२ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष ओली शर्मा ओलीले वाम गठबन्धनको सरकार बनेपछि पूँजी पलायन हुन्छ, लगानी आउँदैन भनेर दुश्प्रचार गरिएको बताएका छन् ।
आफूलाई बुद्धिजिवी ठान्नेहरुले साना स्वार्थका लागि देशविरुद्ध प्रचार गरेको उनले बताए । वाम गठबन्धनले आइतबार गरेको पत्रकार सम्मेलनमा एक प्रश्नको जवाफ दिँदै एमाले अध्यक्ष ओलीले भारतले आधिकारिक व्क्तव्यमा नै मिलेर काम गर्न आतुर छौं भनेको सुनाउँदै कथाका पछाडि नकुद्न आग्रह गरे ।
ओलीको जवाफ उनकै शब्दमाः
परराष्ट्र, परराष्ट्र भनेर भारतको चर्चा गर्न खोजिएको हो । भारतले आधिकारिक रुपमा के स्टेटमेन्ट दिएको छ ? ‘हामी अहिलेको जनादेशलाई कदर गर्छौं, अहिले जसरी बहुमत ल्याएको छ, यसले स्थिरता, स्थायित्व दिने हामीले विश्वास गरेका छौं । यसप्रति खुसी व्यक्त गर्छौ र मिलेर काम गर्न आतुर छौं’ ।
अनि कथा बुन्नेहरुका कथाका पछाडि कुद्ने किन ? यहाँबाट हामी भनिरहेका छौं, आजको वक्तव्यमा पनि छ, ‘नेपालको संविधानद्धारा निर्देशित स्वतन्त्र परराष्ट्र नीतिको अनुशरण गर्दै सबै मित्रराष्ट्र, विशेषत छिमेकी देश र अन्तराष्ट्रिय संघसंस्थासँग सुमधुर सम्वन्ध कायम गर्न कटिवद्ध छौं’ । हाम्रो नीति साझा घोषणा पत्रमा छ ।
अनि पुँजी पलायन हुन्छ के हुन्छ ? म स्पष्टसँग भन्न चाहन्छु, तीन महिना हेर्नुस्, फिल गर्नु हुनेछ, सबै बकवास हो, कुनै आधार रहेनछ । तपाईहरुले जुन प्रश्न गर्नु भएको छ, यसको जवाफ त भारतले दिइसक्यो । त्यसमाथि के भनिरहनु पर्यो ।
यो देशविरुद्धकै प्रचार हो । बैदेशिक लगानी नओओस्, शेयर बजार डामाडोल होस्, यस्तो कुरा कसैले सोच्न हुन्छ । आफूलाई सो काल्ड बुद्धिजिवी ठान्नेहरुले साना स्वार्थ र तुच्छ अहमका लागि देशलाई दुरगामी असर पर्ने विषहरु छर्ने काम गरेका छन् । यो निराधार छ, म आश्वस्त पार्न चाहन्छु ।
प्रतिक्रिया 4