२२ मंसिर, गोरखा । पहिलो चरणअन्तरगत निर्वाचन सम्पन्न भएको गोरखामा दोस्रो चरणको निर्वाचन सकिनेवित्तिकै मतगणना गर्ने तयारी थियो । बिहीबार साँझ गणना थाल्नका लागि प्रारम्भिक व्यवस्था मिलाउँदै थिए, प्रमुख निर्वाचन अधिकृत वसन्तराज पौडेलले ।
गणनाको तयारीमा उनी निकै व्यस्त देखिन्थे । गोरखा सदरमुकामस्थित जिल्ला समन्वय समिति र महिला तथा बालबालिका कार्यालयको भवनमा मत गणना गर्ने व्यवस्था मिलाइएको थियो ।
गणनाको तयारी सक्नै लाग्दा अधिकृत पौडेलको व्यस्तता झनै बढेको थियो । छिनमै जिससको भवन, छिनमै महिला तथा बालबालिकाको कार्यालयमा उनी देखिन्थे । तर, चार बज्दै लाग्दा एकाएक उनको अनुहार मलिन देखियो ।
आमाको निधनको पीडा त छँदै त तर, राष्ट्रले दिएको जिम्मेवारी पनि मैले पूरा गर्नु थियो । मैले जिम्मेवारी पूरा गरेँ
पोखरास्थित घरबाट उनलाई कसैले फोन गरेको थियो । फोनमा खबर आयो, ‘आमा रहनुभएन !’
उनकी आमा हिमादेवी पौडेलको ९५ वर्षको उमेरमा निधन भएछ । बुढ्यौलीका कारण उनको निधन भएको थियो । तर, आमाको निधन भएको खबर पाएपछि स्तब्ध बनेका उनले आफूलाई विचलित हुन भने दिएनन् ।
मातृशोकको पीडालाई एकातिर राखेर उनी रातभर मतगणना गरिरहे । अनलाइनखबरसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘आमाको निधनको पीडा त छँदै त तर, राष्ट्रले दिएको जिम्मेवारी पनि मैले पूरा गर्नु थियो । मैले जिम्मेवारी पूरा गरेँ ।’
शुक्रबार बिहान उनी पोखरा गएका छन् । र, उनका ठाउँमा निमित्त निर्वाचन अधिकृत रितेन्द्र थापाले जिम्मेवारी सम्हालेका छन् ।
प्रतिक्रिया 4