+
+

विश्वविद्यालयको ‘मेरिट’लाई नसुहाउने एमाले महासचिवको बोली

अहिले त्रिविको ८ वटा संकायको डिन र १८ वटा क्याम्पसमा प्रमुख नियुक्तिको विषयमा विवाद देखिएको छ । त्रिविका पूर्व उपकुलपतिहरू भन्छन्, ‘विश्वविद्यालयमा सबैको चासो हुनुपर्छ । तर, त्यहाँ राजनीतिक हस्तक्षेप हुनुहुन्न ।’

दिनेश गौतम दिनेश गौतम
२०८१ मंसिर २४ गते २१:२१
बायाँबाट क्रमशः त्रिविका पूर्वउपकुलपतिद्वय केदारभक्त माथेमा र कमलकृष्ण जोशी

२४ मंसिर, काठमाडौं । २०४८ सालमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनेका थिए केदारभक्त माथेमा । तर, कार्यकाल सकिन एक वर्ष बाँकी छँदै उनले राजीनामा दिए । २०५१ सालमा नेकपा एमालेको नेता मनमोहन अधिकारी नेतृत्वमा सरकार बन्यो ।

त्यसपछि शिक्षामन्त्री भए– मोदनाथ प्रश्रित । घुमाउरो हिसाबमा प्रश्रितले माथेमालाई मार्गप्रशस्त गर्न भने । माथेमा भागबन्डामा रुमल्लिन चाहेनन् र राजीनामा दिए । ‘मैले किन विश्वविद्यालय छोडें ? के भन्ने, के नभन्ने ! एउटा रुलिङ पार्टीले मार्गप्रशस्त गर भनेपछि बस्न चाहिनँ,’ माथेमा भन्छन् ।

त्यो समयमा माथेमालाई डिन र क्याम्पस प्रमुख नियुक्तिका लागि दबाब थियो तर, उनले दबाबमा काम गर्न चाहेनन् । माथेमाले यो प्रसङ्‍ग उठाउनुको कारण छ, यतिबेला त्रिविको ८ वटा संकायको डिन र १८ वटा क्याम्पसमा प्रमुख नियुक्ति गर्नुपर्नेछ । त्यस प्रकरणका बाछिटा राजनीतिक दलका कार्यालयसम्म पुग्न थालेका छन् ।

यसमा दलहरूले भाग खोजिरहेको माथेमाको बुझाइ छ । ‘म भीसीबाट बाहिरिएपछि झन् दलीय भागबन्डामा नियुक्ति गर्ने चलन मौलाएको छ,’ माथेमा भन्छन् ।

यसपटक त्रिविले मेरिटका आधारमा डिन र क्याम्पस प्रमुख नियुक्ति गर्न छनोट समिति बनायो । प्रत्येक छनोट समितिले तीन/तीन जनाको नाम सिफारिस गरेको छ । तर, कार्यकारी परिषद्‍मा सहमति नहुँदा डिन र क्याम्पस प्रमुख नियुक्ति हुन सकेको छैन ।

यसमा सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले उपकुलपति प्राडा केशरजंग बरालको कार्यशैलीमाथि प्रश्न उठाएपछि यो मामिला थप पेचिलो बनेको छ । उपकुलपति बराललले आफू निकटका व्यक्तिलाई डिन र क्याम्पस प्रमुख बनाउन लागेको टिप्पणी पोखरेलले सामाजिक सञ्जाल फेसबुकबाट गरेका छन् ।

एमाले महासचिव शंकर पोखरेल/फाइल तस्वीर

‘विश्वविद्यालयमा एउटा निश्चित वैचारिक समूहलाई निषेध गर्नेगरी मेरिटोक्रेसीको भद्दा नाटक मञ्चन गरिरहेका छन् । यसप्रकारको क्रियाकलापले त्रिभुवन विश्वविद्यालय अघि बढ्ने होइन झन् धराशायी हुनेछ,’ महासचिव पोखरेलले लेखेका छन् ।

महासचिव पोखरेलको यो अभिव्यक्तिमाथि पूर्व भीसीहरूको विमति छ । ‘रूलिङ पार्टीले सधैं किन यस्तो गर्छ ? मलाई अचम्म लाग्छ,’ माथेमा भन्छन्, ‘आफ्नो टिम बनाउने अधिकार भीसीको हो । विश्वविद्यालय बाहिरबाट कसैले दबाब दिनु हुँदैन ।’ कांग्रेस, एमाले माओवादी कसैले पनि उपकुलपतिलाई दबाब दिन नमिल्ने मत माथेमाको छ ।

त्रिविका उपकुलपति बराल भने सिंहदरबार चलाए जसरी विश्वविद्यालय चलाउन नहुने तर्क गर्छन् । ‘सिंहदरबारमा जे छ विश्वविद्यालयमा पनि त्यस्तै गर्न खोज्नु हुन्छ । यो परम्परा रहेसम्म विश्वविद्यालय यस्तै रहन्छ’, उनी भन्छन् ।

माथेमाको तर्कसँग पूर्वउपकुलपति कमलकृष्ण जोशी पनि सहमत छन् । ‘विश्वविद्यालयमा सबैको चासो हुनुपर्छ । तर राजनीतिक पार्टीको नेताले विश्वविद्यालयको पदाधिकारीलाई दबाब दिन्छ भने त्यसलाई स्वीकार गर्न सकिंदैन,’ जोशी भन्छन्, ‘राजनीतिक हस्तक्षेप रोकिनुपर्छ ।’

त्रिविमा दलहरूको हस्तक्षेप रोक्न त्रिविको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने मत माथेमाको छ । ‘विश्वविद्यालय बोर्डले चलाउनुपर्छ । बोर्ड अफ ट्रस्टिजको मोडेलमा जानुपर्छ । प्राज्ञले बहस गर्ने थलो हो । दलहरू लड्ने ठाउँ होइन,’ माथेमा भन्छन् ।

त्रिविलाई राजनीतिबाट मुक्त गराउन आफूहरू लड्दा-लड्दा पनि नसकेको गुनासो माथेमाको छ । ‘हामी त लड्दा-लड्दा थाकिसक्यौं । विज्ञप्ति मात्रै कति निकाल्यौं । तर राजनीतिक हस्तक्षेप रोकिएको छैन । त्रिविलाई स्वायत्त काम गर्नदिनुहोस्,’ माथेमा भन्छन् ।

त्रिविका उपकुलपति बराल भने सिंहदरबार चलाए जसरी विश्वविद्यालय चलाउन नहुने तर्क गर्छन् । ‘सिंहदरबारमा जे छ विश्वविद्यालयमा पनि त्यस्तै गर्न खोज्नु हुन्छ । यो परम्परा रहेसम्म विश्वविद्यालय यस्तै रहन्छ’, उनी भन्छन् ।

एक्लैले समिति र मापदण्ड बनाएको होइन : उपकुलपति बराल

उपकुलपति बरालले डिन र क्याम्पस प्रमुख नियुक्तिका लागि आफू एक्लैले छनोट समिति र मापदण्ड नबनाएको बताएका छन् । एमाले महासचिव पोखरेलले उपकुलपति बरालले आफू निकटकालाई डीन र क्याम्पस प्रमुख बनाउने गरी समिति र मापदण्ड बनाएको आरोप लगाएपछि उनले सबैलाई समेटेर समिति र मापदण्ड बनाएको स्पष्ट पारे ।

उपकुलपति प्राडा केशरजंग बराल/फाइल तस्वीर

‘उहाँको आरोप सत्य होइन । कहाँ म एक्लैले बनाएको हो र ! साइन्सको, कृषिको, आईओएमको संयोजक को हुन् ? क्याम्पसको छनौट समिति रेक्टरले र सहपरीक्षा नियन्त्रक रजिस्ट्रारले बनाएको हो । म एक्लैले कहाँ छनोट समिति गठन गरेको छु ? मेरो क्षेत्राधिकारमा पर्ने मैले बनाएको हुँ । कहाँ सबै एक्लैले गर्न सक्छु ?’, बरालले प्रतिप्रश्न गरेका छन् ।

उपकुलपति बरालले आफू एक्लैले विश्वविद्यालय चलाउन नसक्ने बताउँदै नियुक्ति कार्यकारी परिषद्ले गर्ने बताए । ‘विश्वविद्यालय भीसीले मात्र चलाउने होइन । नियुक्ति गर्ने कार्यकारी परिषद्ले हो । कसरी म एक्लैले चलाए भन्न मिल्छ ?’, उपकुलपति बरालले भने ।

हामी टुंगो लगाउन सक्षम छौं : शिक्षाध्यक्ष केसी

कार्यकारी परिषद्‍मा एकमत नहुँदा नियुक्तिमा ढिलाइ भएको संकेत उपकुलपति बरालले दिए । ‘हामी भित्र एकमत भएको छैन,’ उनले भने, ‘सहमतिबाट नै नियुक्ति गर्छौं । म एक्लैले निर्णय गर्ने होइन ।’

त्रिविका शिक्षाध्यक्ष प्राडा खड्क केसी आफूहरू निर्णय गर्न सक्षम रहेकाले बाहिरबाट हारगुहार गर्न आवश्यक नरेको बताउँछन् । ‘हामी तीन जना समाधान गर्न सक्षम छौँ । कसैले हारगुहार गर्नुपर्ने छैन,’ उनले भने ।

कार्यकारी परिषद्का केही सदस्य बाहिर भएकाले सबै बसेर डिन र क्याम्पस प्रमुख नियुक्त गर्न लागिएको शिक्षाध्यक्ष केसीले बताए । परिषद्मा हाल उपकुलपति बराल, रजिस्ट्रार केदार रिजाल, रेक्टर केसी, व्यवस्थापनका डिन डिल्लीराज शर्मा, प्राध्यापक महानन्द चालिसे र प्राध्यापक प्रेमसागर चापागाईं छन् ।

‘मेरिटोक्रेसीमा विवाद छैन । केही सदस्य बाहिर हुनुहुन्छ । उहाँहरू आएपछि बसेर निर्णय गर्छौं,’ उनी भन्छन् । उनका अनुसार आगामी २७ गते सिनेट भएकाले त्यसपछि कार्यकारी परिषद्को बैठक बस्ने छ । ‘सिनेटमा प्रधानमन्त्री पनि आउनुहुन्छ । अब सिनेटपछि मात्रै डिन र क्याम्पस प्रमुखको नियुक्ति हुन्छ,’ उनले भने ।

लेखकको बारेमा
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?