८ चैत, लण्डन । नेपाल-व्रिटेन दौत्य सम्वन्ध कायम भएको २०० वर्ष पूरा भएको अवसरमा लण्डनस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा बेलायती राजकुमार हृयारी पनि सहभागी भएका छन् ।
उनी दूताबास पुग्दा भव्य स्वागत गरिएको थियो । हृयारीको स्वागतमा गोरखा व्रिगेडबाट संगीत प्रस्तुत गर्नुका साथै नेेपाली नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै हृयारीले एक वर्षअघि भएको नेपाल भ्रमणको स्मरण गरे ।
नेपालमा आफूले न्यायो स्वागत र आतिथ्य पाएको भन्दै उनले भने, ‘खासगरी मंगली तामाङ र उनको परिवार, जसको घरमा म बसें, त्यो कहिल्यै बिर्सने छैन ।’
हृयारीले नेपाल अत्यन्तै चित्ताकर्षक मुलुक भएको भन्दै भ्रमण गर्न सुझाव समेत दिएका छन् ।
उनले नेपाल प्रकृति र संस्कृतिका दृष्टिले समृद्ध मुलुक भएको र नेपालीहरु मिलनसार, इमान्दार, वीर र परिश्रमी जाति भएको भन्दै प्रशंसा गरे । आफूले गोर्खा सैनिकहरुसँग काम गरेको उल्लेख गर्दै हृयारीले बेलायतका लागि गोर्खाहरुको योगदार कदर र आदरयोग्य रहेको बताएको लण्डनस्थित नेपाली दूताबासले जनाएको छ ।
कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले संविधान घोषणा र शान्ति प्रक्रिया निष्कर्षमा पुगेपछि नेपालमा लगानीमैत्री वातावरण निर्माण भएको बताए ।
बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले दुई मुलुकबीच दौत्य सम्वन्ध स्थापना भएको अवसरमा भएको कार्यक्रममा हृयारीको उपस्थितिले नेपालप्रति बेलायतको सदभाव प्रतिविम्वित गर्ने बताए ।
कार्यक्रममा बेलायती रक्षामन्त्री मार्क ल्याङ्खेस्टरका साथै बेलायती संसद समूहका अध्यक्षसहित सांसदहरु, बेलायती सेनाका डेपुटी कमाण्डर इन चिफ, उच्च पदस्थ कर्मचारी लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया 4