४ मत पाएर मुस्किलले थ्रोसहोल्ड कटाएको राप्रपाले प्रत्यक्षमा एक सिट जित्यो ।

सन्त गाहा मगर सन्त गाहा मगर
२०८२ चैत ३ गते ९:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २०७९ को आम निर्वाचनमा सात सिट जितेको थियो तर हालको निर्वाचनमा मत घटेर एक सिट मात्र जित्न सफल भयो।
  • राप्रपाले राजसंस्था, धर्म सापेक्ष हिन्दु राष्ट्र स्थापना र प्रदेश खारेजी जस्ता मुद्दा लिएर चुनाव लडे पनि मतदाता समर्थन घटेको छ।
  • विश्लेषकहरूले राप्रपाको पराजयलाई गणतन्त्र र संघीयता विरोधी नारा नबिकेको र क्यारेस्मेटिक नेतृत्वको अभाव रहेको बताउँछन्।

३ चैत, काठमाडौं। पञ्चायतकालमा तीन पटक सरकारको नेतृत्व गरेका सूर्यबहादुर थापाले पञ्चायती व्यवस्थाको अन्त्यपछि फेरि प्रधानमन्त्री बन्न पाइएला भन्ने चिताएकै रहेनछन्। आफ्नो पुस्तक ‘मेरा नौ दशकः सूर्यबहादुर थापा’ मा उनले भनेका छन्, ‘पञ्चायती व्यवस्था जाँदा म फेरि यो मुलुकको प्रधानमन्त्री हुँला भन्ने चिताएको पनि थिइनँ।’

बहुदलीय व्यवस्था पुनर्स्थापनापछि थापा दुई पटक प्रधानमन्त्री बने, २०५४ र २०६० मा। उनलाई प्रधानमन्त्री बनाउने राजनीतिक प्लेटफर्म हो, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)।

२०४६ सालको परिवर्तनपछि नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीमा नलागेकाहरूले २०४७ जेठ १५ गते राप्रपा स्थापना गरेका थिए। त्यही दिन राप्रपा (थापा) र राप्रपा (चन्द) जन्मियो।

राप्रपा (चन्द)का संस्थापक अध्यक्ष लोकेन्द्रबहादुर चन्द पनि बहुदलपछि दुई पटकै प्रधानमन्त्री बने, २०५३ र २०५९ मा।

२०४८ सालको निर्वाचनमा थापा पक्षले एक र चन्द पक्षले तीन सिट जितेपछि दुई राप्रपा बीच एकीकरण भयो। २०५१ सालको मध्यावधि निर्वाचनमा २०५ मध्ये राप्रपाले जितेको २० सिट त्रिशंकु संसद्मा निर्णायक बन्न पुग्यो। त्यही सिट भजाएर थापा र चन्द दुवै प्रधानमन्त्री बनेका थिए।

२०६४ जेठमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गएपछि पनि राप्रपाको चुनावी ग्राफ उकालो लागिरहेको थियो। तर गत फागुन २१ को चुनावले भने त्यसमा ‘ब्रेक’ लगाइदिएको छ।

राप्रपाका एक पदाधिकारीको शब्दमा यो निर्वाचन उसका लागि बिर्सनलायक रह्यो। मनाङ र रूपन्देही–२ बाहेक सबै क्षेत्रमा उम्मेदवारी दिएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र शाहीले बाहेक कसैले पनि १० हजार मत कटाउन सकेनन्। १५९ उम्मेदवारको मत पाँच हजार भन्दा तल रह्यो।

अध्यक्ष लिङ्देन बाहेक कोही पनि दोस्रो स्थानमा आउन सकेनन्। तेस्रो स्थानमा आउनेको संख्या पनि जम्मा तीन छ। काठमाडौं–१ मा रवीन्द्र मिश्र, काठमाडौं–२ मा कुन्ती पोखरेल र रूपन्देही–१ मा प्रज्ज्वल बोहरा तेस्रो स्थानमा आए। चौथो हुने यो पार्टीका उम्मेदवारको संख्या पनि जम्मा १० छ।

किन टाढिए मतदाता ?

राप्रपा अभिभावकीय संस्थाको रूपमा राजसंस्था, धर्म सापेक्ष हिन्दु राष्ट्र स्थापना, प्रदेश खारेजी जस्ता मुद्दा लिएर निर्वाचनमा गएको थियो। यो पार्टीका ज्ञानेन्द्र शाही बाहेक प्रत्यक्षका सबै उम्मेदवार पराजित भए। शाही त्यही व्यक्ति हुन्, जो गणतन्त्रको पक्षमा वकालत गरेको भन्दै २०७६ सालमा ‘नेपालका लागि नेपाली अभियान’बाट निकालिएका थिए।

विश्लेषक श्याम श्रेष्ठ राप्रपाको पराजयलाई राजतन्त्र नेपाल र नेपालीका बीचमा लोकप्रिय छैन भन्ने प्रमाण भन्न रुचाउँछन्। ‘राप्रपाले प्रत्यक्ष र समानुपातिक दुवैमा चार महिना अगाडि खुलेको श्रम संस्कृति पार्टी भन्दा पनि कम मत पायो’ उनी भन्छन्, ‘यो भनेको उनीहरूले उठाउँदै आएका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता खारेज गर्छौं भन्ने नारा नबिकेको हो।’

गणतन्त्र विरोधी मुद्दा नबिके पनि हिन्दुवादी मुद्दामा केही आकर्षण देखिएको अर्का विश्लेषक पुरञ्जन आचार्यको बुझाइ छ। आचार्य भन्छन्, ‘राप्रपा राष्ट्रिय पार्टी बन्नु पनि ठूलो कुरा हो। यो राजावादी भन्दा पनि हिन्दुवादीको भोट हुनुपर्छ।’

हरेक परिवर्तनपछि पुरानो शक्तिले आफूलाई जसोतसो शक्तिमा फर्काउने प्रयत्न गरेकै हुन्छ। नेपालको सन्दर्भमा राजा र हिन्दु राष्ट्रको नाममा राजनीति गर्नेहरूको स्पेस निकै कम भएको विश्लेषक मुमाराम खनाल बताउँछन्। उनको बुझाइमा राप्रपाले पाउने भनेको सामाजिक र आर्थिक प्रभुत्व राख्नेहरूको मत हो।

खनालका अनुसार नेपालमा प्रभुत्वशाली मत तीन प्रतिशतदेखि ६–७ प्रतिशतको बीचमा छ। उनी भन्छन्, ‘अरूले नराम्रो गर्दा यिनीहरूको मत थोरै बढ्छ, अरूले राम्रो गर्दा घट्छ। चुनाव जितेर राजावादीहरू ठूलो पार्टी बन्न चाहिं असम्भव छ।’

राप्रपाको उकालो यात्रामा ‘ब्रेक’

२०६४ को संविधानसभा निर्वाचनमा दशक लामो सशस्त्र संघर्षबाट आएको नेकपा (माओवादी)को रापताप थियो। त्यतिबेला पनि पूर्वपञ्चहरूको पार्टी  राप्रपाले ८, राप्रपा नेपालले ४ र राष्ट्रिय जनशक्ति पार्टी (राजपा)ले ३ सिट जितेको थियो।

२०७० को संविधानसभामा राप्रपा नेपालले २४ र राप्रपाले १३ (तीन प्रत्यक्ष) सिट जित्यो। राप्रपा नेपालको भागमा एक जना मनोनीत सांसद पर्‍यो। २०७३ मंसीरमा दुई पार्टी एकीकरण भएपछि राप्रपा ३८ सिटको बन्यो।

राप्रपाको एकीकरण टिक्न सकेन। २०७४ को निर्वाचन अघि नै पार्टी तीन टुक्रा भयो, जसले गर्दा ‘थ्रेसहोल्ड’ कटाउन सकेन। त्यतिबेला समानुपातिकमा राप्रपाले १ लाख ९६ हजार ७८२, राप्रपा (प्रजातान्त्रिक)ले ८८ हजार ३७७ र एकीकृत राप्रपा राष्ट्रवादीले २८ हजार ८२८ मत प्राप्त गर्‍यो। प्रत्यक्षमा जम्मा एक सिट जित्यो।

२०७९ को आम निर्वाचनमा प्रत्यक्षतर्फ सात सिट जितेको राप्रपाले समानुपातिकमा ५ लाख ८८ हजार ८४९ मत प्राप्त गरेर सात सिट पायो। कमल थापा नेतृत्वको राप्रपा नेपालले कुनै सिट जित्न सकेन।

२०८२ को निर्वाचन अघि दुर्गा प्रसाईं बाहेक सबै राजावादी–हिन्दुवादी शक्तिहरू एकठाउँमा आएको राप्रपाका नेताहरूले बताउने गरेका थिए। यसपटक ३ लाख ३० हजार ६८४ मत पाएर मुश्किलले थ्रोसहोल्ड कटाएको राप्रपाले प्रत्यक्षमा एक सिट जित्यो।

राजनीतिक विश्लेषक चन्द्रदेव भट्ट राप्रपाले उठाएको मुद्दा बोक्ने नेताहरू नै नभएको बताउँछन्। उनी भन्छन्, ‘राप्रपामा करिस्मेटिक लिडरको अभाव छ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
सन्त गाहा मगर

गाहा मगर अनलाइनखबर डट कमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?