+
+

खुला विश्वविद्यालयमा जब उपकुलपति र प्राध्यापकको नोकझोक चल्यो

स्थायी गर्नुपर्ने र सेवासुविधाको माग राखेर प्राध्यापक र शिक्षकले ताला लगाएका हुन् । ढोकामै दुई बुँदे मागसहितको पत्र पनि टाँसिएको थियो ।

दिनेश गौतम दिनेश गौतम
२०८१ मंसिर ११ गते २०:१३

११ मंसिर, काठमाडौं । खुला विश्वविद्यालयकी उपकुलपति शिलु मानन्धर बज्राचार्य आज (मंगलबार) दिउँसो साढे १२ बजे विश्वविद्यालय पुगिन् । तर कार्यकक्षमा छिर्न पाइनन् । उनी छिर्ने ढोकामा ताला लगाइएको थियो ।

स्थायी गर्नुपर्ने र सेवासुविधाको माग राखेर प्राध्यापक र शिक्षकले ताला लगाएका हुन् । ढोकामै दुई बुँदे मागसहितको पत्र पनि टाँसिएको थियो ।

उपकुलपति बज्राचार्यले ताला खोल्न प्राध्यापकहरूलाई आग्रह गरिन् । तर शिक्षक कर्मचारी ताला खोल्न तयार भएनन् । त्यसपछि उपकुलपति बज्राचार्य र प्राध्यापकबीच नोकझोक चल्यो ।

‘आज बैठक बस्नुहोस्,’ उपप्राध्यापक भोजराज घिमिरेले उपकुलपति बज्राचार्यलाई अनुरोध गरे ।

‘आज नबस्ने,’ उपकुलपति बज्राचार्यले जवाफ फर्काइन् ।

‘अस्ति वार्ता गरेर हिजो निर्णय गर्न कार्यकारी परिषद्को बैठक बस्ने सहमति गरेको होइन ?,’ उपप्राध्यापक घिमिरेले प्रश्न गरे ।

‘हिजो बस्न सकिएन, सिध्यो त ! कति दिन ताला लगाउनु हुन्छ, लगाउनुहोस्,’ उपकुलपति बज्राचार्य झोक्किइन् ।

आन्दोलन संघर्ष समितिको संयोजकसमेत रहेका घिमिरेले बैठक बसेर निर्णय लिन भने । तर उपकुलपति बज्राचार्यले आज बैठक नबस्ने बताइन् ।

‘मैले गर्दिनँ भनेको छैन । हिजो मिलेन । आज बैठक बस्दैन,’ उनले भनिन् । त्यसपछि उपकुलपति बज्राचार्यले ताला फोर्ने चेतावनी दिइन् । तर, प्राध्यापक र कर्मचारीले ताला फोर्न दिएनन् ।

‘बन्द गर्ने, खुलाउने काम रजिस्ट्रारको हो । यसमा उहाँको योगदान छ । उहाँले नै मिलाउनुहुन्छ,’ यसो भनेर उपकुलपति बज्राचार्य विश्वविद्यालय बाहिर निस्किइन् । प्राङ्गणमै रहेका रजिष्ट्रार गोविन्दसिंह विष्टले आफू सहमतिको पक्षमा रहेको बताए ।

‘हिजो बैठक बस्ने भनेको थियो । बैठक आकस्मिक स्थगित गरियो । सहमति गरौं भनेको हुँ । ताला फोरेर शिक्षक पक्राउ गरेर के हुन्छ ? सबै बुद्धिजीवी पीएचडी गरेको हुनुहुन्छ,’ रजिस्ट्रार विष्टले भने ।

केहीबेरपछि उपकुलपति बज्राचार्य फेरि विश्वविद्यालय भित्र प्रवेश गरिन् र परिचालित भएर शिक्षक कर्मचारीले आन्दोलन गरेको आरोप लगाइन् । उपकुलपति बज्राचार्यको आरोपमा उपप्राध्यापक घिमिरेले प्रतिवाद गरे ।

‘तपाईंले आरोप लगाउनु भयो । अस्ति बसेर सहमति गरेको थियो । अर्को सूचना नआएसम्म बैठक नबस्ने भनेपछि के हुन्छ ?’ उनले फेरि प्रश्न गरे ।

सबै रजिस्ट्रारले मिलाउनु हुन्छ भन्दै उपकुलपति बज्राचार्य हिंडिन् । उपकुलपति बज्राचार्य पुग्नुअघि नै ताला फोर्न बिहानै प्रहरीको टोली पुगेको थियो । तर प्राध्यापक र कर्मचारीले ताला फोर्न दिएका थिएनन् ।

प्राध्यापक र

कर्मचारीको माग के हो ?

प्राध्यापक र कर्मचारीले दुई बुँदे माग राखेका छन् । स्थायी प्रक्रिया अगाडि बढाउन र नियम अनुसार सेवा सुविधाको माग प्राध्यापक र कर्मचारीको छ । आन्दोलित प्राध्यापक र कर्मचारीले उपकुलपति, रजिस्ट्रार र डिन कार्यालयमा ताला लगाएका छन् ।

विश्वविद्यालयको सातौं सिनेट बैठकले स्थायी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो । तर, अहिलेसम्म पनि प्रक्रिया अगाडि नबढाएपछि आन्दोलन गर्न बाध्य भएको संघर्ष समितिका उपप्राध्यापक भोजराज घिमिरेले बताए ।

‘विश्वविद्यालयको सातौं सभाले कार्यकारीलाई एक पटकको लागि आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न निर्देशन दिएको थियो । शिक्षा मन्त्रीको अध्यक्षतामा बसेको सभाले हो । फेरि अर्को सिनेट बस्ने तयारी छ । तर माग सम्बोधन भएन,’ उनले भने ।

हिजो अबेरसम्म कार्यकारी परिषद्को निर्णयको प्रतीक्षामा शिक्षक र कर्मचारी थिए । तर निर्णयको सट्टा बैठक स्थगित भएको सूचना पाएपछि हिजो राति ८ बजे नै उनीहरूले विश्वविद्यालयमा ताला लगाएका हुन् ।

विश्वविद्यालयको पदाधिकारीले सोमबार कार्यकारी परिषद्को बैठक बसेर माग सम्बोधन गर्ने सहमति भएको थियो । ‘निर्णय गर्न बस्ने भनिएको कार्यकारी परिषद्को बैठक अन्तिम समयमा स्थगित हुनुमा आशंका छ । छलफल नगरी उहाँले बैठक स्थगित गर्नुभयो,’ घिमिरेले भने ।

उनका अनुसार खुला विश्वविद्यालयमा हालसम्म एक जना पनि स्थायी शिक्षक कर्मचारी छैनन् । ०७५ मा विज्ञापन खोलेर लिखित, प्रयोगात्मक र मौखिक तीन वटै प्रक्रिया पूरा गरेर करारमा नियुक्ति गरिएको थियो । तर, स्थायीको प्रक्रिया अहिलेसम्म पनि अगाडि बढेको छैन ।

‘सामाजिक सुरक्षा, पेन्सन उपदान र बिमाको व्यवस्थाबाट पनि वञ्चित गरिएको छ,’ घिमिरेले भने ।

उपकुलपति बज्राचार्यले भने पर्सि १३ गते बैठक बसेर निर्णय लिने बताइन् । ‘पर्सि बैठक बस्छ, असमझदारी भएको हो । पर्सि कुरा मिल्छ,’ उनले भनिन् । परीक्षा सञ्चालन गर्न दिने तर माग पूरा नभएसम्म कक्षा संचालन नहुने शिक्षक कर्मचारीले बताएका छन् । ‘परीक्षा रोकिन्न । माग पूरा नभएसम्म अब कक्षा सञ्चालन हुँदैन,’ घिमिरेले भने ।

तीन हजार पाँच सय विद्यार्थी अध्ययनरत खुला विश्वविद्यालयमा प्राध्यापक र कर्मचारी गरेर ३५ जना आन्दोलित छन् ।

लेखकको बारेमा
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?