१४ भदौ, काठमाडौं । पहिलो र दोस्रो चरणमा स्थानीय तह चुनाव भएका ६७ मध्ये ६४ जिल्लामा जिल्ला समन्वय समिति निर्वाचन सम्पन्न भएको छ । अब नयाँ थपिएका नवलपरासी र रुकुमसहित चितवन जिल्ला समन्वय समितिमात्रै गठन हुन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन सम्पन्न भएका ६४ मध्ये एमालेले ३९ जिल्लाको नेतृत्व लिन सफल भएको छ । अब जिसस गठन हुन बाँकी रहेका जिल्लामध्ये चितवनमा एमालेको एकल बहुमत छ ।
नेपाली कांग्रेसले ६३ मध्ये १७ वटा जिल्ला समन्वय समितिको नेतृत्व गर्न सफल भएको छ । अब जिसस गठन हुन बाँकी नवलपरासीको एक भागमा कांग्रेसको बहुमत छ । ५ नम्बर प्रदेशमा पर्ने नवलपरासीमा भने कांग्रेस एक्लैले जिसस बनाउन सक्दैन । त्यहाँ १४ मध्ये ७ मत कांग्रेसको छ ।
स्थानीय तहमा तेस्रो स्थानमा रहेको माओवादी केन्द्र जिल्ला समन्वय समितिमा पनि तेस्रो स्थानमै छ । माओवादी केन्द्रले ५ वटा जिल्लाको नेतृत्व लिन सफल भएको छ । चुनाव हुन बाँकी रुकुमका दुवै जिल्ला समन्वय समिति माओवादीले एकल बनाउनेछ ।
स्थानीय तहमा चौथो शक्तिका रुपमा रहेको संघीय समाजवादी फोरम जिल्ला समन्वय समितिमा भने पाँचौ स्थानमा पुगेको छ । फोरमले एउटा जिल्लाको नेतृत्व पाएको छ । राष्ट्रिय जनमोर्चाले दुई जिल्लाको प्रमुख जितेर चौथो शक्ति बनेको छ ।
स्थानीय तहमा प्रतिनिधित्व रहेको राप्रपा,नेपाल मजदूर किसान पार्टी, नयाँ शक्ति र फोरम लोकतान्त्रिकले जिल्ला समन्वय समितिको प्रमुख भने कतै पनि जित्न सकेनन् ।
दलितको दह्रिलो उपस्थिति, महिला २ जिल्लामा मात्रै
जिल्ला समन्वय समितिको निर्वाचनले यसपटक दलित र महिलालाई प्रमुख पदमा पुर्याउन सम्भव भएको छ । ६४ मध्ये ७ जिल्ला समन्वय समितिको प्रमुखमा दलितले जितेका छन् ।
जिससका ७ दलित प्रमुखमध्ये ६ जना एमालेबाट र एकजना कांग्रेसबाट निर्वाचित भएका छन् । एमालेबाट झापामा सोमनाथ पोर्तेल, उदयपुरमा खड्गवहादुर परियार, स्याङजामा सीता सुन्दास, रुपन्देहीमा एकराज विश्वकर्मा, दाङमा जितेन्द्र नेपाली र पर्वतमा मनोहर विश्वकर्माले प्रमुख जितेका छन् ।
कांग्रेसबाट जुम्लामा लालबहादुर सार्की प्रमुख बिजयी भएका छन् । महिला प्रमुख भने दुईजना मात्रै छन् । स्याङ्जाकी सीता सुन्दास र मुस्ताङकी छिरिङ ल्हमो गुरुङ जिल्ला समन्वय समितिको प्रमुखमा एमालेबाट निर्वाचित भएका छन् ।
चारवटा प्रदेशमा एमालेको बहुमत, एउटामा कांग्रेस
प्रदेशका आधारमा हेर्दा १ नम्बर प्रदेशमा सुनसरी र ओखलढुंगा बाहेक अन्य सबै जिल्लामा एमालेले जिल्ला समन्वय समितिमा बिजय हासिल गरेको छ । प्रदेश नम्बर ३ मा नुवाकोट र ललितपुरबाहेक सबै जिल्लाको नेतृत्व एमालेको हातमा पुगेको छ । प्रदेश नम्बर ४ मा पनि एमाले पहिलो बनेको छ ।
स्थानीय तहमा कांग्रेसले बहुमत पाएको ४ नम्बर प्रदेशमा जिल्ला समन्वय समिति निर्वाचनमा भने एमालेले बहुमत पाएको छ । त्यहाँ एमालेले ६ जिल्लामा जिससको नेतृत्व पाउँदा कांग्रेस ३ जिल्लामा सीमित भएको छ । राष्ट्रिय जनमोर्चाले एउटा जिल्लाको नेतृत्व पाएको छ ।
प्रदेश नम्बर ५ मा एमालेेले ४ जिल्लाको नेतृत्व पाएको छ भने कांग्रेस २ जिल्लामा सीमित भएको छ । त्यस्तै माओवादीले २ जिल्लाको प्रमुख पाउँदा राष्ट्रिय जनमोर्चा र संघीय समाजवादी फोरमले एक-एक जिल्लाको नेतृत्व पाएका छन् ।
प्रदेश नम्बर ६ मा भने रुकुम बाहेकका ९ जिल्लाको निर्वाचन सम्पन्न हुँदा एमाले, कांग्रेस र माओवादीले बराबरी तीन-तीन जिल्लाको नेतृत्व गर्न पाएका छन् । स्थानीय तहमा एमाले २ सीटले पहिलो भएको ६ नम्बर प्रदेशमा कांग्रेस र माओवादीले बराबरी २४ तह जितेका थिए ।
प्रदेश ७ मा भने कांग्रेस पहिलो भएको छ । कांग्रेसले ५ जिल्लाको जिसस नेतृत्व गर्दा एमालेले ४ जिल्लामा प्रमुख र उपप्रमुख जितेको छ । स्थानीय तहमा भने एमाले पहिलो भएको थियो ।
माओवादी केन्द्रले प्रदेश नम्बर ५ र ६ मा मात्र जिल्ला समन्वय समितिको नेतृत्व पाएको छ । अन्य ४ प्रदेशमा माओवादीले कुनै पनि जिल्लाको प्रमुख जित्न सकेन ।
प्रतिक्रिया 4