+
+

पोखरामा साहित्य महोत्सवको तयारी पूरा: चार दिनको चाडमा सय पाहुना

साहित्यिक शहरको चिनारी अझ फराकिलो पार्ने लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १२ गते १६:००

१२ माघ, पोखरा । पोखरामा हुने नेपाल लिटरेचर फेस्टिभलको छैटौं संस्करणको तयारी पूरा भएको छ ।

बुकवर्म फाउन्डेसनले महोत्सवको छैटौं संस्करण माघ १४ गते शुक्रबारदेखि सोमबारसम्म पोखराको पार्दीस्थित नेपाल पर्यटन बोर्ड परिसरमा गर्ने तयारी पूरा गरेको हो ।

nepal-literature-fetival-press-conference

बुधबार पर्यटन बोर्डमै आयोजित पत्रकार सम्मेलनमा महोत्सवका निर्देशक अजित बरालले यो अन्तर्राष्ट्रिय महोत्सवले साहित्यिक क्षेत्रका सिमानालाई फराकिलो पार्ने आशा व्यक्त गरे । महोत्सवको उद्देश्यबारे बरालले भने, ‘चार दिनको चाडका माध्यमबाट हामीले पोखराको साहित्यिक शहरको चिनारीलाई थप उजागर गर्दै पर्यटन प्रवर्द्धन पनि गर्न खोजेका हौं ।’

यस पटकको छैटौं संस्करणमा महोत्सवमा ४० वटा सत्रमा वक्ता र सहजकर्ता गरी करिब एक सय जना सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

महोत्सवको सह-आयोजक र्‍याण्डम रिडर्स सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेलले कार्यक्रमका हरेक सत्रहरु वक्ताहरुसँग साक्षात्कार गर्ने, सकेसम्म धेरै अन्तर्क्रिया गर्ने र नयाँ विषयहरुबारे विमर्श गर्ने गरी तयार गरिएको बताए ।

यस्तै, पोखरामा रहेर साहित्य सिर्जना गर्दै आएकी कवि सरस्वती प्रतीक्षाले महोत्सव साहित्यका राष्ट्रिय गतिविधि अरुसामु पस्किने र अन्तर्राष्ट्रिय जगतसामु आफूलाई उभ्याउने माध्यम भएको धारणा राखिन् । उनले भनिन्, ‘यो महोत्सव आफैंमा स्थापित ब्रान्ड भइसकेकोले यसले पोखराको गरिमा अझ बढाउने विश्वास छ ।’

सन् २०११ देखि काठमाडौंमा साहित्य महोत्सव गर्दै आएको बुकवर्मले गत वर्षको पाँचौं संस्करणदेखि पोखरामा महोत्सव गर्न थालेको हो । यस वर्ष महोत्सवका सत्रहरु लिटरेचर फेस्टिभलकै आधिकारिक युट्युब च्यानल मार्फत प्रत्यक्ष प्रशारण गरिने र सामाजिक सञ्जालबाट पनि अन्तर्क्रिया गरिने आयोजकले जनाएको छ ।

फेवातालको किनारका समसामयिक मुद्दाहरुमा विमर्श हुने महोत्सवमा यस पटक मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको विशेष प्रहसनलाई बहुप्रतिक्षित मानिएको छ । यस वर्षको महोत्सवमा युवा लेखक दुर्जोय दत्त, इतिहासकार रामचन्द्र गुहा तथा हिन्दी भाषाका ख्यातिप्राप्त आख्यानकार उदय प्रकाश गरी तीन विदेशी लेखक सहभागी हुनेछन् ।

महोत्सवमा सिर्जनशील कलाकार समूहका सदस्यहरुको कला प्रदर्शनी समेत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?