लामखुट्टेको लार्भा खोजेर नष्ट गरौं भन्दाभन्दै केही दिन यता डेंगु भटाभट देखिन सुरु भइसकेको छ । ज्वरो आयो, परीक्षण गर्यो, डेंगु नै देखिने क्रम काठमाडौं तथा ललितपुरमा बढ्दो छ । यस्तो लाग्छ, दशैं दशैं नभएर ‘डेंगुमय’ हुँदैछ ।
गत पुसदेखि हालसम्म नौ हजार भन्दा बढी डेंगु संक्रमित भेटिइसकेका छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा डेंगु कडा स्वरुपमा प्रस्तुत हुँदै गइरहेको देखिन्छ । केही दिनको अन्तरालमा डेंगुको गणना गर्ने हो भने दर्जनौंमा हैन, सयौं बिरामी थपिएको देखिन्छ । सम्भवत: काठमाडौं बाहिर बढी देखिंदै आइरहेको कडा डेंगुको प्रकोप हाल काठमाडौं भित्रिए जस्तो देखिन्छ वा तथ्यांकमा बागमती प्रदेशमा संक्रमितको संख्या बढी देखिएको भएपनि अब भने डेंगुले कडा स्वरुप लिंदै गइरहेको देखिन्छ । तर हामीमा लामखुट्टेको लार्भा खोजेर नष्ट गर्ने इच्छा शक्ति वा चासो देखिंदैन । यो बिडम्बना हो ।
केही समय घरमा अचेत भएर एक ३० वर्षीय पुरुष अस्पताल आइपुगेका थिए । केही दिनयतादेखि ज्वरो आएको, शरीर कटकट दुख्ने गरेको, जोर्नी तथा मांसपेशी दुखेको, आँखाको गेडी खस्ला जस्तो गरी दुख्ने, खाना हेर्न पटक्कै मन नलाग्ने, वाकवाकी लाग्ने जस्ता लक्षण देखिंदै आइरहेको भनेका थिए । रगतको परीक्षण गर्दा डेंगु पुष्टि भयो । त्यस्तै, २९ वर्षीया एक महिलामा पनि ज्वरो आउने, खानामा अरुचि, वाकवाक लाग्ने, शरीरमा बिमिरा देखिने, शरीर कटकट दुख्ने गरेर अस्पताल आई रगत परीक्षण गर्दा डेंगु पुष्टि भयो ।
ती महिलाका परिवारका अन्य सदस्यहरु अनि छिमेकीमा पनि यस्तै स्वस्थ समस्या देखिएको थियो । उनीहरुले आफूहरु सिटामोल खाँदै बसेको भनेका थिए । यसबाट पनि काठमाडौं ‘डेंगुमय’ हुँदै गइरहेको स्पष्ट संकेत गर्छ ।
दिनमा बढी संक्रिय हुने कालो-सेतो छिरबिरे रंगमा देखिने लामखुट्टे डेंगु फैलाउन मुख्य भूमिका खेल्ने गर्छ । यसलाई एडिस प्रजातिको लामखुट्टे भनिन्छ भने अहिले यो यत्रतत्र जहाँ पनि देखिने गरेको छ । धेरैलाई दिनमा जहाँ बढी समय बिताउँछन् जस्तै कर्मचारी भए कार्यालयमा, विद्यार्थी भए विद्यालय/कलेज जस्ता ठाउँमा यो लामखुट्टेले टोक्ने गर्छ । जहाँबाट संक्रमित हुने सम्भावना बढेर जान्छ । धेरैले आफ्नो घर वरिपरि लामखुट्टे नदेखियोस् भन्नका लागि केही हदसम्म सचेतना अपनाउने गरेको त देखिन्छ तर दिनको समयमा बिताउने ठाउँको बारेमा भने खासै चासो नलिएको पाइन्छ ।
संक्रमण भएको चारदेखि १० दिनसम्ममा सामान्यतया डेंगुका लक्षण देखिन थाल्छन् । शरीर कटकट दुख्नु र खानाप्रति चरम अरुचि देखिनु डेंगुको मुख्य पहिचान नै हो । यस बाहेक ज्वरो आउनु, आँखाको गेडी दुख्नु, शरीरमा स-साना राता बिमिरा देखिनु, कसैकसैलाई पखाला लाग्नु डेंगुका थप लक्षण हुन् । धेरैलाई ८-१० दिनको अवधिपछि स्वास्थ्य तथा रगत परीक्षणमा सुधार हुँदै जाने गर्छ । तर केहीलाई भने डेंगुको जटिलता देखिने गर्छ । केही लक्षणलाई जटिल डेंगु हुनसक्ने पूर्वसंकेतको रुपमा पनि लिन गरिन्छ, जसलाई चिकित्सकले ‘वार्निङ साइन’को रुपमा लिने गर्छन् । पेट असाध्यै दुख्नु, निरन्तर बान्ता हुनु, नाक र गिजाबाट रगत आउनु, आलस्य वा बेचैनी हुनु, पेट वा छातीमा पानी जम्नु, कलेजोको आकार बढ्नु तथा रगतमा प्लेटेलेट्सको संख्या तीव्र गतिमा घट्नु डेंगुका संकेत हुन् । यी लक्षणमा पहिलो चार लक्षण घरमा हुँदा नै संक्रमित स्वयंले थाहा पाउन सक्छ । पछिल्लो समय धेरैले डेंगु लागे अस्पताल जानु आवश्यक ठानेको देखिंदैन तर संक्रमित भइसकेपछि नियमित परीक्षण वा परामर्शले घरमा बेहोस वा अचेत हुने वा जटिलताको सम्भावनालाई धेरै हदसम्म रोक्न, टार्न सकिन्छ ।
नेपालमा डेंगु पुष्टि भएको २० वर्ष पुग्दै गर्दा यो संक्रमण रोक्नेतिर हामी असफल भइरहेका त छौं नै, गम्भीरता वा चासो समेत खासै लिने गरेको पाइँदैन । केही हदसम्म डेंगु सम्बन्धी प्रचार भएको त पाउँछौं तर एक्सनमा भने गएको खासै देखिंदैन ।
सन् २०२२ मा काठमाडौंमा घातक डेंगुको महामारी फैलिंदा स्वास्थ्य परीक्षणमा आइपुगेका बिरामीहरु डेंगु दुखाइको पीडा सहन कठिन भएको र ‘यस्तो रोग शत्रुलाई समेत नलागोस्’ भनेर कामना समेत गर्ने गरेका थिए । तर त्यस्तो पीडा स्वास्थलाभ गर्ने बित्तिकै वा महामारी सकिने बित्तिकै बिर्सन्छौं । अर्थात् अर्को सिजनमा फेरि लामखुट्टेको नियन्त्रण नगरे यस्तै पीडा हुनसक्छ भन्ने बिर्सन्छौं ।
याद राखौं, डेंगुको प्रत्येक प्रकोपसँगै संक्रमितको संख्या थप उल्लेखनीय रुपमा बढ्ने गरेको र अझ घातक समेत बन्दै गइरहेको तथ्यांक देखिन्छ । डेंगुले दोस्रो पटक तर फरक सेरोटाइपले पुनः संक्रमित गरे बिरामीले विगतको भन्दा थप घातक अवस्थाको सामना गर्नुपर्ने हुन्छ । यसबाट पनि डेंगुको पुनरागमनलाई कम आँकलन गर्न उपयुक्त हुँदैन । डेंगुको संख्या तथा विस्तार जिल्लाको गणना गर्ने र डेंगु सिजन (समयको) अन्तको पर्खाइमा मात्र बस्ने हो भने सन् २०२२ मा देखिएको ‘घातक डेंगु महामारी’ अवस्थाको फेरि पुनरागमन नहोला भन्न सकिंदैन । नेपालको इतिहासमा डेंगुको कारणले सबैभन्दा बढी संक्रमित तथा मृत्यु भएको वर्ष सन् २०२२ हो ।
प्रतिक्रिया 4