जाडोमा शरीरलाई न्यानो राख्न हिटर तापिन्छ, खासगरी शहरतिर । गाउँघरतिर आँगो ताप्ने गरिन्छ, जहाँ दाउरा उपलब्ध हुन्छ । शहरमा पनि हिटर नभएको अवस्थामा कोइला बालेर घर-कोठा न्यानो बनाइन्छ ।
शरीरको तापमान मिलाउनका लागि जाडोमा आगो वा ताप आवश्यक हुन्छ । तर, त्यसको कसरी प्रयोग गर्ने वा शरीरलाई कसरी न्यानो बनाउने भन्ने कुरामा ज्ञान हुनुपर्छ । यदि त्यसो भएन भने स्वास्थ्यलाई हानी गर्छ ।
खासगरी कोठाभित्र झ्याल ढोका बन्द गरेर आगो ताप्नु घातक हुनसक्छ ।
यसकारण ज्यानै जोखिममा
हामीले सुनेको वा देखेका छौ, जाडो याममा यसरी झ्याल ढोका बन्द गरेर आगो ताप्दा ज्यान नै गुमाउनु परेको । खासमा कोइला, हिटर तथा आगो बाल्दा कार्वनमोनोअक्साइड नामक ग्यास उत्पादन हुने गर्दछ । यस्ता ग्यास वायुमण्डलमा फैलिएपछि सास फेर्न गाह्रो हुन्छ । निसासिने गरिन्छ ।
अझ बन्द कोठामा भेान्टिलेटर (हावा आउजाउ गर्ने ठाउँ) नभएको ठाउँमा यस्ता प्रयोग गर्नाले आगोबाट निस्कने कार्वन मोनोअक्साईड कोठाबाट बाहिर निस्कन पाउँदैन, जसले गर्दा सास निसासिएर मृत्यु समेत हुने गर्दछ ।
छालालाई हानी
त्यतिमात्र होइन, बन्द कोठामा लामो समयसम्म आगो ताप्नाले छालाको समेत समस्या निम्तने छाला रोग विशेषज्ञहरु बताउँछन् । वरिष्ठ छाला रोग विशेषज्ञ अनुसार अधिक समयसम्म हिटर वा आगोको सामुन्ने बस्नाले छाला सुख्खा हुने समस्या हुने गर्दछ । यसबाहेक, आगोकै कारण कपालमा चाया पर्ने समेत हुन्छ ।
कसरी गर्छ कार्वन मोनोअक्साईडले समस्या ?
चिकित्सकका अनुसार कार्वन मनोअक्साइड एक प्रकारको विषालु ग्यास हो । विना भेन्टिलेटर बन्द कोठामा यस्ता उपकरण प्रयोग गरेको खण्डमा अक्सिजनको साथमा यस्ता विषालु ग्यास समेत सेवन हुने गर्छ ।
जब यस्ता विषालु ग्यास शरीर भित्र प्रवेश गर्छ, त्यतिबेला यस्ता ग्यास शरीरमा भएको हेमोग्लोविनसित मिसेर कार्वोक्सीहेमोग्लोविनमा परिणत हुने गर्छ ।
विशेषगरी, रगतमा हुने रातो रक्तकोषिका, अक्सिजनको तुलनामा कार्वन मोनोअक्साइड पहिले मिसिने गर्दछ । जसले गर्दा अक्सिजनको तुलनामा कार्वन मोनोअक्साइड धेरै भएको ठाउँमा यस्ता तत्व अक्सिजनका तुलनामा रगतमा पहिले घोलिने गर्दछ ।
रगतमा अक्सिजनको सट्टा कार्वन मोनोअक्साइडको परिणाम ज्यादा भएमा रगतमा अक्सिजनको मात्रा कम हुन्छ, जसले गर्दा हाइपोक्सियाको स्थिति बन्छ, जसले शरीरका कोषिकालाई नष्ट पारी ज्यानै जाने सम्मको खतरा बढ्ने गर्छ ।
शरीरमा कार्वन मोनोअक्साईड धेरै भएको सुरुवाती लक्षण
आफु बसेको ठाँउ वरिपरि कार्वन मोनोअक्साइडको मात्रा बढी भएमा यस्ता लक्षण देखा पर्ने गर्दछ ।
चक्कर लाग्ने
टाउको दुख्ने
टाउको भारी हुने
वान्ता आउने
आँखामा जलन हुने
सास फेर्नमा कठिनाई
कसरी जोगिने ?
यदी तपाई ग्यास हिटर, एसी, प्रयोग गर्दै हुनुहुन्छ भने सबैभन्दा पहिले भेन्टिलेटरलाई विशेष ध्यान दिनुहोस् । बन्द कोठामा काठ, दाउरा वा कोयलाको प्रयोगबाट बचौं । त्यस्तै, हिटर वा व्लोअरको प्रयोगबाट समेत बचौ । यस्ता वस्तुको अधिक प्रयोग स्वास्थ्यका लागि हानीकारक हुनसक्छ ।
प्रतिक्रिया 4