२२ भदौ, काठमाडौं । दैलेख र सुर्खेतका झण्डै १५ जना किशोरको सूमह विहान ४ बजे दशैंको अग्रीम टिकट बुकिङका लागि नयाँ बसपार्क पुग्यो । विहान अध्याँरोमै निन्द्रा माया मारेर बसपार्क पुग्दा झण्डै २ सय मान्छे लाइनमा आइसकेका थिए ।
लाइनमा बसेका सबै उज्यालो भएपछि काउन्टर खुल्ने आशामा थिए सबै । तर, ६ बजे आइपुगेका बस समितिका कर्मचारीले अग्रीम बुकिङ नखुलेको बताएपछि उनीहरु निराश भएर फर्किए ।
‘कान्टरवालाले १० बजेपछि केही टुंगो लाग्छ कि भनेका थिए । त्यसैले फेरि अएका हौं ।’ साढे ९ बजे फेरि नयाँबसपार्क आइपुगेका सतिश मल्लले भने,’अब त कहिले खुल्छ भन्ने ठेगान नै छैन भन्छन् । अब घर बसरी जाने भन्ने तनाव भयो ।’
अत्यावश्यक सेवाको रुपमा मानिने यातायातमा ब्यवसायीले राजनीति गर्दा आफूहरुलाई समस्या परेको आरोप उनीहरुले लगाए।
दशैंको समयमा माग पुरा गर्ने बाहनामा सोझा-साझालाई दुःख दिनु उचित नभएको धनगढीका लागि टिकट बुक गर्न आएका रमेश थापाले बताए ।
‘जहिले पनि ब्ल्याकमा टिकट काटेर जानुपर्ने अवस्था आउँछ । दशैंमा टिकट बुकिङ खोलेको २/३ घण्टामै सकियो भनेर कालोबजारी गर्छन’ उनले भने,’अब फेरि बुझ्न आयो भने डबल भाडा दिने भए पाइन्छ भनेर दलालले तान्न आउँछन् । घर त जसरी पनि जानुपर्छ ।’
थापा डोटीका चिरञ्जीवी खत्री पनि टिकट काट्न नपाएर काउन्टर-काउन्टर चाहारिरहेका थिए । उनले दशैंमा घर जान्छु भन्दा पनि वातावरण नबनाउने सरकार र भाडा बढाउन अनेक निहुँ खोजिरहने यातायात व्यवसायी ‘एउटै ड्यांग’का भएको टिप्पणी गरे ।
‘व्यवसायीहरुले दादा गरे । सरकारले साझा बस चलाओस् र हामीलाई घर पुर्याओस्’ उनले भने,’नागरिक अप्ठेरोमा पर्दा सरकार चुप बसेको सुहाउँदैन । स्कलुका बसमा भएपनि यात्रुलाई घर पठाउने वातावरण सरकारले मिलाउनुपर्छ । ‘ खत्रीको यो भनाइलाई वरपर जम्मा भएका यत्राुले ताली पिटेर समर्थन जनाए ।
यातायात व्यवसायीले यो पटक सरकारले दशैंमा गाडी चलाउने वातावरण तयार नगरेको आरोप लगाउँदै निर्णय भएपनि बुकिङ नखोलेका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सडकको दुरावस्थाका कारण बस कहिले काठमाडौं आइपुग्छ र यहाँबाट छुटेका बस कहिले गन्तब्यमा पुग्छ भन्ने ठेगान नहुने भएकाले बुकिङ नखोलिएको बताउँछन् ।
‘सरकारले बसमा छत राख्न नदिनेर भएका छतमा पनि सामान राख्न नदिने भनेको छ । यसले हामीलाई हैन,यात्रुलाई आफ्नो अत्यावश्यक सामन बोक्न अप्ठोरो भयो’ सिटौलाले भने,’सडकको सुधारसँगै यो ब्यवस्था नहटाएसम्म हामी दशैंको बुकिङ खोल्न सक्दैनौं ।’
यातायात व्यवस्था विभाग भने टिकट बुकिङ खुलिसकेको दावी गर्छ । विभागका महानिर्देशक रुपनारायण भट्टराई आफूले विहानै बस काउन्टरहरुको निरीक्षण गरेको भन्दै विभिन्न स्थानमा जाने बसको अग्रीम बुकिङ सुरु भएको दावी गरे ।
‘धेरै कम्पनीले बुकिङ थालिसके । अब बाँकीले पनि सुरु गर्ने बताएका छन्’ भट्टराईले भने,’यात्रुले सहज रुपमा अग्रीम टिकट पाउँछन् । यसमा शंका गर्नुपर्ने अवस्था छैन ।’
अहिले ब्यवसायी बुुकिङ खोल्दैनौं भनिरहेका छन् भने सरकार खुलिसकेको दावी गरिरहेको छ । यात्रु भने टिकट नपाएर अलमालमा छन् । धेरैलाई कसरी घर जाने भन्ने चिन्ताले सताएको छ । दशैंमा झण्डै २२ देखि २५ लाख यात्रुले काठमाडौं छाड्ने गरेको अनुमान छ ।
यातायात ब्यवसायीले यो मौकामा बढी भाडा लिने समस्या ब्याप्त हुन्छ । झन अग्रीम बुकिङ नै नखोलिएपछि धेरैले ब्यवसायीले महंगोमा टिकट बेच्ने र यात्रुलेबाध्य भएर किन्नु अवस्था आउने देखिएको छ ।
‘प्लेनको पनि टिकट बुक भइसक्यो भन्छन्, बसको टिकट बुक नै नगर्ने भनेर लफडा रहेछ’ दाङमो टिकट बुक गर्न नयाँबसपार्कमा भौंतारिरहेका सुशीला मगरले भनिन्,’महंगो नै तिरेर पनि जान्छु भनेको । मिलाइदिन्छु भनेका छन् । अरु त उपाय नै छैन ।’
दशैंको टिकट बुकिङको अघि व्यवसायीले भाडा समायोजनको पनि माग अघि सारेका छन् । उनीहरुले चाडबाड अघि नै भाडा बढाउन खोजेपछि सरकार व्यवसायीको मागमा लचिलो बन्न सकेको छैन ।
अग्रीम बुकिङ खोल्न वैज्ञानिक भाडा समायोजनको शर्त तेस्र्याएपछि विभागले त्यसलाई तत्काल सम्बोधन गर्ने संकेत देखाएको छैन । त्यसैले पनि यो बुकिङको अप्ठेरोमा पारेर व्यवसायी सरकारलाई गलाउन खोज्दैछन् ।
यातायात विभाग भने अहिले भाडा बढाउने मामिलामा लचिलो नबन्ने संकेत गरिरहेको छ । यही विषयमा बार्गेनिङ गरेर व्यवसायीले यात्रुलाई मारमा पर्दैछन् ।
सवारी मजदुर भने व्यवसायीको यो हर्कतसँग सहमत छैन । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई ब्यवसायीले दशैं जस्तो महत्वपूर्ण समयमा ब्यवसायीले खोँचे थाप्ने काम गर्न नहुने बताए ।
‘यात्रुले छतमा समान राख्न नपाए सास्ती पाउँछन् । सरकारले यो विषयलाई गम्भिर रुपले लिनुपर्छ,’ राईले भने,’ मुग्लिन-नारायणगढको ३६ किलोमिटर बाटो पनि सहज गर्नुपर्छ । व्यवसायी पनि यो बेलामा यात्रुलाई सेवा दिने विषयमा बाधक बन्नु हुँदैन ।’
प्रतिक्रिया 4