६ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ शक्ति बन्न राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सुझाव दिएका छन् । साथै उनले यो पार्टीले एमाले बाहेक अरुलाई धक्का दिन सक्ने टिप्पणी समेत गरे ।
राप्रपाको महाधिवेशनमा शुभकामना दिन पुगेका ओलीले राष्ट्रियताको पक्षमा प्रष्ट भएर आउन आहृवान गरे । साथै उनले लोकतन्त्रको पक्षमा आउन भन्दै घुमाउरो भाषामा राजतन्त्रको एजेन्डा नबोक्न पनि आग्रह गरे ।
राप्रपामा कसोकसो जटिलता देखिएको ओलीले भने, ‘गौरवपूर्ण इतिहास बोक्नुपर्छ । तर, जे पनि होइन । पृथ्वीनारायण शाहलाई मानियो भन्दैमा तीनका सन्तान, जो ड्रग्स पनि खान्छन्, तीनलाई पनि बोक्नुपर्छ भन्ने छैन ।’
उनले राप्रपा अब नयाँ शक्ति बन्नु पर्ने बताए । र, यो पार्टीले एमाले बाहेक अरुलाई धक्का दिन सक्ने बताए ।
डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी घोषणामा पनि ओलीले त्यही भनेका थिए । राप्रपाको महाधिवेशनमा शुभकामना दिँदै उनले भने, ‘मैले एउटा पार्टीको सभामा भनेको थिए । तर, नीति नै गलत भो ।’
अब राप्रपाले एमालेबाहेक अरुलाई धक्का दिन सक्ने भन्दै उनले अघि भने, मैले अरु पार्टीलाई अन्यथा भन्न खोजेको होइन ।’ मञ्चमा बसेका कांग्रेस सभापति शेरबहादुर देउवातर्फ लक्षित गर्दै उनले भने, ‘होसियार भए हुन्छ भनेको ।’
ओलीले मञ्चमा रहेका देउवालाई पनि निशाना साँधे । कांग्रेसको नाम नलिई उनले भने, महाअभियोग प्रस्ताव आउँछ । भोट हालौं कि नहालौ थाहा छैन । संविधान संशोधन दर्ता गर्ने कि नगर्ने थाहा छैन । यस्तो पनि पार्टी हुन्छ ।’
ओलीपछि शुभकामना दिन पुगेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले भने ओलीले आफ्नो स्थान सुरक्षित गरेको टिप्पणी गरे । उनले ओलीलाई पनि हराएर पहिलो पार्टी बन्न राप्रपालाई शुभकामना दिए ।
प्रतिक्रिया 4