+
+

आरजुको विपक्षमा उत्रिए पुराना कांग्रेस पुष्करनाथ

असन्तुष्टि व्यवस्थापन गर्न नसक्दा जोखिममा प्रधानमन्त्री पत्नी

उपेन्द्र पोखरेल उपेन्द्र पोखरेल
२०७४ मंसिर १८ गते २०:४०

१८ मंसिर, महेन्द्रनगर । सोमबार बिहान धनगढीस्थित घरमा पत्रकार सम्मेलन आयोजना गरेकी प्रधानमन्त्रीपत्नी तथा कैलाली–५ मा प्रतिनिधिसभा उम्मेदवार आरजु राणाले भनिन्, ‘जिते पनि हारे पनि केही छैन, यहाँको विकासमा जुट्नेछु ।’

स्थानीय सञ्चारकर्मीहरुका लागि उनको मुखबाट ‘हार’ शब्दको उच्चारण अप्रत्यासित थियो । उनी यसअघि उक्त शब्द उच्चारण गर्दिनथिन् ।

खासमा, करिब तीन दिनयता एकाएक आफ्नो माहोल बिग्रिएको स्वीकारोक्ति थियो त्यो । उनको उम्मेदवारीप्रति असन्तुष्ट रहँदै आएका पुराना कांग्रेस नेता पुष्करनाथ ओझाले खुलेरै आफ्नो विपक्षमा लागेको सूचना आरजुले पाएपछि उनमा चुनाव हारिने मनोविज्ञान पलाएको स्रोतको दाबी छ ।

त्यसो त, प्रधानमन्त्री शेरबहादुर देउवा पनि पाँच दिनदेखि धनगढीमै बास बसिरहेका छन् । र, साँझबिहान पत्नीको क्षेत्रका मतदाता र नेता/कार्यकर्तासँग भेटेर चुनाव जिताउन आग्रह गर्दै आएका छन् ।

तर, ओझाले भने राणालाई सहयोग गर्न नसकिने आफू निकटस्थहरुलाई बताउने गरेका छन् । भोलि आफूलाई मात्र नभई सबैलाई राजनीतिक रुपमा अप्ठ्यारो पर्ने भएकाले आरजुका पक्षमा नलाग्न ओझाले नेता/कार्यकर्तालाई मनाउने प्रयास गरिरहेका छन् । आफूसँग विश्वासमा नलिई गरिएको उम्मेदवारी चयनप्रति ओझा शुरुदेखि नै असन्तुष्ट छन् ।

स्थानीयवासीका अनुसार ओझाले आफ्नो पकेटको करिब ३५ सय मत प्रभावित पार्ने हैसियत राख्छन्, कैलाली–५ मा । उनको परिवारको मत नै एक हजारभन्दा माथि छ । डोटीबाट कैलाली झरेका ओझाहरुको मत हो त्यो र तीमध्ये अधिकांश कांग्रेस समर्थक हुन् ।

विवेकशील साझा पार्टीबाट सोही क्षेत्रमा उम्मेदवारी दिएका दिनेश भण्डारी पनि पूर्वकांग्रेस समर्थक हुन् । उनले काट्ने मतमध्ये अधिकांश कांग्रेसकै हो । भण्डारीको पुख्र्यौली थलो डोटीको गठेरा जोरायल क्षेत्रमा हो । कैलाली–५ मा उक्त क्षेत्रबाट आएर बसेका मानिसको ठूलो संख्या छ । हरेक चुनावमा ती मत निर्णायक हुने गर्छन् ।

विगतमा शेरबहादुर देउवा, ओझा र टेकबहादुर चोख्यालले निर्वाचन जित्ने आधार पनि तिनै मत थिए । विवेकशीलका भण्डारीले चार हजारभन्दा बढी मत ल्याए भने आरजुको जित असम्भवप्रायः बन्ने स्थानीय विश्लेषकहरु बताउँछन् ।

उनीहरुको बुझाइमा कांग्रेसभित्र किचलो चर्किंदा राना थारुको मत एमाले उम्मेदवार नारदमुनि रानातिर जाने जोखिम देखिएको छ । त्यसै पनि रानाले २० प्रतिशत आफ्नो समुदायको मत पाउने सम्भावनालाई कमजोर आँकलन गर्न सकिँदैन ।

त्यसबाहेकको मत कांग्रेसभित्रको किचलोले नै प्रभावित पार्ने जोखिम देखिएको देउवा परिवारसँग निकटस्थ एक कांग्रेस कार्यकर्ता बताउँछन् ।

‘जुन जुन मत आरजुका लागि निर्णायक बन्न सक्थे, तिनै मतमाथि प्रहार भएपछि केही भन्न सक्ने अवस्था रहेन,’ उनी भन्छन्, ‘तीन दिन अघिसम्म ओझाले आरजुलाई खुलेर समर्थन गर्ने आशामा थियौं तर त्यस्तो हुन सकेन ।’

स्थानीय होटेल विद्यामा कोठा लिएर ओझाले आफू निकटस्थ नेता/कार्यकर्तासँगको भेटघाट बाक्लो बनाएका छन् । उक्त होटेल पनि कांग्रेसका पूराना नेता आनन्द जोशीको घर हो । उनी पनि आरजुको उम्मेदवारीप्रति असन्तुष्ट छन् ।

कांग्रेस जिल्ला सचिव पूर्ण कुँवर पनि आरजुको विपक्षमा छन् । असन्तुष्ट पक्षले विवेकशीलका भण्डारीलाई मत दिने अनुमान गर्न थालेका छन्, स्थानीय नेता/कार्यकर्ता । सोमबार र मंगलबारमा देउवाले असन्तुष्ट पक्षलाई मिलाउने प्रयास नगरे आरजुको चुनावी माहोल जोखिममा पर्ने उनी निकटस्थहरुकै दाबी छ ।

यसअघि अनलाइनखबरसँगको अन्तर्वार्तामा आरजुले भनेकी थिइन्, ‘चुनाव हो, शतप्रतिशत जितिन्छ त कसरी भन्न सकिन्छ र ? आफ्नो तर्फबाट कोशिस गर्ने हो । कोशिस गरिरहेकी छु । हार्ड वर्क हो, हेरौं ।’

कांग्रेसको बलियो संगठन र आफ्नो हार्ड वर्कका कारण चुनाव जितिने आशा उनमा देखिन्थ्यो । तथापि, असन्तुष्ट पक्ष खुलेर आफ्नाविरुद्धमा लाग्ला भन्ने आकलनमा उनमा त्यतिबेला पाइँदैनथ्यो ।

अहिले बिग्रिएको माहोलबीच आरजुले चुनाव जिते पनि बढीमा आठ सय मतको अन्तर मात्र रहने दाबी उनी निकटस्थहरुकै छ ।

ओझालाई आरजुको विपक्षमा नलाग्न आग्रह गर्नेहरु पनि छन् । तर, उनले मानिरहेका छैनन् ।

त्यसो त, देउवाले ओझालाई भेटेर असन्तुष्टि व्यवस्थापनको प्रयास नगरेका पनि होइनन् । ओझाले भेट्न चाहेनन् । यसअघि दिनभर कैलाली–३ र ४ मा रामजनम चौधरी र सुनिलकुमार भण्डारीका पक्षमा प्रचार गर्ने र राति धनगढी पुगेर बास बस्ने गरिरहेका थिए ।

कैलाली–५ मा उनी आरजुका पक्षमा प्रचारमा निस्केका थिएनन् तर उनले जितेमा खुशी नै हुने बताउने गरेका थिए । कुनै कार्यकर्ताले आरजुले आफूलाई अवसरवादी भनेको बताउँदै कुरा लगाइदिएपछि ओझा आक्रोसित बनेर विपक्षमा ‘लबिङ’ थालेको स्रोतको दाबी छ ।

उम्मेदवारी दर्ताको समय नजिकिँदै गर्दा आरजुले बर्दिया या कैलाली–५ मा कहाँ लड्ने भन्ने अन्योल थियो । कैलाली–५ मा चुनाव लड्ने निर्णय गर्दै गर्दा उनी ओझालाई विश्वासमा लिन चुकिन् । र, अहिले जोखिममा परेकी छन् ।

ओझा ०३६ सालदेखि कांग्रेस राजनीतिमा छन् । र, पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा जेल पनि परेका थिए । स्थानीयस्तरमा लोकप्रिय नेता मानिन्छन्, उनी । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा देउवा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

उनले उक्त क्षेत्र छाडेर गृहजिल्ला डडेलधुरा रोजेपछि भएको उपनिर्वाचनमा ओझा विजयी भएका थिए । तर, त्यसपछि बनेका सरकारमा मन्त्री नबनाएकामा उनी देउवासँग रुष्ट रहँदै आएको देउवा निकटस्थ स्रोतको दाबी छ । मोबाइल स्वीच अफ रहेकाले ओझासँग सम्पर्क हुन सकेन ।

आरजु निकटस्थ एक स्रोतले भने ओझाजस्तो राजनीतिक उचाइ भएका नेताले पार्टी संस्थापनको निर्णयविरुद्ध अभियान सञ्चालन गर्न नसक्ने दाबी गर्‍यो । आफ्नो राजनीतिक जीवन नै दाउमा राखेर ओझाले आरजुलाई खुलेर असहयोग गर्न नसक्ने उक्त स्रोतको भनाइ छ ।

१६ मंसिरमा आरजुलाई हराउन आग्रह गर्दै धनगढीका चोक–चोकमा पर्चा टाँसिएको थियो । सोही समूहले ओझाले खुलेर आरजुको विपक्षमा अभियान थालेको भ्रामक प्रचार गरिरहेको उक्त स्रोतको दाबी छ ।

सोमबार बिहान धनगढी गाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आरजुले आफ्नो जित सुनिश्चित देखेर एक विपक्षी दल भ्रामक प्रचारमा लागेको बताएकी थिइन् । उनको लक्ष्य विवेकशील साझा पार्टीतर्फ थियो ।

लेखकको बारेमा
उपेन्द्र पोखरेल

पोखरेल अनलाइनखबर डटकमका पूर्व सहायक सम्पादक हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?