+
+

त्रिविको डिन, क्याम्पस प्रमुख र सह–परीक्षा नियन्त्रक नियुक्तिमा किचलो

छनौट समितिले नाम सिफारिस गरे पनि त्रिविको कार्यकारी परिषद्ले क्याम्पस प्रमुख नियुक्ति गर्न सकेको छैन । भागबन्डा नमिल्दा क्याम्पस प्रमुख नियुक्तिमा ढिलाइ भएको त्रिविका प्राध्यापकहरू बताउँछन् ।

दिनेश गौतम दिनेश गौतम
२०८१ मंसिर २१ गते १३:४७
त्रिभुवन विश्वविद्यालय (फाइल तस्वीर)

२१ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बुधबार ६ जना सह–परीक्षा नियन्त्रक नियुक्ति गर्‍यो । त्रिविका रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालका अनुसार विराटनगर, जनकपुर पोखरा, नेपालगन्जमा एक/एक जना र काठमाडौंको लागि दुई जना सह–परीक्षा नियन्त्रक नियुक्ति गरिएको हो ।

तर, नियुक्ति गरेको केही घण्टामै राष्ट्रिय लोकतान्तिक प्राध्यापक संघले विज्ञप्ति निकालेर असन्तुष्टि जनायो । ‘नियुक्ति प्रक्रिया अलोकतान्त्रिक भयो, समावेशिताको मर्मविपरीत छ । तीन दल निकट प्राध्यापक संघ संगठनसँग छलफल गरेर निर्णय गरिएको छ’ संघका अध्यक्ष उदयकिशोर तिवारीले भने, ‘हामीसँग कुनै परामर्श नै गरिएन ।’

नियुक्त गरिएका ६ जना सह–परीक्षा नियन्त्रक नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट रहेका उनको आरोप छ । राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघ चाहिँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकटको हो ।

संघले निर्णय सच्याउन त्रिविका पदाधिकारीलाई ४८ घण्टाको अल्टिमेटम दिएको छ । ‘नियुक्ति प्रक्रिया नसच्याए संघर्षमा उत्रन्छौं । संविधानको मर्म अनुसार समावेशिताको आधारमा चयन हुनुपर्छ । आदिवासी, जनजाति, मधेशी, मुस्लिम, महिलाको हक अधिकार कुण्ठित गरिएको छ,’ उनले भने ।

तर, त्रिविका पदाधिकारीहरू राष्ट्रिय लोकतान्तिक प्राध्यापक संघको आरोप सत्य नरहेको दाबी गर्छन् ।

त्रिविका रजिस्ट्रार रिजाल छनोट तथा सिफारिस समितिले दिएको नामबाट एक जनालाई कार्यकारी परिषद्ले नियुक्ति गरेको बताउँछन् । प्रत्येक ठाउँको सह–परीक्षा नियन्त्रकका लागि छनौट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।

राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघको ध्यानाकर्षण पत्र

‘सिफारिस समितिले तीन जनाको नाम दिएको थियो । तीमध्येबाट एक जनालाई चयन गरिएको हो’ उनले भने, ‘६ जनाले बिहीबारबाट काम सुरु गर्नुभएको छ ।’

उनका अनुसार सह–परीक्षा नियन्त्रकका लागि ६५ जनाले आवेदन दिएका थिए । आवेदन दिएका मध्येबाट प्रत्येक ठाउँको लागि तीन जनाको नाम छनौट समितिले कार्यकारी परिषद्लाई सिफारिस गरेको थियो ।

तर छनौट समितिले सिफारिस गरेको नाम गोप्य राखिएको छ । नाम सार्वजनिक नभएपछि त्रिविका प्राध्यापक संघ संगठनले विरोध जनाएका छन् ।

‘भीसी सरले मेरिटोक्रेसी भन्नुभयो । छनौट समितिले सिफारिस गरेको तीन जना को हो ? कसले कति नम्बर ल्याए ? सार्वजनिक गरिएको छैन । मेरिटोक्रेसीको हल्ला मात्र गरियो । पारदर्शी भएन,’ प्राध्यापक संघका अध्यक्ष वसन्त ढकालले भने ।

त्रिवि पदाधिकारीले संविधानले प्रत्याभूत गरेको सूचनाको हकको उल्लंघन गरेको ठहर प्राध्यापक संघको छ । ‘हाम्रो हकको हनन भयो । यो त राणाकालीन शैली भयो’ उनले भने, ‘मेरिटोक्रेसीको धज्जी उडाइयो ।’

लोकतान्तिक प्राध्यापक संघका अध्यक्ष तिवारी पनि छनौट समितिले कति जनाको नाम सिफारिस गरेको हो त्यो सार्वजनिक गर्नुपर्ने मत राख्छन् । ‘सिफारिस तीन जना गरेको हो कि, पाँच जना थाहा छैन । नाम सार्वजनिक नै गरिएन । पदाधिकिारीहरूले आफू अनुकूलको नियुक्ति गरेपछि सार्वजनिक नगरेको हो,’ उनले जिकिर छ ।

त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसी छनौट समितिले सिफारिस गरेकामध्ये बढी नम्बर ल्याउनेलाई नियुक्ति गरिएको दाबी गर्छन् ।

‘दुई वटा चरणमा छनौट गरिएको हो । सर्ट लिस्टमा पाँच जनाको नाम थियो । पाँच जनाको अन्तर्वार्ता लिएपछि तीनको नाम सिफारिस भएको हो’ केसीले भने, ‘तीनमध्ये जसले धेरै नम्बर ल्याएको हो, उसैलाई नियुक्ति गरिएको हो । बाहिर हल्ला भएजस्तो दायाँबायाँ गरिएको छैन ।’

डिन र क्याम्पस प्रमुखहरू छनौटमा सकस
गत कात्तिकदेखि पाटन बहुमुखी क्याम्पस निमित्त प्रमुखको भरमा छ । यसबीचमा पाटन क्याम्पसमा स्नातक तहको सीएसआईटी कोर्समा योग्यता नपुगेका ३० विद्यार्थीलाई भर्ना गरियो । पीडित विद्यार्थीहरूले उजुरी दिएपछि त्रिविले छानबिन समिति बनाएर अयोग्य विद्यार्थीको भर्ना रद्द गर्‍य यो ।

यो घटना हुनुमा एउटा कारण क्याम्पस प्रमुख नभएर पनि हो । हाल १८ वटा क्याम्पसमा प्रमुख छैनन् । निमित्तको भरमा क्याम्पस चलिरहेका छन् ।

छनौट समितिले नाम सिफारिस गरे पनि त्रिविको कार्यकारी परिषद्ले क्याम्पस प्रमुख नियुक्ति गर्न सकेको छैन । भागबन्डा नमिल्दा क्याम्पस प्रमुख नियुक्तिमा ढिलाइ भएको त्रिविका प्राध्यापकहरू बताउँछन् । ‘पदाधिकारी नै दल निकटबाट आएको हुनुहुन्छ । मेरिटोक्रेसी मात्र भनेर हुन्छ ?’ प्राध्यापक संघका अध्यक्ष ढकाल प्रश्न गर्छन् ।

तर, शिक्षाध्यक्ष केसी क्याम्पस प्रमुखकको नाम छनौट गर्न गठित समितिका केही सदस्य बाहिर भएका कारण ढिलाइ भएको बताउँछन् ।

‘काम भइरहेको छ । यो हप्तामा सर्ट लिस्ट निस्कन्छ । केही समितिका सदस्य बाहिर भएका कारण ढिलाइ भएको हो,’ उनले भने ।

त्रिविमा ८ वटा संकायको डिन रिक्त छ । तर डिन नियुक्तिमा कानुनी अड्चन देखिएको बताउँछन् शिक्षाध्यक्ष केसी । ‘डिन सिनेटको पदेन सदस्य हुन्छ । केही डिनको समय अझै बाँकी छ । नयाँ डिन नियुक्ति गर्दा सिनेटमा पुरानो बस्ने कि नयाँ बस्ने भन्ने हुन्छ । त्यसैले कानुनी परामर्श लिइरहेका छौँ,’ शिक्षाध्यक्ष केसीले भने ।

त्रिविका उपकुलपति केसरजंग बरालले १५ मंसिरभित्र क्याम्पस प्रमुख र डिन नियुक्ति गर्ने वाचा गरेका थिए । तर नियुक्ति प्रक्रियामा विलम्ब भएको छ । उपकुलपति बराल यही महिनाभित्र नियुक्त गरिसक्ने बताउँछन् । ‘काम गरिरहेका छौं । यो महिनाभित्र नियुक्तिको काम सकिन्छ,’ उनले भने ।

लेखकको बारेमा
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?