+

‘पारसको एसएमएस पाउनासाथ दङ्ग परेर नेपाल आएँ’

२०७४ पुष  ३ गते ११:३९ २०७४ पुष ३ गते ११:३९
‘पारसको एसएमएस पाउनासाथ दङ्ग परेर नेपाल आएँ’

३ पुस, काठमाडाैं । नेपालको चिर प्रतिद्वन्द्वी टोली हङकङका ओपनर अन्सुमन रथ हालै सम्पन्न विश्व क्रिकेट लिगका सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले खेलेको १० खेलमा दुर्इ शतक र चार अर्धशतक बनाएका थिए ।

प्रतियोगिता भर उनले ६७८ रन बनाए । उनै अन्सुमन आज सोमबारबाट शुरू हुने एभरेष्ट प्रिमियर लिगमा बिराटनगरका लागि खेल्न नेपाल आएका छन् । उनीसँग अनलाइनखबरले गरेको कुराकानी:

तपाईँको यो पहिलो नेपाल भ्रमण हो ?

होइन, म यहाँ पहिले पनि आएको छु । सन् २०१० तिर हङकङको यू-१६ टोलीको सदस्यको रूपमा म नेपाल आएको थिएँ । त्यो बेला म जम्मा १२ वर्षको थिएँ । तर, मलाई यहाँ खेल्न निकै रमाइलो लागेको थियो ।

यहाँका दर्शकहरूको उत्साह र मायाको तुलना भारतसँग मात्र गर्न मिल्छ । जब मैले नेपालमा खेल्न आउ भनेर पारसको म्यासेज पाएँ, म दङ्ग परेर यहाँ आएँ र बिराटनगर वारियर्सका लागि खेल्न पाउँदा मलाई ज्यादै खुशी लागेको छ ।

तपाईँहरू भर्खरै विश्व क्रिकेट लिग सकेर बस्नु भएको छ अनि फेरि संसारभर नै अहिले त टी-२० प्रतियोगिता आयोजना गर्ने लहर नै चलेको छ । आफ्नो व्यस्त तालिकाका बावजुद नेपाल आउनु भएको छ .. 

म यहाँ पैसा वा नामको पछि लागेर आएको होइन । यहाँका क्रिकेट समर्थकहरू र यहाँ रहेका मेरा नेपाली साथीहरूको कारण म यहाँ खेल्न आएको हुँ । नेपालमा खेल्न मलाई जहिले पनि रमाइलो लाग्छ अनि फेरि यहाँको अनुभवले मलाई अझ राम्रो खेलाडी बनाउने छ भन्ने आशा मैले लिएको छु ।

तपाईँले आफ्नो टोलीसँग अभ्यास गर्ने मौका पाउनु भयो त ?

त्यो मौका भने मैले अहिले पाएको छैन । अाइतबार मात्रै नेपाल आइपुगेको हुँ । जर्सी सार्वजनिक गर्ने कार्यक्रममा आउनु केहीबेर अघि मैले टिमसँग बस्ने मौका पाएँ । तर, मैले टोलीका केही सदस्यहरूलाई राम्ररी नै चिन्छु ।

बसन्त ‘दाइ’ लाई म चिन्छु, अभिनाश कर्णलाई पनि उमेर समूहको खेल खेलेदेखि नै चिन्छु । अबको केही दिन टोलीसँगै बिताउँदा म नेपाली खेलाडीहरूमा रहेको प्रतिभा हेर्न आतुर छु ।

नेपाल र हङकङ असोसिएट क्रिकेटका चिर प्रतिद्वन्द्वी हुन् । विश्व क्रिकेट लिगदेखि एसीसीका प्रतियोगिताहरूसम्म नेपाल र हङकङको राइभलरी नै छ । तपाईँ बिराटनगरको जर्सी लगाएर मैदानमा उत्रिँदा फ्यानहरूले कस्तो प्रतिक्रिया देलान् जस्तो लाग्छ ?

हो हङकङ र नेपाल प्रतिद्वन्द्वी हुन् । तर, दुवै देशका खेलाडीबीच मैदान बाहिर राम्रो सम्बन्ध छ । हामी एक अर्कालाई सम्मान गर्छौँ र हामीबीचको मित्रता गहिरो छ । फ्यानहरूले पनि हामीलाई सहजै स्विकार गर्नेछन् भन्ने मलाई लागेको छ ।

यसो भनि रहँदा, हङकङ विश्व कपको छनौटका लागि छनौट भइसकेको छ । नेपाल भने सङ्घर्षरत नै छ । पछिल्ला केही प्रतियिगितामा हङकङले नेपाललाई थोरै अन्तरले भए पनि हराएको छ । नेपाली खेलाडीले यथस्ट आन्तरिक प्रतियोगिता खेल्न नपाउनु एउटा ठूलो कारण हो भनिन्छ …

नेपालमा ट्यालेन्टको कमी छैन । उमेर समूहका नेपाली खेलाडीको खेल हेर्नु भयो भने तपाइँले देख्नुहुनेछ त्यहाँ नेपालले राम्रो खेलिरहेछ । मलाई लाग्छ, आर्इसीसीले नेपाली क्रिकेटलाई गम्भीर भएर हेर्नु पर्छ ।

आर्इसीसीले असोसिएट देशहरूमा क्रिकेटको प्रबर्द्धन अझै गर्नु पर्छ । राम्रा स्तरका प्रतियोगिताहरू आयोजना हुनुपर्छ । मेरो सन्दर्भमा हेर्ने हो भने म लण्डनमा हुर्किएँ र त्यहाँ क्रिकेट खेलेँ ।

त्यसै कारण मैले हङकङमा पाइने भन्दा बढि एक्सपोजर पाएँ । त्यसैले युवा खेलाडीहरूलाई विदेशमा प्रशिक्षणका लागि पठाइरहनु पर्छ । उनीहरूलाई फरकफरक वातावरणमा खेल्नेमौका दिइ रहनुपर्छ ।

यो प्रतियोगितालाई आर्इसीसीले मान्यता दिन केही समय लाग्यो । त्यसै कारण तपाईँ ढिलो गरी आउनु भएको हो ?

हो । मैले शुक्रबार राति मात्रै पारसको म्यासेज पाएँ । उनले मलाई आइसीसीले मान्यता दिइसकेको कुरा बताए । के तिमी नेपाल आएर क्रिकेट खेल्न चाहन्छौ ? भनेर उनले मलाई सोधे । अनि मैले ‘हुन्छ म अहिले केही गर्दै छैन । म आउँछु’ भनेँ र म यहाँ आइपुगेँ । नेपालमा खेल्न पाउने भएपछि निकै खुसी छु ।

यति छोटो ‘नोटिस’ आउनु भएछ त !

हो । यसले नै देखाउँछ कि असोसिएट देशका खेलाडीहरूबीच गहिरो मित्रता छ । हामी सबै एसोसिएटहरू एउटा परिवार जस्तै हौं । हामीले सँगै संघर्ष गरेका छौं । त्यसैले पारसको टेक्स्ट आउनसाथ नेपाल आउन मलाई कुनै सङ्कोच भएन ।

म यहाँ पैसाको लागि आएको होइन । म त यहाँ क्रिकेट खेल्न र फ्यानहरूको माया बटुल्न आएको हुँ । मलाई लाग्छ अर्को वर्ष अरू विदेशी खेलाडीहरू पनि नेपालमा खेल्न आउनेछन् ।

हालसालै आर्इसीसीले आफ्नो एक दिवसीय लिगको फर्म्याट परिवर्तन गरेको छ र यो असोसिएटहरूका लागि फाइदाजनक छैन भनिन्छ । तपाईँको यसमा के प्रतिक्रिया छ ?

जे निर्णय भयो त्यो निरासाजनक छ । तर, उहाँहरूको पनि आफ्नै कारणहरू होलान् । आखिर क्रिकेटको बारेमा सबैभन्दा चासो उहाँहरूलाई नै हुने न हो । तर, असोसिएटहरूले गर्ने भनेको राम्रो खेल्ने हो ।

नेपाल यू-१९ ले भारतलाई हराउनु ठूलो कुरो हो, अफगानिस्तानले एसिया कप जित्नु ठूलो कुरो हो । अनि, नेपालले यू-१९ विश्वकपमा टप १० भित्र स्थान बनाउनु ठूलो कुरो हो । त्यस्तै, अफगानिस्तानमा रसिद खान हुनु र नेपालमा पारस खड्का हुनु पनि ठूलो कुरो हो ।

असिसिएटहरूको लागि यो निकै नै उत्साहजनक समय हो ।

तपाईँ विराटनगरको जर्सी लगाएर खेल्दै हुनुहुन्छ । विराटनगर घुम्न जाने योजना त छैन ?

म पछिल्लो पटक नेपाल आउँदा सानै थिएँ । फेरि राष्ट्रिय टोलीसँग आउँदा सुरक्षाका कुराहरू पनि जोडिन्छन् । त्यसैले नेपाल घुम्न मैले पाएको छैन ।

अहिले फ्रान्चाइजका लागि खेल्न आउँदा मसँग अलि बढी स्वतन्त्रता छ । त्यसैले म सौन्दर्यले भरिपूर्ण नेपाल घुम्न चाहन्छु । विराटनगर पनि जान चाहन्छु र आफूले कसका लागि खेल्दै छु भनेर हेर्न चाहन्छु ।

अन्सुमन रथ र्इपीएल क्रिकेट विराटनगर वारियर्स हङकङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय