+
+

गोहीको आक्रमणबाट भाग्यले बाँचेका अर्जुन खुसी बोकेर घर फर्के

रासस रासस
२०७४ वैशाख २१ गते ८:५८


२१ वैशाख, चितवन । चितवन मेडिकल कलेज अर्थोपेडिक वार्डको २९६ नं श्ययामा हँसिलो मुद्रामा थिए चितवन जगतपुरका १२ वर्षीय अर्जुन हरिजन । घर जान पाउने खबर आएपछि खुसी नहुने कुरै भएन ।

उनकी आमा फूलमायाँ अस्पतालको डिस्चार्ज कागज मिलाउँदै र बाँकी भुक्तानीको व्यवस्थापन गर्दै थिइन् । उनलाई सहयोग पुर्याउँदै  थिए, बुबा रामबहादुर र सहयोगी कृष्ण शर्मा ।

हालै गोहीले चपाएर पनि बाँचेका उनी २७ दिनको अस्पताल बसाईमा सात दिन सघन उपचार कक्षमै रहे । ‘अब घर जाने, ठीक हुन लाग्यो’, हात देखाउँदै अर्जुनले हर्षित हुँदै भने । बुधबार ४ बजे उनलाई अस्पतालले डिस्चार्ज गरेपनि आवश्यक तयारी र वर्षाका कारण राति ८ बजे मात्रै उनी अस्पतालबाट घर हिँडे । ‘मलाई सहयोग गर्नेहरुलाई धेरै धेरै धन्यवाद, अब म ठीक भएर घर जाँदैछु, बाइबाई’, हात हल्लाउँदै अर्जुनले भने ।

गोहीको आक्रमणबाट जोगिएको उनको हातमा ब्यान्डेज छ । निको हुनलाई अझै महिनौँ लाग्ने चिकित्सकले बताएका छन् । ‘हप्तैपिच्छे अस्पताल आउनुपर्छ भनेका छन्’, उनका बुबा रामबहादुरले भने, ‘तपाईंले गरेको सहयोग हामी सुकुम्वासीका लागि ठूलो भो ।’ अस्पतालका अनुसार उनको उपचारका लागि रु एक लाख ४३ हजार लागेको छ । सात दिन आइसियु र अरू २० दिन सामान्य श्ययामा बसे अर्जुन ।

डिस्चार्ज हुँदै गर्दा चितवन मेडिकल कलेजले रु ४२ हजार छुट गरेको छ । कलेजका प्रमुख प्रशासक देवराज लोहनी सामाजिक सेवाअन्तर्गत यसरी छुट गरिएको बताउँछन् । रु एक लाखभन्दा बढी औषधिमा खर्च भएको उपचारमा सक्रिय हुँदै आएका सहयोगी कृष्ण शर्मा बताउँछन् ।

उनको उपचारमा संलग्न चिकित्सकले सुरुको अवस्था देख्दा हात काट्नुपर्छ भन्ने निष्कर्षमा पुगेका थिए । पूरै हातको भित्री हड्डी नै बाहिर निस्किएको थियो । तैपनि हात जोगाउन खटियो टोली । शल्यक्रियापछि हात जोगिएकोमा उनीहरु पनि आश्चर्यमा छन् ।

सुरुमै गोहीको मुखबाट भाग्यले बाँचेका उनको अनुभवी चिकित्सकीय टोलीका कारण शल्यक्रिया सफल हुँदा हात जोगियो । ‘ओपन फ्याक्चर, हड्डी नै बाहिर आएको थियो, पाता र किला राखेर अड्याएका छौँ’, अर्थोपेडिक सर्जन डा. आकेश प्रजापतिले भने, ‘हात काटेर फाल्नुपर्ने देखिन्थ्यो, धन्न जोगियो ।”

अर्जुनको परिवार सकुम्वासी हो । भरतपुर नपा–२३ को जगतपुरस्थित घैलाबारी बस्ने उनी चैत २४ गते चितवन निकुञ्जसँगै जोडिएको राप्ती नदीमा पौडी खेल्न गएका बेला उनलाई गोहीले समाएको थियो । भाग्यले गोहीले चपाएर पनि उनी बाँच्न सफल भए । सँगै गएका साथीहरुले गोहीको आँखामा हानेपछि गोहीले छाडेको थियो ।

एउटा हात तीन ठाउँमा भाँचिएर हाड नै बाहिर निस्किएको थियो । टाउको छेक्न खोज्दा अर्को हातमा पनि गोहीले समाएको थियो । भुँडी र छातीमा प्वाल पारेको छ । ‘धन्न आन्द्राभुँडी तथा मुटुमा दाँतले भेट्न पाएन’, डा आकेशले थपे, ‘त्यहाँ भेटेको भए ज्यान जोगिन गाह्रो थियो ।’

छातीका विभिन्न ठाउँका घाउ ओभानो भएका छन् । खुट्टाभरि भएको घाउमा खाटा बस्न थालेको छ । उनलाई हप्तैपिच्छे नियमित परीक्षणमा आउन अस्पतालले भनेको छ ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?