+

गर्भावस्थामा आमालाई मधुमेह देखिए बच्चामा कस्तो जटिलता देखिन्छ ?

२०८१ असोज  ४ गते १३:२१ २०८१ असोज ४ गते १३:२१
गर्भावस्थामा आमालाई मधुमेह देखिए बच्चामा कस्तो जटिलता देखिन्छ ?

गर्भावस्थाको समयमा महिलामा देखापर्ने सबैभन्दा ठूलो चुनौती मध्ये एक मधुमेह पनि हो । किनकि यो समयमा महिलामा मधुमेह हुने जोखिम रहन्छ । गर्भावस्थामा मधुमेह भएमा बच्चा पनि यसबाट पीडित हुने सम्भावना उच्च रहन्छ ।

यति मात्र नभई स्वस्थ महिलाको तुलनामा गर्भावस्थामा मधुमेह देखिएको महिलाको बच्चामा प्रसवकालीन मृत्यु र जटिलताको जोखिम बढी हुन्छ ।

किन गर्भावस्थामा महिलामा मधुमेहको स्तर उच्च हुन्छ ?

गर्भवती महिलामा बच्चाको विकासका लागि साल (पाल्सेन्टा)ले हर्मोन उत्पादन गर्छ । यी हर्मोनले शरीरमा हुने इन्सुलिनको कार्यलाई पनि रोक्छ । यसलाई इन्सुलिन प्रतिरोध भनिन्छ । यो समयमा शरीरले गर्भवती भए भन्दा दुईदेखि तीन गुणा बढी इन्सुलिन उत्पादन गर्छ ।

यदि इन्सुलिन प्रतिरोधको मात्रा बढी भएमा शरीरले बढेको इन्सुलिन सामना गर्न नसकेको खण्डमा गर्भावस्थाको समयमा महिलामा मधुमेह हुनसक्छ ।

गर्भावस्थामा हुने मधुमेहलाई चिकित्सकीय भाषामा ‘जेस्टेसनल डायबिटिज’ भनिन्छ । यो अवस्थामा देखा पर्ने मधुमेह गर्भावस्थापछि आफैं हराएर जान सक्छ ।

कसरी थाहा पाउने ?

ब्लड सुगरको मात्रा जाँच गर्दा १४० भन्दा कम हुनुपर्छ । १४० भन्दा बढी भएमा मधुमेह भएको मानिन्छ । यदि गर्भावस्थाको २४ औं र २८ औं हप्ताको बीचमा खाली पेटमा रगतको जाँच गर्दा सुगर लेभल १०० भन्दा बढी र कुनै पनि बेला अर्थात् रेन्डम जाँच गर्दा १४० भन्दा बढी भएमा गर्भावस्थामा मधुमेह भएको बुझिन्छ ।

गर्भावस्थामा मधुमेह देखिएमा बच्चाको स्वास्थ्यमा पर्ने असर

श्वासप्रश्वासमा समस्या

मधुमेह नियन्त्रणमा नभए नवजात शिशुमा श्वासप्रश्वास समस्या हुनसक्छ । किनकि आमाको शरीरमा ग्लुकोजको मात्रा बढी भएमा भ्रूणको फोक्सोको विकासलाई ढिलो गर्न सक्छ ।

यसबाहेक फोक्सोसँग सम्बन्धित समस्या जस्तै, ट्रान्जियन्ट ट्याकाइप्निया र पर्सिस्टेन्ट पल्मोनरी हाइपरटेन्सन  जस्ता श्वासप्रश्वास सम्बन्धी रोग पनि हुनसक्छ ।

बच्चाको तौल अत्यधिक बढ्नु

गर्भावस्थाको समयमा रगतमा ग्लुकोजको मात्रा उच्च हुँदा बच्चाको तौल द्रूत रूपमा बढ्न सक्छ, जसले म्याक्रोसोमिया भनिने अवस्था निम्त्याउन सक्छ ।

बच्चाको बढ्दो तौलका कारण सुत्केरी समयमा समस्या जटिलता आई बच्चाको मृत्युको जोखिम पनि हुन्छ ।

अक्सिजनको कमी

आमालाई मधुमेह भएमा बच्चामा ‘पेरिनेटल एस्फिक्सिया’को जोखिम पनि हुन्छ । यो अवस्था भनेको भ्रूणलाई अक्सिजनको कमी हुनु हो ।

पेरिनेटल एस्फिक्सिया भएका नवजात शिशुहरुमा देखिएको धेरै केसमा हेर्दा आमालाई मधुमेह भएको भेटिन्छ ।

स्नायुसम्बन्धी समस्या 

मधुमेह उच्च देखिएको आमाबाट जन्मेका बच्चामा स्नायुसम्बन्धी समस्या हुनसक्छ । जसमा मस्तिष्कको ढिलो विकास, बोलीमा समस्या र श्रवणशक्ति जस्ता न्युरोसेन्सरी हानि समावेश हुनसक्छ ।

यस बाहेक टाइप वान मधुमेहबाट पीडित आमाका बच्चालाई जन्मजात रोग हुने उच्च जोखिम हुन्छ । जस्तै, मुटुरोग, हातखुट्टामा अशक्तता र मेरुदण्डमा समस्या ।

कसरी आमा र बच्चालाई स्वस्थ राख्ने ?

गर्भावस्थामा मधुमेह देखिए पनि त्यसलाई नियन्त्रण गर्न सकियो भने स्वस्थ बच्चा जन्माउन सकिन्छ । त्यसका लागि मधुमेहको चिकित्सकसँग परामर्श लिई अवस्थाअनुसार इन्सुलिन वा औषधि आवश्यकता अनुसार दिइन्छ ।

त्यससँगै चिकित्सकले दिएको खानपानको चार्ट अनुसार खानेकुरा खानुपर्छ । साथै, यो समयमा खानेकुरा खाने र क्यालोरी बर्न गर्न हल्का खालको पसिना आउने गरी व्यायाम गर्नुपर्छ । बच्चा नचलेको जस्तो अनुभव भए तत्काल चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।

के कस्ता खानेकुरा खाने ?

प्रशस्त मात्रामा सलाद

रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न खानामा सलाद प्रशस्त मात्रामा खानुपर्छ । सलाद खाँदा शरीरमा ग्लुकोजको मात्रा कम हुन्छ । सलादमा काँक्रो, टमाटर  र गाँजर खान सकिन्छ ।

अण्डा

गर्भावस्थामा महिलाले स्वस्थ आहार लिनुपर्छ । दैनिक एउटा अण्डा खाँदा रगतमा ग्लुकोजको मात्रा पनि नियन्त्रण हुनुका साथै शरीरलाई आवश्यक प्रोटिन, भिटामिन र ओमेगा-३ फ्याटी एसिड प्राप्त हुन्छ ।

बदाम

मधुमेह भएकाले बदाम खानुपर्छ । एक रात भिजाएको बदाम दैनिक खाँदा गर्भमा रहेको बच्चाको मानसिक विकासमा सुधार हुन्छ । यसले पेट भर्नुका साथै तृष्णा पनि मेटाउने हुँदा बदामलाई खाजाको रूपमा पनि बदाम खान सकिन्छ ।

चिया सीड

गर्भावस्थामा सीडको सेवन गर्नुपर्छ । दैनिक चियासिड, फर्सीको बियाँ र आलस जस्ता चिया सीड खाँदा शरीरलाई फाइबर मिल्छ । यसबाट गर्भावस्थामा रगतमा भएको चिनीको मात्रालाई नियन्त्रण गर्न सकिन्छ ।

यसले पाचन सम्बन्धी समस्या पनि निको हुन्छ । यसले लामो समयसम्म पेट भरिरहन्छ र शरीरलाई सबै पोषक तत्व प्राप्त हुन्छ ।

साथै चिनीको मात्रा बढी हुने चिनी, चामल, मैदाबाट बनेको खानेकुरा कम खानुपर्छ । यद्यपि, यी खानेकुरा आफैं अनुमान गरेर खानुको सट्टा चिकित्सकको परामर्शमा मात्र खानु उपयुक्त हुन्छ ।

गर्भावस्था डा. सविता थापा मधुमेह
डा. सविता थापा
लेखक
डा. सविता थापा
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

डा. थापा भरतपुरस्थित वात्सल्य नेचुरल आइभिएफ सेन्टरमा कार्यरत छिन् । उनले प्रसूति तथा स्त्रीरोगमा एमडी गरेकी छिन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २१७९० हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय