+
+

ठूलीचौर विमानस्थलको फाइलै बन्दः चर्चामै सीमित बन्यो योजना

सबै हिसाबले अनुपयुक्त देखिएपछि प्राथमिकता बाहिर

सुदिल पोखरेल सुदिल पोखरेल
२०७४ मंसिर ७ गते १०:०७

७ मंसिर, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले काभ्रेकाे ठूलीचौरमा आन्तरिक विमानस्थल निर्माणका लागि अध्ययन थालेको ६ वर्ष बित्यो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र बाह्य उडानको चाप अत्यधिक बढेपछि ठूलीचौरमा आन्तरिक टर्मिनल सार्ने योजनाअनुरुप अध्ययन अगाडि बढाइएको थियो ।

तत्कालीन महानिर्देशक त्रिरत्न मानन्धरले ०६८ सालमा त्यसबारे अध्ययन अगाडि बढाएका थिए । सम्भाव्यताबारे प्रारम्भिक रिपोर्टसमेत उनले तयार पारेका थिए ।

अहिले पनि नयाँ नियुक्त हुने पर्यटन मन्त्रीले ठूलीचौर विमानस्थलको कुरा उप्काउँछन् । तर, उक्त आयोजनाको फाइल बन्द भएको पनि लामै समय बित्यो ।

रिपोर्टअनुसार ठूलीचौरमा विमानस्थल निर्माण सम्भव त छ तर आठ सय मिटरको मात्रै । त्यति छोटो धावनमार्गमा ट्रंक रुटमा चल्ने ठूला जहाजले उडान/अवतरण गर्न सक्दैनन् ।

बुद्ध, यती, सौर्य, श्री एयरलाइन्स र नेपाल वायुसेवा निगमले पछिल्लो समयमा ल्याएका ठूला जहाजका लागि आठ सय मिटरको धावनमार्ग अपर्याप्त हुन्छ । एकपछि अर्को गर्दै एयरलाइन्सहरुले ट्रंक रुटमा चल्ने ठूला जहाज ल्याइरहेका छन् ।

सोही कारण प्राधिकरणले उक्त विमानस्थलको काम रोकेर राखेको छ ।

अहिले सौर्य र श्री एयरलाइन्ससँग बम्बार्डियर, नेपाल एयरलाइन्ससँग एमए–६०, बुद्ध एयरसँग बिचक्राफ्ट र एटीआर तथा यती एयरलाइन्ससँग जेटस्ट्रिम र एटीआर जहाज छन् । ती विमानले साना विमानस्थलमा उडान/अवतरण गर्न सक्दैनन् ।

ती जहाजका लागि ११ सयदेखि १५ सय मिटरको धावनमार्ग आवश्यक हुन्छ ।

अहिले त्रिभुवन विमानस्थलबाट आन्तरिक गन्तव्यमा हुने ३५ प्रतिशत उडान पहाडी विमानस्थलका लागि हुन्छन् । त्यसबाहेकको ६५ प्रतिशत उडान ट्रंक रुटमा हुन्छ ।

ठूलीचौर विमानस्थलका लागि उपयुक्त हुने साना जहाज भनेका ट्विनअटर, डोर्नियर, वाई–१२ हर्बिन र एलईटी मात्र हुन् । ती सबैले सर्ट टेकअफ एन्ड ल्यान्डिङ (स्टल) गर्न सक्छन् ।

पर्यटकीय मौसमबाहेक अन्य समयमा पहाडी भेगमा यात्रुको खासै चाप हुँदैन । एयरलाइन्सहरुले कमाउने भनेको ट्रंक रुटबाटै हो ।

ठूलीचौर विमानस्थलबारे प्रारम्भिक रिपोर्टमा करिब तीन अर्ब लागत अनुमान गरिएको थियो । अहिले आठ अर्बमा पनि निर्माण सम्भव नहुने प्राधिकरणले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?