+
+

आफूलाई बलभद्रसँग तुलना गर्दै ओलीले भने- किल्ला छाडेको छु तर, पञ्जाब सेनामा जान्नँ

'नेपालका मिर्कासिमका सन्ततीलाई हामी पनि चिनेका छौं'

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १७ गते २०:११


१७ माघ, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई वीर बलभद्रसँग तुलना गरेका छन् । र, बलभद्रले जस्तै किल्ला छोडेको तर, पञ्जाब सेनामा नजाने उनले बताएका छन् ।

चपलीमा वीर बलभद्र कुँवरको शालिक अनावरण गर्दै ओलीले भने, ‘बलभद्रलाई नालापानीको किल्ला छाड्नु परेको थियो । मैले पनि अस्ती साउनमा चित्रबहादुरजीहरु समेत किल्ला छाडेको हो । तर, पञ्जाब सेनामा म जाने होइन, यहिँ लड्ने हो र, यहिँ ठेगान लगाउने हो यिनीहरुलाई ।’

आफूले अस्थायी रुपमा मात्रै किल्ला छाडेको भन्दै उनले अघि भने, ‘त्यो जमाना बेग्लै थियो । नेपालले हार व्यहोरेको थियो, त्यसकारण बलभद्रलाई युवा जोश र साम्राज्यवाद विरोधी भावना प्रकट गर्न पञ्जाब जानु परेको थियो । तर, आज त्यो भावना हामी यहिँ प्रकट गर्न सक्छौं ।’

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नेपालको भौगालिक अखण्डता (१८६० को सीमाना)लाई अप्ठ्यारो पार्ने काम हुन नदिने बताए । एकैपटक नसकेपछि अलि-अलि गरेर कमजोर पार्दै लैजाने प्रयास भइरहेको उनले बताए ।

संविधान संशोधनलाई बेमौसमको बाजा भन्दै उनले भने, ‘मैले एउटा शीर्ष बैठकमा भनेको छु, यो देश भोट हालेर बनेको होइन । भोट हालेर बचेको होइन । भोट हालेर देश नै खत्तम गरेको देखेका छौं ।’ उनले अघि भने, ‘भोट केमा हाल्नुपर्छ, केमा हाल्नु पर्दैन हामीले बुझेका छौं ।’

बेला-बेला देश टुक्राउने धम्की दिएर नेपालीहरुलाई जिस्क्याउने काम भइरहेको उनले बताए । ‘हामीले मिर्जाफर पनि देखेका छौं, मिर्कासिम पनि देखेका छौं र, हामीले नेपालका मिर्जाफर र मिर्कासिमका सन्तानहरु पनि देखेका छौं,’ ओलीले भने, ‘हामीसँग हाम्रा पूर्खाका वीरतापूर्ण इतिहास र अनुभव पनि छ । यो देश यताउता हुन सक्दैन ।’

जातजाति भनेर भिडाउने कोशिस असफल भएपछि भौगोलिक आधारमा कटुता रोप्न खोजेको भन्दै ओलीले यसलाई पनि समाप्त पार्ने बताए ।

उनले एमालेले राष्ट्रियताबारे भ्रम छरेको भनेको भन्दै उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको आलोचना पनि गरे । एमाले अध्यक्ष ओलीले भने, ‘उपप्रधानमन्त्री तहमा पुर्‍याइएका व्यक्तिले एमालेले भ्रम छर्‍यो भनेको सुनेँ । भ्रम फिजायो होइन, भ्रम फिजाउन दिएन एमालेले ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?