१३ चैत, पोखरा । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अब स्थानीय निर्वाचनलाई कसैले पनि टार्न नसक्ने बताएका छन् । अब निर्वाचन नचाहनेहरु पनि कतैबाट उम्कन नसक्ने भन्दै उनले पार्टी कार्यकर्तालाई सक्रिय ढंगमा निर्वाचनमा जुट्न समेत निर्देशन दिएका छन् ।
प्रेस चौतारी कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले संविधान संशोधन प्रस्ताव संसदमा बेवारिसे बनेको बताए । संविधान संशाोधन चाहियो भन्ने मधेशी मोर्चाले नै संसदमा छलफल बहिस्कार गरेको र सत्ताघटक दलहरुः राप्रपासँगै कांग्रेस र माओवादीकै नेताहरु पनि विपक्षमा भएकाले संविधान संशोधनको कुनै औचित्य नभएको उनको तर्क थियो ।
महासचिव पोखरेलले एमालेले गरेको मेची-महाकाली अभियानले पार्टीको पक्षमा अभूतपूर्व उत्साह ल्याएको बताए । उनले मेची-महाकाली अभियानपछि एमाले निर्वाचनमा केन्दि्रत भएको जानकारी दिए ।
संविधान संशोधनको पक्षमा एमालेले लिएको अडानमा जनताको समर्थन प्राप्त भएको बताउँदै उनले दुई नम्बर प्रदेशमा स्थगित अभियान अब यहीं चैत १६/१७ गतेबाट सुरु हुने बताए । साथै उनले चुनावी वातावरण बिगार्न नभई एमालेले आफ्ना कुरा भन्न मेची-महाकाली अभियान सञ्चालन गरेको जिकिर गरे ।
महासचिव पोखरेलले स्थानीय तहको निर्वाचनका लागि एमालेले चाँडै उम्मेदवार तोक्ने जानकारी गराए । चुनावमा जित सुनिश्चित हुने र स्थानीय तहमा लोकपि्रय व्यक्तिलाई एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनाउने उनको भनाई छ ।
प्रतिक्रिया 4