+
+

गच्छदारको टिप्पणीः राजेन्द्र महतो धोती सुर्केर बालुवाटार जान्छन् (भिडियोसहित)

'उपेन्द्र यादव चुनावको तयारी गर्दैछन्, जनताले मलाई खोज्दैछन्'

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २४ गते १८:०४

२४ चैत, बिराटनगर । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार मधेसी मोर्चाका नेताहरुविरुद्ध खनिएका छन् । उनले सरकारको एक कल फोन आउनासाथ राजेन्द्र महतो ‘धोती सुर्केर बालुवाटार जाने गरेको’ टिप्पणी गरे ।

विहीबार बिराटनगर पुगेका गच्छदारले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने- ‘राजेन्द्र महतो मधेसमा मात्रै सरकारसँग वार्ता गर्ने भनेर ठूलो-ठूलो स्वरले भन्ने, सरकारको एक फोन आउँदा धोती सुर्केर बालुवाटार पुग्ने । यस्ताको के कुरा गर्नु ?’

मधेसी मोर्चाका अर्का नेता उपेन्द्र यादवले चुनाव बहिस्कारको ठुल्ठुलो कुरा गरे पनि भित्रभित्रै चुनावी तयारी गरिरहेको गच्छदारले बताए ।

यादवको पार्टी निर्वाचन आयोगमा दर्ता भएको बताउँदै गच्छदारले भने- ‘उपेन्द्र यादवजीले मभन्दा पहिला नै पार्टीर्को उम्मेदवार तय गरिसक्नुभएको जानकारी पाएको छु, अब यस्ताको तुलना गर्ने मसँग ?’

उनले मधेसी मोर्चाका शीर्ष नेताहरुलाई ‘अडान नभएका नेताहरु’ को संज्ञा दिए ।

प्रचण्ड ‘इतिहासकै लाचार प्रधानमन्त्री’

पूर्वउपप्रधानमन्त्री गच्छदारले प्रधानमन्त्री प्रचण्ड इतिहासकै लाचार भएको बताए । प्रचण्डले चीन जाँदा कार्यवाहक प्रधानमन्त्रीसमेत तोक्न नसकेको भन्दै गच्छदारले इतिहासमा यस्तो कहिल्यै नभएको बताए ।
उनले भने- ‘यो देश कसले चलाइरहेको छ ? एउटा कार्यवाहक प्रधानमन्त्री तोक्न नसक्ने हाम्रो देशको इतिहासमा कहिल्यै भएको थिएन कति लाचार यो सरकार ?’

‘अब मैले मात्रै सक्छु’

आफ्नो पार्टीमा जनजाति नेताहरु प्रवेश गरेको भन्दै उनले अब अरु कसैले देशको नेतृत्व गर्न नसक्ने र आफूले मात्रै सक्ने बताए । उनले भने ‘जनताले मलाई खोजिरहेका छन् । विजय गच्छदारलाई खोजिरहेका छन् ।’

हेर्नुस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?